काठमाडौँ – राष्ट्रियसभाबाट दोस्रो संविधान संशोधन विधेयक सर्वसम्मतीले पारित भएको छ ।


ADVERTISEMENT


भारतीय अतिक्रमणमा रहेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नक्सा संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको विधेयक बिहीबार मतदानपश्चात सर्वसम्मतीले पारित भएको हो ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभामा कुल सदस्य संख्या ५८ रहेको छ । कानुन अनुसार अध्यक्षले मत बराबर नहुँदासम्म मतदानमा भाग लिन पाउँदैनन् । अध्यक्षबाहेक आज ५७ जना सदस्य उपस्थित रहेका थिए । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७’ लाई पारित गरियोस्’ भन्ने प्रस्तावको पक्षमा राष्ट्रिसभाका सबै (५७) सदस्यले मतदान गरेका हुन् ।

कुनैपनि सदस्यले विधेयकको विपक्षमा मतदान नगरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्वसम्मतीले पारित भएको घोषणा गरेका हुन् । मतदानअघि विधेयकमाथि दफवार छलफल भएको थियो ।

अब के हुन्छ ?

संविधानको धारा २७४ को उपधारा ८ अनुसार संविधान संशोधन गर्नसंसदका दुबै सदनमा कम्तीमा दुई तिहाई मत आवश्यक पर्छ ।

गत जेठ ९ गते संघीय संसद प्रतिनिधिसभामा दर्ता गरिएको विधेयक जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो भने गत जेठ ३१ गते दुई तिहाई बढी मतले पारित भएको थियो । त्यहाँ पनि उपस्थित सबै सांसदले संशोधनका पक्षमा मतदान गरेका थिए ।

प्रतिनिधिसभाबाट पारित भएर आइसकेपछि उक्त विधेयक मंगलबार राष्ट्रियसभामा प्रस्तुत गरिएको थियो । दफावार छलफल पछि गरिएको मतदानले विधेयकलाई सर्वसम्मतीले पारित गरेको हो ।

दुबै सदनले सर्वसम्मतीले पारित गरिसकेकाले अब विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिनेछ । राष्ट्रपतिले पेश भएको विधेयक प्राप्त भएको १५ दिन भित्र प्रमाणीकरण गर्नेछिन् र प्रमाणीकरण भएको मिति देखि संविधानमा रहेको निशान छाप संशोधन हुनेछ ।