बाँके – बाँकेमा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको कोरोना भाइरस भए÷नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरिएको छ । भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाका अनुसार मृतक र घाइते सबैको स्वाब सङ्कलन गरेर कोरोना भाइरसको परीक्षण गर्न लागिएको हो ।


ADVERTISEMENT


“कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा मृतकमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको पुष्टि गरेर शवको व्यवस्थापन गर्नुपर्ने भएकाले स्वाब सङ्कलन गरिएको हो”, उनले भने, “मृतकमा कोरोना सङ्क्रमण नभए परिवारको जिम्मा लगाइनेछ भने सङ्क्रमण देखिएमा सोहीअनुसार शव व्यवस्थापन गरिनेछ ।”


ADVERTISEMENT

# # #


मृतक तथा घाइते सबै भारतबाट आएकाले उनीहरुमा कोरोना सङ्क्रमणको जोखिम रहेकाले स्वाब सङ्कलन गरी परीक्षण थालिएको उनले बताए । नेपालगञ्जको जमुनाहाबाट सल्यानतर्फ जाँदै गरेको ना५ख ५९९५ नंको फोर्स गाडी जङ्गलमा रोकिराखेको बा४ख ९०६४ नंको ट्रकमा ठोक्किएर गएराति दुर्घटना भएको थियो ।

दुर्घटनामा एक महिलासहित १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । मृतकका शव भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ भने घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । गाडीमा चालक र दुई सहचालकसमेत गरी ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए। मृतक तथा घाइतेको परिचय खुल्न सकेको छैन ।