काठमाडौं – मन्त्रिपरिषद्‍ बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितका क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा पारित गरेको छ ।


ADVERTISEMENT


सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसको मन्त्रीपरिषद्को बैठकले लिम्पियाधुरा समेत समेटिएको नेपालको नयाँ नक्सा पारित गरेको सरकारका प्रवक्ता एवम् अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित गरेको हो । पारित गरिएको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्र समेटिएको उनको भनाई छ । अब निशान छाप, सरकारी कामकाजमा प्रयोग गर्ने नक्सा, विद्यालयमा पाठ्यपुस्तकहरु सबै सार्वजनिक प्रयोगमा हुने नक्सा नै अद्यावधिक हुने उनले बताए ।

आज जारी गरिएको नयाँ नक्सामा यो नक्सामा संघीयता अनुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको र अरु अन्तरराष्ट्रिय सीमा यथावत रहेको पनि उनले जानकारी दिए ।

भारतले गत वर्ष नोभेम्बरमा नेपाली भूभाग कालापानी लिपुलेक सहितका समेटेर भारतको नयाँ नक्सा सार्वजनिक गरेको छ । त्यसको परराष्ट्र मन्त्रयले कुटनीतिक नोट मार्फत विरोध जनाएको थियो भने विवाद समाधानका लागि भारतसँग वार्ताको पहल गरेको थियो । तर, भारतले त्यसमा ध्यान दिइरहेको थिएन ।

दुबै देश कोरोना विरुद्ध लडिरहँदा गत वैशाख २६ गते भारतले भिडियो मार्फत नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको धार्मिक स्थल मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध सुरु भएको थियो ।

परराष्ट्र मन्त्रालयले नेपालका लागि भारतीय राजदूत मोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर कुटनीति नोट थमाउँदै त्यसको विरोध जनाएको थियो । संघीय संसदका संसदीय समितिहरूले पनि सबै नेपाली भूभाग समेटेको नक्सा छाप्न पटकपटक निर्देशन दिएका थिए।

गत शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका छुटेका भूमि समेटिएको नेपालको नक्सा सार्वजनिक गर्ने र भूमि फिर्ता ल्याउनका लागि ठोस कुटनीतिक पहल थाल्ने घोषणा गरेकी थिइन् । त्यही घोषणा अनुरुप सोमबारको मन्त्रिपरिषद बैठकले नयाँ नक्सा प्रकाश गर्ने निर्णय गरेको हो ।