रवीन्द्र काफ्ले, फिदिम – नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध पुर्‍याएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालेमा नेपाल–भारत सीमाभन्दा झण्डै १०० मिटर टाढा भौतिक संरचना निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको जनाइएको छ ।


ADVERTISEMENT


उक्त स्थानमा आहालगैरी कबुलियती वन समूहले बहुजातीय सङ्ग्रहालय बनाउन लागेको थियो । सो समूहले निर्माण गर्न लागेको सङ्ग्रहालय क्षेत्र आफ्नो भूभागमा पर्ने झुठो दाबी एसएसबीले गरेको छ ।


ADVERTISEMENT

# # #


फालेलुङ गाउँपालिकाका प्रवक्ता जीवनकुमार राईका अनुसार उपभोक्ता समितिले भारतीय पक्षले अवरोध गरेको गुनासो गरेपछि सो गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ तथा सुरक्षाकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो । यस क्रममा भारतीय पक्षले सीमा अतिक्रमण गर्नुका साथै सीमास्तम्भ समेत गायब पारेको पाइएको प्रवक्ता राईले जानकारी दिए। यहाँ भारतीय पक्षले ५७÷४ नंको सीमास्तम्भ गायब पारेको पाइएको उनको भनाइ छ । फालेलुङ–५ प्राङबुङका सिल्प साम्पाङका अनुसार यहाँ एसएसबीले दैनिकरूपमा गस्ती गर्नुका साथै नेपालीलाई हिँडडुल र काम गर्नसमेत अवरोध गर्दै आएको छ । दैनिक करिब १०० जनाको एसएसबीको टोली यस क्षेत्रमा आउने गरेको छ ।

सीमा क्षेत्रमा दुई होटलसमेत रहेका छन् । एसएसबीले होटल सञ्चालकलाई उक्त क्षेत्र भारतीय भूभागमा परेको भन्दै मनोवैज्ञानिक दबाव दिने गरेको पाइएको साम्पाङको भनाइ छ । भारतीय पक्षले नयाँ नक्सा नै निर्माण गरी सीमाभन्दा करिब १०० मिटरभन्दा बढी क्षेत्र अतिक्रमण गरेको पाइएको गाउँपालिकाका प्रवक्ता राईको भनाइ छ । जनप्रतिनिधिले एसएसबीका स्थानीय कमाण्डरसँग संवादसमेत गरेका थिए । यस क्रममा भारतीय पक्षले नयाँ नक्साअनुसार उक्त क्षेत्र भारतमा परेकाले भौतिक संरचना निर्माण रोक्न माथिको आदेश आएको बताएको प्रवक्ता राईले बताए ।

भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेपछि फालेलुङ गाउँपालिकाले यस विषयमा पहल गर्न जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको छ । पत्र प्राप्त भएपछि सीमा मिचिएको तथा नेपाली भूभाग अतिक्रमण भएको विषय स्थलगत अवलोकन गर्न डिभिजन वन कार्यालयको टोली उक्त क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिए। “वन डिभिजनबाट सञ्चालित योजनामा अवरोध भएकाले स्थानीय सुरक्षाकर्मीसँगको समन्वयमा सीमा क्षेत्रको स्थलगत अवलोकन गर्न भनिएको छ”, उनले भने । स्थानीयस्तरबाट प्राप्त सीमा अतिक्रमणसम्बन्धी सूचना गृह मन्त्रालयमा समेत पठाइएको प्रजिअ शर्माले बताए । “एउटा सीमास्तम्भसमेत जानाजान हराएको भन्ने सूचना आएपछि संवेदनशीलरूपमा लिइ मन्त्रालयमा जानकारी गराइएको छ”, उनले भने ।

उक्त क्षेत्र पाँचथर, इलाम र भारतको पश्चिम बङ्गाल राज्यको सीमामा पर्दछ ।

पाँचथरमा भारतसँगको करिब ४५ किलोमिटर सीमा क्षेत्र रहेको छ । पछिल्लोपटक कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सीमा क्षेत्रबाट हुने आवतजावत रोक्ने सशस्त्र प्रहरी बल सीमा क्षेत्रमा पुगेपछि भारतीय पक्षले नयाँ विवाद सिर्जना गरेका सन्दकपुर क्षेत्रका स्थानीयवासीको भनाइ छ । रासस