काठमाडौँ – बाजुरा, कालिकोट, सल्यान र तनहुँमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । आइतबार बाजुराका ३ जना, कालिकोटका १८ जना, सल्यानका १५ जना र तनहुँका १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाजुराका ३ संक्रमितमध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा जिल्ला अस्पतालमा रहेकी २ वर्षीया बालिका रहेकी छन् । गयराती मृत्यु भएकी उनको आइतबार मात्रै रिर्पोट आएको हो ।


ADVERTISEMENT

# # #


५७ जिल्लामा फैलियो कोरोना

थप ४ जिल्लामा पहिलो पटक कोरोना पुष्टि भएसँगै देशका सातवटै प्रदेशका ७७ मध्ये ५७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. २ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने गण्डकी प्रदेशमा सबैभन्दा कम संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नं. १ का ९ जिल्लामा संक्रमण फैलिँदा १६५ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश नं. २ का सबै (८) जिल्लाका  ६२४ जना (एकको मृत्यु), बाग्मती प्रदेशका १२ जिल्लामा ४५ जना (दुईको मृत्यु), गण्डकी प्रदेशका ६ जिल्लामा २३ जना, प्रदेश नं. ५ का ९ जिल्लामा ५६० जना (तीनको मृत्यु), कर्णाली प्रदेश ५ जिल्लामा १२३ जना (एकको मृत्यु) र सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा २७ जना (एकको मृत्यु) संक्रमित रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ । आजमात्रै १६६ जना संक्रमित थपिएका छन् भने कुल संक्रमितमध्ये २२० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कुल संक्रमितमध्ये ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष, ललितपुर महानगरपालिका वुङमती–२२ का ५६ वर्षीय पुरुष, अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुष, दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीयले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यस्तै गयराती बाजुराको क्वारेन्टाइनमा मृत्यु भएकी २ वर्षीया बालिकाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।