कृष्ण दवाडी, पोखरा – गण्डकी प्रदेशमा आजसम्म कोभिड–१९ सङ्क्रमण परीक्षणका लागि लिइएको दुई हजार ३३४ वटा नमूना स्वाब प्रयोगशालामा पेन्डिङ रहेको छ ।


ADVERTISEMENT


दैनिक ३०० हाराहारीमा प्रयोगशालाबाट नमूना परीक्षण हुँदै आएकामा पेन्डिङमा रहेको नमूना जाँच गर्न मात्र एक साता भन्दा बढी समय लाग्छ । भारतलगायत मुलुकबाट स्वदेश फर्किने बढेपछि जिल्ला-जिल्लाबाट दिनहुँ स्वाब सङ्कलन भएर परीक्षणका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा आउनेक्रममा समेत वृद्धि भएको छ ।


ADVERTISEMENT

# # #


पिसिआर विधिबाट कोभिड–१९ सङ्क्रमणको अवस्था जाच्नका लागि परीक्षण प्रोटोकलअनुसार सङ्कलित स्वाब प्रयोगशालामा लामो समय थन्किएपछि क्वारेन्टिन व्यवस्थापनमा जुटेका जनप्रतिनिधिसमेत हैरानीमा पर्ने गरेका छन् ।

क्वारेन्टिनमा बस्ने दिनहुँ थपिने तर परीक्षण नतिजा आउन ढिलाइ हुँदा क्वारेन्टिन व्यवस्थापनमा कठिनाइ भएको बताइन्छ । केही जिल्लाका स्थानीय तहले भने पोखराबाट परीक्षण नतिजा आउन ढिलाइ भएपछि आफ्नै लगानीमा पिसिआर मेसिन खरिद गर्ने तयारीसमेत थालेका छन् ।

सङ्कलित नमूना लामो समय प्रयोगशलामा थन्किने अवस्था अन्त्य गर्न गण्डकी प्रदेश सरकारले प्रयोगशालाको जनशक्ति, मेसिन र सिफ्ट वृद्धि गर्ने भएको छ । हाल दैनिक दुई वटा पिसिआर मेसिनबाट नमूना परीक्षण हुँदै आएकामा केही दिनभित्रमा नै थप अर्को मेसिनबाट समेत परीक्षण शुरु गर्ने तयारी गरिएको हो । सरकारले नयाँ मेसिन खरिद प्रक्रिया शुरु गरिसकेको छ ।

एक हप्ताभित्रमा हालको पेन्डिङ नमूना परीक्षण सकेर शुन्यमा झारिने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना भाइरस रोकथाम, व्यवस्थापन तथा नियन्त्रणका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोद विन्दु शर्माले बताए । उनले भने, “जिल्लाबाट आउने नमूना बढिरहेकाले प्रयोगशालामा परीक्षण गर्नुपर्ने नमूना पेन्डिङमा रहनुपर्ने बाध्यता छ, शुरुआतमा दिनमा १०० देखी १५० सम्म परीक्षण गर्ने गरेकामा हाल दैनिक ३०० जाँच गर्ने गरेका छौँ, केहीदिनभित्र थप एक मेसिन सञ्चालनमा आएपछि दैनिक ६०० नमूना जाँच गर्दछौँ र मेसिन सञ्चालनमा आएको पाँच दिनपछि पेन्डिङ रहेका सबै नमूना शुन्यमा झाछौँ ।”

निर्देशक शर्माले परीक्षणको हालको मागलाई सम्बोधन गर्नका लागि प्रयोगशालामा काम गर्ने जनशक्ति, तालीम, मेसिन र सिफ्टसमेत वृद्धि गरिएको जानकारी दिए । हाल बिहान ६ बजेदेखि राति १ बजेसम्म प्रयोगशालामा काम भइरहेकामा प्रयोगशालालाई २४सै घण्टा सञ्चालन गर्ने गरी काम अघि बढाइएको निर्देशनालयले जनाएको छ ।

“गण्डकी प्रदेशको प्रयोगशाला परीक्षणका सन्दर्भमा हेर्दा शुरुमा चार जनाले परीक्षण गर्ने गरिएकामा पछि प्रदेश सरकारले पिसिआर मेसिन थप गरेपछि आठ जनाको टिम बनाइयो”, निर्देशक शर्माले भने, “सिफ्ट बढाउन थप १२ जना कर्मचारी भर्ना गरिएको छ र सात जना जिल्लाबाट ल्याइएको छ, अब २४सै घण्टा प्रयोगशालाको सेवामा जाने गरी तयारी गरेका छौँ ।”

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालाबाट मात्र कोभिड–१९ जाँच गर्ने गरिएकामा यसै हप्तादेखि प्रदेश क्षयरोग केन्द्रबाट समेत कोरोनाको जाँच शुरु भएको छ । परीक्षणलाई थप व्यवस्थित गर्नका लागि भनेर अस्पतालमा रहेको एक मेसिनलाई केन्द्रमा स्थानान्तरण गरेर परीक्षण शुरु गरिएको छ ।

प्रयोगशालामा परीक्षण गर्ने तीन वटा टोलीलाई व्यवस्थितरुपमा लयमा ल्याउन एउटा टिमले म्यानेज गर्ने गरेको र तीन वटा टिमको कोअर्डिनेटर तोकिएको जनाइएको छ । प्रत्येक जिल्लाको स्थानीय तहमा पुगेर नमूना सङ्कलन गर्ने कार्यलाई व्यवस्थित गरिएको र स्वास्थ्यकर्मीको अभावमा स्वाब सङ्कलन रोकिनुपर्ने अवस्था नरहेको निर्देशनालयले जनाएको छ ।

शुरुआतमा नमूना सङ्कलनका लागि ११ वटा जिल्लाबाट दुई÷दुई जनाका दरले २२ जनालाई तालीम दिइएकामा हाल २०० भन्दा बढीलाई तालीम दिएर जिल्ला जिल्ला र पालिकामा पठाइएको बताइन्छ ।

गण्डकी प्रदेशमा हालसम्म २४७ जना कोरोनाबाट सङ्क्रमित छन् । जसमध्ये २२ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने बाँकीको जिल्लास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भने कोभिड–१९ का कारणले मृत्यु भएको छ ।

गम्भीर र जटिल अवस्थाका बिरामीको उपचारका लागि सम्बन्धित जिल्लामा नै सघन उपचार कक्षको व्यवस्था गरिएको जनाइएको छ । प्रदेश सरकारले ११ वटै जिल्लामा सघन उपचार कक्षको स्थापनाका लागि रु १४ करोड बजेट निकासा गरेको थियो । प्रत्येक जिल्लामा दुईदेखि पाँच श्ययाको सघन उपचार कक्षको स्थापनाको काम भइरहेको छ ।

निर्देशनालयले जिल्लास्थित अस्पतालमा श्ययाको सघन उपचार कक्षमा काम गर्ने प्रत्येक अस्पतालबाट पाँच जनाका दरले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई गत हप्ता क्रिटिकल केयर म्यानेजमेन्ट तालिम दिइएको र अस्पताल, स्वास्थ्य कार्यालय तथा क्वारेन्टिनलाई सहज बनाइएको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका निर्देशक नवराज शर्माले जानकारी दिए । रासस