जनकपुर– प्रदेश नम्बर-२ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जनकपुर पुगेका एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई राजपा कार्यकर्ताले अवरोध प्रयास गरेका छन् ।


ADVERTISEMENT


नेपाललाई रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले कालोझण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए । तर आठ/दश जनाको संख्यामा रहेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको थियो । त्यसपछि फेरि राजपा कार्यकर्ताले एमालेको कार्यकर्ता भेलामै ढुंगा प्रहार गरेका थिए ।


ADVERTISEMENT

# # #


एमालेलाई मधेस बिरोधी भन्दै राजपा कार्यकर्ताले कालोझण्डा देखाएर नेपालको जनकपुर भ्रमणको बिरोध गरेका हुन् । एमालेको कार्यकर्ता भेला पिडारी चोकमा चलिरहँदा कार्यक्रमस्थल बाहिर राजपाका केही कार्यकर्ताले कालोझण्डा देखाएका थिए । एमालेलाई मधेसबाट बढार्ने भन्दै उनीहरुले कूचोसमेत बोकेका थिए ।

उनीहरुले एमाले मूर्दावादको नारा लगाएपछि केही एमाले कार्यकर्ता बाहिर आएर लखेटेका थिए । चार/पाँच जनाले कालोझण्डा देखाएर एमाले बिरुद्ध नाराबाजी गरेको भेलामा सहभागी अनेरास्ववियु केन्द्रीय सचिव आरती लामाले बताइन् ।

कार्यकर्ता भेलामा माधव नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतो लगायतका नेताहरु सहभागी छन् । २ नम्बर प्रदेशको चुनावलाई लक्षित गरेर एमालेले अगुवा कार्यकर्ता भेला आयोजना गरेको हो ।