काठमाडौं –  चन्द्रागिरि नगरपालिकाले कोभिड- १९ संक्रमण, रोकथाम र नियन्त्रणका लागि खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा एम्बुलेन्स चालकको स्वास्थ्य बिमा गरेको छ । सोमबारदेखि लागु हुने गरी प्रतिव्यक्ति दश लाख रुपैयाँको स्वास्थ्य बिमा गरिएको नगरपालिकाले जनाएको छ ।


ADVERTISEMENT


नगरपालिकाले व्यवस्थित रुपमा कोरोना नियन्त्रणका लागि जनशक्ति परिचालन गरिरहेको अवस्थामा कार्यरत जनशक्तिलाई थप प्रोत्साहन गर्न तथा हुन सक्ने जोखिम कम गर्न कार्यपालिकाको निर्णयानुसार आन्तरिक खर्चबाट व्यहोर्ने गरी स्वास्थ्य बिमा गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय बिमा संस्थानमा नगरपालिकामा कार्यरत ३५० कर्मचारीको स्वास्थ्य बिमा गरिएको छ । जसमा ७८ जनप्रतिनिधि, ८४ नगरअन्तर्गतका कर्मचारी, १७७ नगरअन्तर्गतका वडा कार्यालय तथा स्वास्थ्यकर्मी र ११ एम्बुलेन्सका चालक छन् ।


ADVERTISEMENT

# # #


उक्त बिमाअन्तर्गत प्रतिव्यक्ति ६ लाख रुपैयाँबराबरको सामूहिक दुर्घटना बिमा, एक लाखबराबरको औषधोपचार बिमा, दुई लाखबराबरको घातक रोग बिमा र एक लाख रुपैयाँबराबरको कोभिड(१९ रोग बिमा समावेश गरी बिमा गरिएको उनले जानकारी दिए ।

गत चैत १९ गतेको नगरकार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा कर्मचारीको स्वास्थ्य बिमा गर्नै निर्णय गरेको थियो । आन्तरिक व्यवस्थापनमा समय लाग्दा बिमा गर्न केही दिन ढिला भएको प्रवक्ता महर्जनले जानकारी दिए । -रासस