काठमाडौं – नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि नेपाली नायिका वर्षा राउतले त्यसको खण्डन गरेकी छन् । आइतबार सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले त्यसको खण्डन गरेकी हुन् ।


ADVERTISEMENT


उनले आफ्नो अभिव्यक्तिलाई लिएर गरिएको हल्लाले आफूलाई भावनात्मक ठेस पुगेको बताएकी छन् । उनले भिडियोमा बोल्ने क्रममा चुकेपनि मनभित्र देश, राष्ट्रियताप्रतिको सम्मानमा अलिकति पनि तलमाथि नभएको बताएकी छन् ।


ADVERTISEMENT

# # #


‘हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो–हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ ।’ उनले भनेकी छन्, ‘हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि–तल परेकी छैन ।’

कलाकालको पहिचान देश र राष्ट्रियतासँग जोडिएको हुने भन्दै उनले भनिन्, ‘संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र ?’ सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जारी गरेको नयाँ नक्साको समर्थनमा आफू अग्रपंक्तिमा उभिन तयार रहेको बताएकी छन् । यद्दपी एउटा व्यक्ति वा एउटा नागरिकमात्रले समर्थन गरेर मात्रै नहुने भन्दै उनले त्यसका लागि सबै एक भएर वार्ताको वातावरण बनाउनु पर्ने बताएकी छन् ।

‘संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् ।’ उनले भनेकी छन्, ‘जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।’

किन विवादित बनिन् वर्षा ?

शनिबार वर्षाले समाजिक सञ्जालमा उनले नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप सार्वजनिक गरेकी थिइन् ।

उनले भारत र नेपालका पत्रकारहरु मिलेर दुई देशबीचमा फाटो ल्याउने काम गरिरहेको भन्दै भिडियोमा भनेकी थिइन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन्’

उनले शशभिडियो क्लीपमा ‘भारतीय साथीहरुलाई अब के भन्ने’ भन्ने भइरहेको समेत उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ ।’

वर्षाको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको व्यापक विरोध र आलोचना भइरहेको छ ।

यस्तो छ वर्षाको स्पष्टिकरण :

सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन ।

कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन ।

संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।

हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानवधर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।

नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजु-भाइ दिदी-बहिनी हौं । नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरें त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु । मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु ।

जय नेपाल, जय नेपाली !
जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि

– बर्षा राउत