काठमाडौँ – नेपालमा थप ३ जिल्लामा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् । कास्की, गोरखा र हुम्लाका १–१ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखा आरुघाट गाउँपालिका–२ का २५ वर्षीय पुरुष र हुम्लाको चंखेली गाउँपालिका–३ का ५८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु दुबैजना हाल जुम्लामा कार्यरत रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कास्कीका ६० वर्षीय १ जना पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ । उनी हाल काठमाडौँको निजी अस्पतालमा उपचाररत रहेको प्रवक्ता डा. देवकोटाले जनाएका छन ।

६८ जिल्लामा फैलियो संक्रमण

गोरखा, कास्की र हुम्लामा पहिलो पटक पुष्टि भएसँगै देशका सातवटै प्रदेशका ७७ मध्ये ६८ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. २ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने गण्डकी प्रदेशमा सबैभन्दा कम संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नं. १ का १२ जिल्लामा संक्रमण फैलिँदा २४२ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश नं. २ का सबै (८) जिल्लाका ९९३ जना (एकको मृत्यु), बाग्मती प्रदेशका १२ जिल्लामा ८५ जना (तीनको मृत्यु), गण्डकी प्रदेशका ९ जिल्लामा ५७ जना, प्रदेश नं. ५ का ११ जिल्लामा ९६५ जना (चारको मृत्यु), कर्णाली प्रदेश ७ जिल्लामा ४७९ जना (दुईको मृत्यु) र सुदूरपश्चिम प्रदेशका सबै (९) जिल्लामा ९१ जना (एकको मृत्यु) संक्रमित रहेका छन् ।

यसरी नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ । जसमध्ये ६८ जिल्लाका पुरुष २७१७ र महिला १९५ जना रहेका छन् । आजै थप २७८ जनामा कोरोना पुष्टि भएको छ ।

कुल संक्रमितमध्ये ३३३  उपचारपछि निको भएर घर फर्किएका छन् भने ११ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै सुर्खेतका २८ वर्षीय युवाको मृत्यु पश्चात कोरोना पुष्टि भएको थियो ।