डोटी – सातनाली–मेल्लेक–बझाङ सडकलाई केआइसिंह राजमार्गसँग जोड्न बानीडुग्रीसैनको सेती नदीमा पुल निर्माण सम्पन्न नहुँदा शिखर नगरपालिका र आर्दश गाउँपालिका वासीले निकै सास्ती खेप्दै आएका छन् ।


ADVERTISEMENT


नजिकै रहेको गोपघाट तथा बानीडुग्रीसैन बजारमा आवत जावत गर्न उनीहरुलाई घण्टौ लामो यात्रा गर्नुपर्ने अवस्था छ । निर्माण कार्य शुरु गरेको वर्षौ बितिसक्दासमेत जिल्लाको सातनाली सडकको मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन । सो पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको थियो ।


ADVERTISEMENT

# # #


सम्झौताअनुसार विसं २०७४ असार २९ गतेभित्र पुल निर्माण भइसक्नुपर्ने थियो । तर पुलको निर्माण कार्य १० प्रतिशत पनि नभएको स्थानीयको आरोप छ । यसअघि पनि सुस्त गतिमा भएको निर्माण कार्य लामो समयदेखि पूर्ण रुपमा रोकिएको छ । मुल्य अभिवृद्धि कर (भ्याट) सहित रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करिब ४०० मिटर लम्बाइको उक्त आरसिसी पुल डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरी निर्माण शुरु गरिएको थियो ।

पुल निर्माण हुने समयावधी समाप्त भएर थप तीन वर्ष दुई महिना बितिसक्दासमेत पुलका दायाँ र बाँया पिल्लर समेत बनेका छैनन । उक्त पुल समयमै नबन्दा शिखर नगरपालिकाको वडा नं ११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण विसं २०४९ देखि निर्माण कार्य शुरु भएको सातनाली–मेल्लेक–बझाङ सडक अलपत्र परेको छ । पुल नभएका कारण उक्त सडकमा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीय रामबहादुर धामीले बताए । उनले भने, “पुलनै बनेको छैन कहाँबाट लगेर गाडी चलाउनु, काटेको सडक गाडी नचल्दा वर्षेनी बिग्रिन र भत्किन थालेको छ ।”

डिभिजन सडक कार्यालय कुल्पातेका प्रमुख सुर्दशन कार्कीले पुलको फाउण्डेसनमा समस्या भएको जानकारी दिए । उनले पिल्लरको फाउण्डेसनमा रक भेटिएपछि डिएमसी मेसिनले काम नगरेको र बोर पाईलिङ्ग मेसिन ल्याएर काम गर्नेु पर्र्ने भएका कारण ढिलाई भएको ठेकेदार कम्पनीले बताएको जानकारी दिए । डिभिजन सडक कार्यालय डोटीले तत्काल काम शुरु गर्न निर्माण व्यवसायी कम्पनीलाई पत्राचार गरिसकेको उनले वताए । उनले भने, “तत्काल काम शुर गर्न चेतावनी सहित हामीले निर्माण कम्पनीलाई पत्राचार गरिसकेका छौँ, अब काम शुरु भएन भने आर्थिक कारवाही हुन्छ ।”

निर्माण कम्पनी पुष्प राजेन्द्र जेभीका इञ्जिनीयर राजेन्द्र साउदले डिएमसी मेसिन आइसकेकाले अब छिट्टै काम शुरु गर्ने बताए । “मेसिन आइसकेको छ केही भित्रमा काम धमाधम शुरु हुनेछ”, उनले भने, “फाउण्डेशनको काम मात्रै समस्या भएको र फाउण्डेशनको काम सकियो भने अरु काम सजिलैसँग हुने छ ।” शुरुमा पुलको अलाइनमेण्ट नमिलेकोले ढिलो भयो भन्दै आएको निर्माण व्यवसायी कम्पनीले पुल निर्माण कार्यमा ढिलो हुँदै गर्दा नयाँ नयाँ बहाना खोज्न थालेको छ ।

“कहिले केही भन्छन् कहिले केही भन्छन्, यिनीहरुका वहाना मात्रै हुन” शिखर नगरपालिका वडा न. १० का स्थानिय ईन्द्रवहादुर बलायरले भने “अब काम शुरुभएपछि मात्रै बिश्वास लाग्छ,बाहना धेरै भए ।” यस्तै आशंका व्यक्त गर्नुहुन्छ शिखर नगरपालिका वडा न. ११ का शेरवहादुर बोहरा पनि । उनी भन्छन्, “यो सव बहाना मात्रै हो, “काम शुर हुन्छ भन्ने त धेरै पटक सुनेका छौं हामीले तर काम शुर कहिल्लै हुँदैन ।” बिसं २०७४ साल असार २९ गते पुल सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो । पहिलो पटकको सम्झौता ठेक्का सम्झौता अवधी सकिएर विसं २०७५ साल पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो ।

समयमै पुल नबन्दा तथा अहिले सेती नदीमा पानीको बहाव बढेका कारण जिल्लाको बानीडुग्रीसैन तथा आदर्श गाउँपालिकाको सातनालीका स्थानीयहरु आवतजावतका लागि जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा छिमेकी जिल्ला डडेल्धुराको कोराल खोला भएर जाने आउने गरेका छन् । रासस