काठमाडौं- अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिवन्धका कारण विदेशमा मृत्यु भएका नेपाली कामदारको शब थुप्रिँदै गएको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भई विदेशमा  २ सय ३८ जना नेपालीको शब विदेशमै रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।


ADVERTISEMENT


 

वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार साउदी अरबमा ५८ जना, यूएईमा ५५ जना, मलेसियामा ५२ जना, कतारमा ३७ जना, कुवेतमा ११ जना, बहराइनमा ७ जना र दक्षिण कोरियामा ५ जनाको शब रहेको छ भने अन्य विभिन्न देशमा १३ जनाको शब रहेको छ । त्यसमा महिला शबको संख्या १२ रहेको छ ।


ADVERTISEMENT

# # #


 

त्यसमध्ये कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २२ रहेको प्रमाणित भएपनि अन्यको एकिन हुन सकेको छैन । कोरोना भाइरसका कारण मृत्यु भएकामध्ये साउदीमा ९ जना, कतारमा ४ जना, युएईमा ९ जना रहेका छन् । विदेशमा नेपाली कामदारहरुको मृत्यु मुख्यगरी हृदयाघात, कार्यस्थल र सडक दुर्घटना तथा आत्महत्याबाट हुने गरेको छ । पछिल्ला दिनमा कोरोना भाइरसपनि मृत्युको कारण बन्ने गरेको छ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएकाले विदेशमा मृत्यु भएका कामदारहरुको शब सम्वन्धित देशमा नै अन्तिम संस्कार गर्नुपर्ने अवस्था आएको भन्दै सहमतिका लागि परिवारका सदस्यहरुलाई आह्वान गरेको  थियो । मृतकमध्ये ९० जनाका आश्रीत परिवारले सम्वन्धित मुलुकमा नै आफन्तको अन्तिम संस्कार गर्न सहमति दिएको बोर्डले जनाएको छ ।

 

विदेशमा नै दाहसंस्कार गर्न सहमति जनाउने मृतक कामदारका आश्रीत परिवारलाई बोर्डले सान्त्वना स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने श्रम मन्त्रालयले निर्णय गरेको छ । उक्त निर्णय प्रति भने केही मृतकका परिवारले असन्तुष्टि जनाएका छन् । तर पनि विदेशमानै अन्तिम संस्कारको लागि सहमति आउने क्रम बढेको बोर्डको भनाइ छ ।

 

मन्त्रालयले कोराना भाइरस संक्रमण लामो समय रहने अवस्था देखिएकोले विदेशमा रहेका शब नेपाल ल्याउन सहज नभएको भन्दै अन्तिम संस्कारका लागि परिवारको सदस्यको सहमति जिल्ला प्रशासन कार्यालयमार्फत सहमति पत्र पठाइदिन आग्रह गरेको छ ।

 

मन्त्रालयले विदेशमा कामदारको मृत्यु भएमा ५० हजार रुपैयाँ सान्त्वना स्वरुप दिने निर्णय अन्तर्राष्ट्रिय उडान शुरु भएपछि पनि यथावत रहने बताएको छ । विदेशमै दाहसंस्कार गर्दा परिवारमा लामो समय मानसिक समस्या रहने भन्दै केही परिवारका सदस्यहरुले सरकारले जुनसुकै माध्यम अपनाएर भएपनि आफन्तको शब स्वदेश ल्याउनुपर्ने माग गरेका छन् ।