नरेन्द्रसिंह कार्की, दार्चुला – दार्चुलाको व्यास गाउँपालिका वडा नं २ घाटीबगर र मौराभेल क्षेत्रमा घोरेटो अवरुद्ध हुन पुगेको छ । नेपाली भूमि भएर तिङ्करसम्म जाने करिब ४५० मिटर पैदल बाटो खुलाउने जिम्मा नेपाली सेनालाई दिइएको जनाइएको छ । यसबाट सो गाउँपालिका वडा नं १ छाङ्गरु र तिङ्करका स्थानीयवासीलाई समेत पनि कुञ्चा जान सजिलो हुने छ ।


ADVERTISEMENT


दुई ठाउँमा कडा चट्टानका कारण नेपालतिरको बाटो अवरुद्ध भएको हो । बाटो अवरुद्ध भएकै कारण वैशाख पहिलो साता कुञ्चा सर्नुपर्ने व्यासी सौका समुदायले गाउँ जान पाएका छैनन् ।


ADVERTISEMENT

# # #


यो बाटो विगतमा भारतले घाटीबगर कालापानी, लिपुलेक हुँदै चीनको सीमा जोड्ने गरी सडक निर्माण गर्ने क्रममा अवरुद्ध भएको थियो । सडक निर्माणको क्रममा विस्फोटक पदार्थ विस्फोट गराउँदा भारतबाट ढुङ्गा महाकाली वारि आएर विगतको घोरेटो बाटो अवरुद्ध भएको हो ।

अहिलेलाई व्यासका नागरिक गाउँ जाने गरी बाटो निर्माणमा केन्द्रित हुने गरी सेनाको विकास निर्माण दल यहाँ आउन लागेको दुर्गादल गुल्मका गुल्मपति श्यामराजा विक्रम थापाले जानकारी दिए।

घाटीबगर क्षेत्रमा क्याम्प राखेर अहिलेलाई अवरुद्ध चट्टानमा बाटो खोल्ने जनाइएको छ । दार्चुला तिङ्कर सडकअन्तर्गत व्यास गाउँपालिका–२ कोठीधारदेखि ८७ किलोमिटर तिङ्करसम्मको सडक निर्माणको जिम्मा सेनालाई सरकारले गत वैशाख १४ गते नै दिइसकेको जनाइएको छ ।

स्थानीयवासीलाई गाउँ पठाउन मिल्नेगरी घोरेटोबाटो खुलाइने सेनाले जनाएको छ ।

सो व्यास गाउँपालिका–२, घाटीबगरमा मेजर (सेनानी) को नेतृत्वमा सेनाको विकास निर्माण फौज बस्ने भएको छ । अहिले सेनाको क्याम्प हालै राखिएको सशस्त्रको छाङ्रुस्थित बिओपीबाट ३२ किमी तल हो । यो क्षेत्रमा अवरुद्ध रहेको घोरेटो बाटो निर्माणका लागि विस्फोटक पदार्थ आवश्यक छ ।

गाउँपालिकाले अवरुद्ध बाटो खुलाउने प्रयास गरे पनि विस्फोटक पदार्थबिना सम्भव नभएपछि जिल्ला प्रशासनले माथिल्लो निकायमा पहल गरेको थियो । गाउँपालिकाले रु २४ लाख बजेट विनियोजन गरी घोरेटोबाटो बनाउने प्रयास गरे पनि सञ्चालन गराउन नसकिएको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिए । “मजदुरको प्रयोग गरी केही ठाउँमा बटो बनाए पनि मौराभेल क्षेत्रको बाटो खुलाउन सकिएन्”, उनले भने ।

व्यासका स्थानीयवासीले गाउँ जान नपाएको भन्दै वैशाख अन्तिम साता जिल्ला प्रशासन कार्यालय दार्चुलामा पशुचौपायासहित धर्ना दिएका थिए । घोरेटो बाटो खुलाउने गरी सेनाको विकास निर्माण दल यही जेठ ७ गते दार्चुला पुग्दैछ । सोही दिनबाट निर्माण शुरु गर्ने गरी तयारी भएको सेनाले जनाएको छ । हेलिकप्टरमार्फत सेनाको प्राविधिक टोली खटाइँदैछ ।

खलङ्गाबाट चीनसँग जोडिएको व्यापारिक मार्ग दार्चुला तिङ्करसम्म मानिस हिँड्ने बाटो निर्माणका लागि सेनानीको कमाण्डमा घाटीबगरमा फौज राखिने गुल्मपति थापाले बताए ।

