काठमाडौँ –  प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेससहित विपक्षी दलका सदस्यले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सरकारसँग जवाफ माग गरेका छन् ।


ADVERTISEMENT


बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि काँग्रेसका गगनकुमार थापाले कोरोना नियन्त्रणका लागि बनाइएको क्वारेन्टिन व्यवस्थित नभएको र त्यहाँ मानिसको मृत्यु हुन थालेकाले यसको जिम्मा कसले लिने भनी प्रश्न गरे ।


ADVERTISEMENT

# # #


‘स्वास्थ्य मन्त्रालय भन्छ–नेपालभित्र १४ जनाको मृत्यु भएको छ । तर, के मृत्यु हुनेको संख्या १४ मात्रै हो ?’ उनले प्रश्न गरे, ‘त्यसो भए भोकबाट मारिएको सूर्यबहादर तामाङ वा झुण्डिएर चन्द्रबहादुर परियार र औषधि खान नपाएर मरेकी कंकादेवी बोहरा वा सुत्केरी भएर अस्पताल जान नपाएर मेरकी लालकुमारी रोकायाको मृत्युको जिम्मा कसले लिने ? क्वारेन्टिनमा मृत्यु भएकी सुनिता लुहारको मृत्युको जिम्मा कसले लिन्छ ? झुण्डिएर मर्न बाध्य लीलावल्लभ वा आत्मदाह गर्न बाध्य सिद्धार्थ आउजीको मृत्युको जिम्मा कसले लिन्छ ?’

पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहेका थापाले नेपालमा कोरोना नियन्त्रणमा रहँदा रहँदै पनि प्रधानमन्त्रीको अहंकार, सरकारको अकर्मण्यता र असक्षमताले गर्दा आज यस्तो अवस्था व्यहोर्नु परेको दाबी गरे । उनले भने, ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको हिजोको बैठकले निष्कर्ष निकालेको छ, यो सरकारले कोरोनाको लडाईंबाट हामीलाई पार लगाउन सक्दैन ।’ सांसद थापाले अब कांग्रेस सरकारलाई सहयोग गर्छौं भनेर मात्रै नबस्ने र निरन्तर प्रश्न गर्दै सरकारलाई सरकारलाई जवाफदेही बनाएरै छाड्ने बताए ।

उनले अहिलेसम्म कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्नसमेत माग गर्दै उनले भने, ‘हामीलाई उत्तर चाहिन्छ सभामुख महोदय, १० अर्ब रुपैयाँ कहाँ खर्च भयो ? हामीलाई यसको उत्तर चाहिन्छ । ५ वटा पीसीआर मेसिन किन्ने र जम्मा २५ हजार वटा किट किनेर १० अर्ब रुपैयाँको हिसाब देखाउनु पर्दैन ? हामीलाई एक एक कुराको हिसाबकिताब चाहिन्छ ।’

उनले सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमाथि प्रश्न गर्दै भने, ‘यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प हो ? हामीलाई यसको जवाफ चाहिन्छ ।’ अदालतले, संसदले, विज्ञले पीसीआर परीक्षणको दायरा बढाऊ भन्दा पनि त्यसमा सरकारले ध्यान नदिएको बरु उल्टै सुदूरपश्चिममा कयौँ दिनदेखि स्वाब संकलन रोकिएको भन्दै आक्रोश व्यक्त गरे ।

समयमा रिपोर्ट नआएर कयौँ हजार मान्छे क्वारेन्टिनमा छट्पटाएर बसे पनि सरकार उल्टै परीक्षणको दायरा साँघुरो बढाउन लागेको भन्दै उनले भने, ‘सरकारले अब यसो गरे हुन्छ, परीक्षण बन्द गरिदिने र नेपाललाई कोरोना फ्रि देश भन्दिने । किनकी परीक्षण नगरेपछि संक्रमण एक जनाको पनि देखिन्नँ ।’ निर्दोष कर्मचारीलाई सरुवा गरेर दोषबाट उम्कन नपाइने बताउँदै थापाले प्रश्न गने, “मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ?”

उनले विदशेमा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउन पनि सरकारको ध्यानाकर्षण गरे । विदेशमा बसेका नेपालीलाई ल्याइने निर्णय भएको तर कुन विमानबाट ल्याउने भन्ने विवाद भएको जिकिर गर्दै उनले त्यस विषयमा सरकारले सदनलाई जवाफ नदिए आगामी बैठक सञ्चालनमा सहज नहुने चेतावनी दिए।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समतिका संयोजक ईश्वर पोखरेलसँग यसबारे सदनमा जवाफ दिनुपर्ने मागसमेत उनले गरे ।