काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोनाका कारण विदेशमा संकटमा परेका नेपालीलाई स्वदेश फर्कन सरकारले सहयोग गर्नुपर्ने विचार व्यक्त गरेका छन्।


ADVERTISEMENT


अनलाइन जुम प्रविधिबाट भएको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकमा उनले महामारीका समयमा नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार हुनुपर्ने र जहाँ बसेका भए पनि स्वदेश फर्कन चाहने नेपालीलाई स्वदेश फर्कन सहयोग गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


प्रतिष्ठानका प्रमुख निधिले कोरोनाको कठीन समयमा अग्रस्थानमा रहेका चिकित्साकर्मी, सहयोगी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र सञ्चारकर्मीको कार्यको प्रशंसा गर्दै उनीहरुको स्वास्थ्यको सुरक्षाका साथ सरकारले विशेष प्रोत्साहन प्याकेज ल्याउनुपर्ने धारणा उनले व्यक्त गरे । बैठकमा कोरोना संक्रमण र त्यसले पारेको असर, पोष्ट कोरोना, आगामी दिनमा प्रतिष्ठानले गर्ने प्रशिक्षण शैली, प्रविधिको प्रयोग, पाठ्यसामग्री प्रकाशन, नेपाली राजनीतिमा उत्पन्न परिस्थिति, सिमानाको प्रश्न, सरकारका नीति तथा कार्यक्रमलगायत विषयमा विमर्श भएको थियो । प्रतिष्ठानले यही जेठ १५ गते गणतन्त्र दिवसलाई सबै समस्या समाधानको मार्ग लोकतन्त्र भन्ने नाराका साथ मनाउने निर्णय गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोतम दाहालले जानकारी दिए ।

बैठकमा काँग्रेस प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले समसायमयिक विषयसहित पार्टीका गतिविधिबारे जानकारी दिएका थिए । प्रतिष्ठानले सरकारको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग, स्वास्थ्य, शिक्षालगायत महत्वपूर्ण क्षेत्रका लागि कुनै ठोस योजना नआएको भन्दै आगामी वर्ष बेरोजगारीको समस्या अझ विकराल हुने चिन्ता व्यक्त गरेको छ । बैठकले कोरोनाबाट उत्पन्न स्वास्थ्य खाद्यान्न र अर्थव्यवस्थामा संकट तथा शिक्षा र रोजगारीमा व्यापक असर गर्ने, सुरक्षित मातृत्व, महिला बालबालिकासहित आमरुपमा परेको मनोवैज्ञानिक प्रभाव तथा वातावरणमा आउने असन्तुलनबारेमा छलफल गरेको थियो ।

साथै बैठकले सरकारद्वारा जारी सूचना, जानकारी तथा पथप्रर्दशनको पूर्ण पालन गर्दै काँग्रेसका सदस्यलाई यसबारे प्रशिक्षित गर्ने र सचेत तुल्याउने एवं विभिन्न माध्यमबाट व्यापक जनचेतना फैलाउने निर्णय गरेको छ । स्वदेश फर्कन चाहने नेपालीको उचित व्यवस्थापन गरी नेपाल आउन सहजीकरण गर्न सरकारलाई आग्रह गर्ने र यस विषयमा काँग्रेसले जारी गरेका दृष्टिकोणलाई अध्ययन तथा अनुशीलन गर्न सदस्यलाई प्रेरित गर्ने बैठकले निर्णय गरेको छ । बैठकले कोरोनाको पिसिआर परीक्षणको दायरा विस्तार गर्न सरकारसँग आग्रह गरेको छ । रासस