काठमाडौँ – नेपालमा थप २ जिल्लामा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मंगलबार प्रदेश ५ को प्यूठान र गण्डकी प्रदेशको पर्वत जिल्लामा पहिलो पटक कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्वतको फलेवास क्वारेन्टाइनमा रहेका १९ देखि ४० वर्षसम्मका ५ जना पुरुषमा कोरोना पाजेटिभ देखिएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्यूठानको स्वर्गद्वारी नगरपालिका ५९ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT

# # #


 ६१ जिल्लामा फैलियो संक्रमण

पर्वत र प्यूठानमा पुष्टि भएसँगै देशका सातवटै प्रदेशका ७७ मध्ये ६१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. २ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने गण्डकी प्रदेशमा सबैभन्दा कम संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नं. १ का ९ जिल्लामा संक्रमण फैलिँदा १६८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश नं. २ का सबै (८) जिल्लाका ८१६ जना (एकको मृत्यु), बाग्मती प्रदेशका १२ जिल्लामा ५४ जना (दुईको मृत्यु), गण्डकी प्रदेशका ७ जिल्लामा ३७ जना, प्रदेश नं. ५ का ११ जिल्लामा ६९९ जना (तीनको मृत्यु), कर्णाली प्रदेश ५ जिल्लामा २५२ जना (एकको मृत्यु) र सुदूरपश्चिम प्रदेशका सबै (९) जिल्लामा ७३ जना (एकको मृत्यु) संक्रमित रहेका छन् ।

यसरी नेपालमा कोरोना संक्रमितको २०९९ संख्या पुगेको छ । आजै थप २८८ जनामा कोरोना देखिएको छ । कुल संक्रमितमध्ये २६६ जना उपचारपछि निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।