पञ्चायतकालमै दार्चुला सदरमुकाम खलङ्गादेखि व्यासको तिङ्करसम्म पशुचौपाया र मान्छे हिँड्ने गरी यो घोरेटोबाटो निर्माण भएको थियो । पछिल्लो समय द्वन्द्वकालदेखि यो बाटो पूर्णरुपमा अवरुद्ध भएको हो ।

पहिले नेपालकै बाटो भएर दार्चुलाका व्यास छाङ्गरु र तिङ्करका स्थानीयवासी मात्र नभई भारतका स्थानीयवासी पनि यही बाटोको प्रयोग गर्थे, सीमा प्रशासन कार्यालय व्यासमा १० वर्ष जागिर गर्नुभएका सेवानिवृत्त कर्मचारी भवानसिंह ठगुन्नाले बताए । यही बाटो भएर चीनको ताक्लाकोटको सामान व्यापारीले सिधै दार्चुला ल्याउँथे । छाङ्गरुमा भन्सार कार्यालय थियो । महाकाली नदी किनारैकिनार घोरेटो बाटो निर्माण भएको थियो ।

कैलाश मानसरोवर दर्शन गर्ने भक्तजन यही नेपालतिरकै घोरेटोबाटो प्रयोग गर्थे ठगुन्नाले बताउँछन् । “अहिलेलाई नागरिकलाई हिँड्ने मिल्ने गरी बाटो खोल्न प्रयोजनका लागि विकास निर्माण कार्यदल आउँदैछन्”, गुल्मपति थापाले भने, “दीर्घकालीनरुपमा यो क्षेत्रको सडक निर्माणको जिम्मा पनि सेनाले नै पाएको हुँदा क्याम्प बस्न सक्छ ।”

नेपाल–भारत दुवैतर्फ बन्दाबन्दीका कारण व्यासका स्थानीयवासीले गाउँ जान पाएका छैन् । विगतमा छाङ्गरु र तिङ्करका स्थानीयवासी भारतीय बाटो हुँदै कुञ्चा सर्ने गर्थे । योपटक भने झोलुङ्गे पुल बन्द गरिएको हुँदा उनीहरु जान पाएका छैनन् ।

व्यासको छाङगरुमा ११५ तथा तिङ्करमा ६८ घरधुरीको बसोबास छ । यहाँका व्यासीहरु गर्मी छल्न ६ महिना व्यास र चिसो शुरु भएपछि ६ महिना औलमा खलङ्गा झर्ने गर्छन् । यिनीहरुको बसाइँ सराइलाई सौका भाषामा कुञ्चा सर्नु भनिन्छ । यहाँका एक हजार २०० को हाराहारीमा जनसङ्ख्या रहेको छ । यहाँका स्थानीयवासीको खेती वर्षमा एकपटक मात्रै लगाउँछन् । परम्परादेखि नै यिनीहरु व्यापार व्यवसायमा संग्लन छन् ।

व्यासीहरुको चिसोमा बस्ने झुपु, चौरीगाई, खच्चड, भेडाबाख्रा गर्मीले खलङ्गामा समस्या परेको हुँदा चाँडो बाटोको आवश्यकता परेको वडा नं १ का वडासचिव विनोदसिंह बुढाथोकीले बताए ।

झण्डै एक हजारभन्दा बढी पशुचौपाया बाटो नहुँदा खलङ्गामै छन् । “खेती लगाउनुपर्ने समय घर्किसकेको छ,” सचिव बुढाथोकीले भने, “हामीलाई कुञ्चा सर्न एक महिना ढिला भएको छ, ।” पटक पटक सरकारको ध्यानाकर्षण गराएपछि बल्ल बाटो बन्ने कुरा सुनिँदैछ । अहिले सरकारले सेनामार्फत बाटो खोल्ने भएपछि स्थानीयवासी पनि खुशी छन् ।

खलङ्गाबाट छाङ्गरु तिङ्कर पुग्न ६ दिन पैदल लाग्छ । दार्चुला सदरमुकाम खलङ्गाबाट तीन दिनको पैदल दूरीमा घाटीबगर पर्छ । खलङ्गाबाट ४० किमी टाढा व्यास गाउँपालिका केन्द्र सुनसेरासम्म अहिले जीप चल्ने गर्छ । सुन्सेराबाट दुम्लिङ ३३ किमी र दुम्लिङबाट घाटीबगर १४ किमी छ ।

सुन्सेराबाट दुम्लिङ र दुम्लिङबाट घाटीबगरसम्मको ४७ किमी लामो सडक बन्ने बताइएको छ । घाटीबगरमा १०० मिटर पहिरो, २०० मिटरमा कडा चट्टान, त्यसपछिको अर्को मौरा भेलमा १०० मिटर चट्टान छ । यसका लागि सरकारले रु एक करोड नौ लाख विनियोजन गरिसकेको छ । रासस