काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देशका सातवटै प्रदेशका ३६ जिल्लामा फैलिएको छ । मंगलबार पहिलो पटक लमजुङ, ललितपुर, सिन्धुली र रामेछाप गरी चार जिल्लामा १-१ वटा नयाँ संक्रमित थपिएसँगै कोरोना ३६ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार (आज) देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ चार जिल्लासहित १३ जिल्लाका २७ जनामा कोरोना देखिएको हो । आज देखिएका संक्रमितमध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन् ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । संक्रमित ३४० जना पुरुष र ६२ जना महिलामध्ये ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. ५ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम संक्रमित छन् । कर्णालीमा हिजो (सोमबार) मात्रै पहिलो संक्रमित दैलेखमा देखिएका थिए ।

प्रदेश १ मा ५४ जना कोरोना संक्रमित रहेका छन् । यस्तै प्रदेश २ मा १३६, बाग्मती प्रदेशमा २७ (एकको मृत्यु), गण्डकी प्रदेशमा ४, प्रदेश नं. ५ मा १७६ (एकको मृत्यु), कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । सुदुरपश्चिम प्रदेशमा पाँचै जना उपचारपछि निको भइसकेकाले हाल कुनै पनि संक्रमित छैनन् ।