काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रमिक सूचना बैंक स्थपना गर्ने घोषणा गरेका छन् । नेपाल सरकारको नीती तथा कार्यक्रम र  आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटमा उल्लेख भएको श्रमिक सूचना बैंक स्थापना गर्ने कार्य अगाडि बढेको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्री यादवले तत्कालिन सचिव विनोद केसीको संयोजकत्वमा गठन गरेको कार्यदलले श्रमिक बैंक स्थपना गरी कार्यान्वयन गर्नका लागि अध्ययन प्रतिवेदन गत महिना पेश गरेको थियो । प्रतिवेदनमा कृषि लगायत नेपालको औद्योगिक क्षेत्रमा श्रम आर्जन गर्न सक्ने सीप भएका जनशक्तिहरु के–कति संख्यामा रहेका छन्, उनीहरुसँग के कस्तो ज्ञान, सीप, पुँजी र प्रविधि छ र उनीहरुलाई मुलुकको कुन क्षेत्रमा रोजगारी उपलब्ध गराउन सकिन्छ भन्ने सुझाव दिएका छन् । मन्त्री यादवले कार्यदलको सुझाव अनुसार श्रमिक सूचना बैंकको स्थपना गर्न लागेको बताए ।


ADVERTISEMENT

# # #


मन्त्री यादवले श्रमिकको जीवनयापनलाई सहज बनाउन तथा मुलुकको विकास र औद्योगिकरणको गतिलाई अघि बढाउन श्रमिक सूचना बैंक आवश्यक रहेको भन्दै मौजुदा श्रमिकको पर्याप्तता सुनिश्चित गर्न श्रमिक बैंकको स्थपनाले महत्वपूर्ण सहयोग गर्ने बताए ।  मंगलबार मन्त्रालयको बैठक हलमा मन्त्री यादवको उपस्थितिमा विज्ञ टोलीले श्रमिक बैंकको कार्यान्वयनबारे प्रस्तुतिकरण गरेको सचिवालयले जनाएको छ ।

यसैबीच वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा गएर फर्किएका कामदारहरुले वैदेशिक रोजगार बोर्डबाट क्षतिपूर्ति लिनका लागि अबदेखि आफ्नो सिफारिश नचाहिने स्पष्ट गरेको छ । विभागबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदार रोजगारीका क्रममा शारीरिक तथा मानसिक अशक्त वा अंगभंग तथा मृत्यु भई क्षतिपूर्तिको लागि यसअघि विभागको पनि सिफारिश आवश्यक पर्ने गर्दथ्यो ।

विभागले असार १ गतेबाट विभागको सिफारिश नचाहिने सूचना सार्वजनिक गरेको छ । वैदेशिक रोजगार बोर्डले सिफारिश विना नै आर्थिक सहायता तथा बीमा भुक्तानीको सिफारिश गर्ने विभागले जनाएको छ ।