गङ्गा पराजुली, पशुपतिनगर – पूर्वी पहाडको पहिलो रामसार क्षेत्र इलामको माईपाखेरीमा पर्यटन पूर्वाधार निर्माणको कामले तीव्रता पाएको छ । माईपोखरीलाई सन् २००८ मा विश्व रामसार सूचीमा सूचीकृत गरिएको थियो । रामसार क्षेत्रमा सूचीकृत भएपछि पाँच वर्षे गुरुयोजना बनाइए पनि आर्थिक स्रोत अभावले कार्यान्वयन हुन सकेको थिएन ।


ADVERTISEMENT


सङ्घीय सरकारले घुम्नैपर्ने सय पर्यटकीयस्थलमा घोषणा गरी पूर्वाधार र संरक्षणको कामका लागि बजेट प्रदान गरेसँगै अहिले पर्यटन पूर्वाधार र संरक्षणका काम धमाधम भइरहेका हुन् । सदरमुकाम इलाम बजारबाट १३ किलोमिटर यात्रामा पुगिने माईपोखरी क्षेत्रमा अहिले पर्यटकको आकर्षण केन्द्र बनाउन पूर्वाधार निर्माण र जैविक विविधताको संरक्षणको काम गरिँदै आएको हो ।


ADVERTISEMENT

# # #


सन्दकपुर गाउँपालिकाले माईपोखरीलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन चालू आर्थिक वर्षमा डिपिआर तयार पारेको थियो । डिपिआरको आधारमा सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट रु ५० लाख बजेट विनियोजन भई पर्यटन पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले बताउनुभयो । बहुवर्षे योजनामा स्वीकृत भएपछि सङ्घीय सरकारले माईपोखरी क्षेत्रको जोरपोखरी पर्यटकीय पूर्वाधार विकास आयोजनाको नाममा बजेट विनियोजन गर्दै आएको छ ।

धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा प्रख्यात रहेका माईपोखरीमा चालू आवमा स–साना पोखरीको मुहान संरक्षणसँगै लोपोन्मुख वन्यजन्तु ठकठकेको संरक्षण गरिँदै आएको छ । पोखरीको जलाशय क्षेत्र वरिपरि रहेका दुईवटा स–साना पोखरीको संरक्षण गर्ने, आकाशे पुल निर्माण गर्ने, कफी शप, सार्वजनिक शौचालय, रेलिङ र दुई पोखरीको बीचमा झोलुङ्गे पुलसहितको पदमार्ग बनाउने योजना डिपिआरमा समेटिएको छ ।

रामसार क्षेत्रमा रहेका पोखरीलाई चालू आवमा जोड्न ड्याम निर्माण गर्ने काम भइरहेको उपभोक्ता समितिका सचिव दिनेश ढकालले बताए । जलाशय क्षेत्रको नजिक जैविक विविधताको महत्वका कारण पूर्वाधार निर्माणको काम उपभोक्ताबाट हुँदै आएको छ । स्थानीय सरकारको पहल र सङ्घीय सरकारको समन्वयमा बनाइएको डिपिआरअनुसार रु साढे सात करोडका संरचना निर्माण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए ।

आव २०७७/७८ मा सङ्घीय सरकारसँग डिपिआरअनुसारको बजेट माग गरिएको र दुई वर्षभित्रमा घुम्नै पर्ने आकर्षक पर्यटकीयस्थल बनाउन पूर्वाधार निर्माणको काम थालिएको राईको भनाइ छ । साक्षात् देवीका रुपमा धार्मिक विश्वास गरिएको मानिने माईपोखरी पुग्ने धार्मिक पर्यटकले चिताएको मनोकाङ्क्षा पूरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गर्दै आएका छन् । हिन्दू, बौद्ध र किराँत मुन्धुम सबै धर्मको आस्थाको केन्द्र माईपोखरीमा वैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठूली एकादशीका दिन विशेष पूजा र मेला लाग्ने प्रचलन छ ।

माईपोखरीको उत्पत्ति भारत वर्षका मरुत राजा आई नौवटा कुनामा नौ मन्दिर निर्माणपछि नवदुर्गाको पूजा गरेपश्चात् पूजास्थल सुरक्षित राख्न गङ्गाजीको आराधना गर्दा जल उत्पन्न गरिएको किंवदन्ती पाइन्छ । किंवदन्तीअनुसार पुरातनकालमा पोखरीमा खसेका पात पतिङ्गर चराले सधैँ सफा गर्ने, पञ्चेबाजा, शङ्खघण्ट बज्ने गरेको र पोखरीबाट एक प्रकारको अनौठो ज्योति निस्कने र लोप हुने गरेको कथन छ ।

प्रदेश नं १ को सांस्कृतिक सभ्यताका रुपमा रहेका माईपोखरीमा दैनिक १५० सम्म पर्यटक पुग्ने गरेका छन् । नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपोन्मुख गलैचे झ्याउ र लोपोन्मुख नै उभयचर ठकठकेलगायत रुख भ्यागुतो र ३०० भन्दा बढी प्रजातिका चराको सुमधुर आवाजबाट पोखरी पुग्ने पर्यटकले स्वर्गीय आनन्द लिने गरेका छन् । दुई हजार १२१ मिटरको उचाइमा अवस्थित दुई हेक्टर जलाशयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको माईपोखरीमा सुनगोहोरो, लालीगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणीको अवलोकन गर्न असङ्ख्य पर्यटक वर्षेनी पुग्ने गरेका छन् ।

गाउँपालिकामा श्रम आधारित राहत वितरण

कोरोना भाइरसका कारण न्यून आय भएका र मजदुरलाई राहात गर्दै आएको इलामको माईजोगमाई गाउँपालिकाले श्रममा आधारित राहत कार्यक्रम शुरु गरेको छ । जनतालाई भोकै हुन नदिने र गाउँमा विकास निर्माणका कामलाई नियमित बनाउन श्रममा आधारित राहात कार्यक्रम शुरु गरेको गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताए ।

श्रममा आधारित राहात कार्यक्रम लागू गरी माईजोगमाई गाउँपालिकाले विकास निर्माणको काम शुरु गरेको हो । कारोना रोगको सङ्क्रमणका कारण दैनिक ज्यालादारी गर्ने र रोजगारी गुमाएर घर फर्किएका युवाले राहत पाएपछि अनिवार्य श्रम गर्नुपर्ने निर्णय भएको छ ।

युवालाई गाउँमै रोजगारी दिन दैनिक उपभोग्य सामग्री प्रदानसँगै अनिवार्य श्रम गर्नुपर्ने निर्णय गरी विकास निर्माणका काम गरिँदै आएको छ । लकडाउन लम्बिएसँगै पहिलो चरणको राहत निःशर्त वितरण गरेको गाउँपालिकाले दोस्रो चरणदेखि अनिवार्य श्रम गर्नुपर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भागवत प्रसार रेग्मीले बताए ।

दैनिक उपभोग्य सामग्री पाएका परिवारले अहिले सडकको सोलिङ गर्ने, नाला निर्माणको काम हुँदै आएको स्थानीय खोम खालिङले बताउनुभयो । स्थानीय १० परिवारलाई पहिलो चरणमा श्रममा आधारित राहत कार्यक्रम लागू गरिएको थियो । पहिलो चरणको कार्यक्रमबाटै जनताको उत्साहपूर्ण सहभागिता रहेको गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताए । जनता भोकै नराख्ने र विकास निर्माणका काम पनि अघि बढाउन श्रममा आधारित राहत कार्यक्रमलाई चालू आवमा पनि निरन्तरता दिने गाउँपालिकाले जनाएको छ । रासस