रामपुर, पाल्पा– सधैँ घरायसी काम धन्दामा मात्र सीमित रहने महिला सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् ।


ADVERTISEMENT


दुई चार पैसाका लागि पनि परनिर्भर रहँदै आएका रामपुरका महिला हिजोआज विभिन्न सीप सिकेर स्वालबम्वी बन्दै गएका हुन् । सिलाइकटाइ, ब्युटिपार्लर, गुडिया बनाउनेलगायतका विभिन्न सीपले आत्मनिर्भर बनाएको छ ।


ADVERTISEMENT

# # #


दाम पनि हुने र फुर्सदको समय सदुपयोग हुने भएपछि उनीहरुले सिलाइकटाइ, ब्युटिपार्लर, गुडिया बनाउने पेशा अंगालेका छन् । यस व्यवसायमा फुर्सदिला, अन्य व्यवसाय, शिक्षण संस्थामा कमै आबद्ध भएका महिला संलग्न छन् ।

विगत दश वर्षदेखि रामपुरको बेझाड बजारमा ब्युटिपार्लर सञ्चालन गर्दै आएकी सुलोमी ब्युटी पार्लरकी सुष्मा रानाले यस व्यवसायबाट राम्रो कमाइ गर्न सफल भएकी छन् । उनले दुईसय भन्दा बढी महिलालाई ब्युटिपार्लरसम्बन्धी तालिम दिइसकेकी छन्

शुरुमा रु २० हजारबाट व्यवसाय थालेकी रानाको पसलमा अहिले दिनहुँ थु्रपै ग्राहकको भीड लाग्ने गर्दछ । राना भन्छिन्, “यस व्यवसायले महिलालाई काम पनि पुग्ने र आयआर्जन पनि बढाउने गरेको छ ।” यही व्यवसायबाट मासिक रुपमा रु ६० हजारभन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछिन् ।

चारु रानालाई पनि यस व्यवसायबाट दाम मात्र नभई फुर्सदको समय सदुपयोग भएको बताँछिन्। हातमा सीप भयो भने महिलालाई परनिर्भरमा सीमित रहन नपर्ने उनको भनाइ छ । उनी भन्छिन्, “पढेर पनि जागिर पाइँदैन, हातमा सीप भयो भने त आत्मनिर्भर बन्न सकिने रहेछ ।” “व्यवसाय थालेको तीन वर्ष भयो कमाइ पनि राम्रै छ” उनले भनिन्।

लामो समयसम्म टेलर्सको काम गर्दै आएकी रामपुरकी तुल्सी खनाललाई यतिबेला काममा भ्याइनभ्याइ छ । उनी यस क्षेत्रकै टेलर्सको काममा अग्रपंक्तिमा चिनिन्छिन् । एकवटा मेशिनबाट व्यवसाय शुरु गरेकी खनालले अहिले घर जग्गा जोडिसकेकी छन् । उनी भन्छिन्, “काम राम्रो भयो भने व्यवसाय बढ्ने हो ।” काम गर्दै जाँदा सीप विकास बढ्दै जाने उनको अनुभव छ ।

अर्की महिला जुबिदा अन्जुमलाई पनि सिलाइकटाइले आत्मनिर्भर बनाएको छ । विगत सात वर्षदेखि व्यवसाय गरेकी अन्जुमले तीन जनालाई रोजगार दिँदै आएकी छन् ।

आफ्नै हातमा सीप छ भने एक महिनामा सजिलैसँग रु ५० हजारभन्दा बढी आम्दानी हुने उनले बताइन् । दैनिकरुपमा राम्रो कमाइ गर्नसक्ने भएपछि धेरै महिलाले आम्दानीको स्रोत बढाउँदै गएका छन् ।

रामपुरको बजार क्षेत्रमा मात्रै ५० जनाभन्दा बढी महिला सिलाइकटाइ र दुई दर्जनभन्दा बढी महिला ब्युटिपार्लर व्यवसायमा संलग्न छन् ।