प्रकाश अधिकारी, सुर्खेत – कोभिड– १९ को सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) ले अन्य विकास आयोजना ठप्प भइरहेका बेला यहाँ सञ्चालित भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा भने असर परेको छैन । सरकारले लकडाउनमा राष्ट्रिय गौरवका आयोजनाको काम नरोक्न निर्देशन दिएपछि भेरी बबईले दोस्रो चरणका निर्माणलाई निरन्तरता दिएको हो ।


ADVERTISEMENT


आयोजनाका सिनियर डिभिजनल हाइड्रोजियोलिष्ट एवं सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले नदीको बहाव फर्काउने बाँध (कफर ड्याम) र सुरुङको फिनिसिङको काम भइरहेको बताए । बर्खाअघि सक्नुपर्ने अत्यावश्कीय काममा आफूहरु केन्द्रित भएको उनले बताए। “बर्खाअघि नदीको बीचमा पर्खाल लगाएर बाँध बनाउन सकिएन भने लक्ष्यअनुसार आयोजनाले प्रगति गर्न सक्दैन”, सूचना अधिकारी उपाध्यायले भने ।


ADVERTISEMENT

# # #


कामदारलाई क्याम्पभित्रै राखेर काम जारी राखेको उनको भनाइ छ । सरकारले ठूला आयोजनाको निर्माण कार्य जारी राख्न कामदारलाई क्लोज क्याम्पमै राख्नुपर्ने, एक मिटरको दूरी कायम गरी काममा लगाउनुपर्ने, दैनिक स्वास्थ्य जाँच गर्नुपर्नेलगायतका निर्देशन दिएको छ । बाँधस्थल चिप्लेमा हाल १३० कामदार कार्यरत छन् । सबै कामदारलाई आयोजनास्थलमा सञ्चालित क्याम्पमै खाने बस्ने व्यवस्था मिलाइएको छ । लकडाउन लम्बिए पनि अत्यावश्यक सामग्री अभाव हुन नदिने तयारीमा रहेको आयोजनाले जनाएको छ । प्रशासनले लकडाउन अवधिमा स्थानीय स्रोतसाधन प्रयोग गरेर आयोजनाको काम अघि बढाउन निर्देशन दिए पनि ठेकेदारलाई सिमेन्ट बाहिर जिल्लाबाट ल्याउनुपर्ने बाध्यता रहेको छ । सुर्खेतमा सिमेन्ट उद्योग छैनन् ।

सूचना अधिकारी उपाध्यायले बाँधका साथै सुरुङ फिनिसिङ, बायो इञ्जिनीयरिङलगायतका काम पनि भइरहेको जानकारी दिए। यसअन्तर्गत सुरुङ मर्मतसम्भार, सरसफाइ गर्ने, आसपासमा बोट बिरुवा रोप्नेलगायतका काम पर्दछन् । टनेल बोरिङ मेशिन (टिबिएम) को सहायताले गत वर्ष चैतमै १२ किमि २१० मिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको थियो । फिनिसिङ, बायो इञ्जिनीयरिङलगायतका काम बाँकी रहेकाले निर्माण कम्पनी चाइना इञ्जिनीयरङ ओभरसिज प्रालि (कोभेक)ले सिचाइँ विभागलाई सुरुङ हस्तान्तरण गरेको छैन् । चिनियाँ कम्पनी कोभेकले २०७४ कात्तिक मसान्तदेखि बबई किनार हात्तीखालबाट सुरुङ निर्माण थालेको थियो । सिँचाइ विभाग र कोभेकबीच २०७६ चैत १५ गतेसम्म सुरुङ खनिसक्नुपर्ने सम्झौता भए पनि एक वर्षअगावै निर्माण सम्पन्न गरेपछि आयोजना व्यवस्थापन र कोभेकले चौतर्फी प्रशंसा बटुलेका थिए ।

टिबिएम अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित उपकरण हो । जुन नेपालले पहिलोपटक सुरुङ खन्न यहाँ प्रयोगमा ल्याएको थियो । सुरुङ निर्माण आयोजनाको ३३ प्रतिशत उपलब्धीमा पर्दछ । निर्माण कार्यका हिसाबले हालसम्म ४० प्रतिशत निर्माण कार्य पूरा भएको आयोजनाको दाबी छ ।

त्यस्तै, दोस्रो चरणको ठेक्काअन्तर्गत विद्युत् गृह (पावरहाउस) निर्माणको कार्यको तयारी पनि शुरु गरिएको छ । चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउन १३ गते दोस्रो चरणको ठेक्का अघि बढाउने सम्झौता भएको थियो । दोस्रो चरणमा छ गेजको ब्यारेज, सर्ज स्याफ्ट, विद्युत्गृह लगायतका संरचना पर्दछन् । यसका लागि आयोजनाले रु छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दैछ । सम्झौता भएको मितिले ४८ महिनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्ने कार्यादेश पाएको आयोजनाको सम्पूर्ण काम भने आर्थिक वर्ष २०७९-८० सम्म सम्पन्न गर्नुपर्ने लक्ष्य छ ।

भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमि २१० मिटर लामो सुरुङमार्फत सोही नगरको वडा नं ११ हात्तीखालस्थित बबईमा भेरीको पानी खसालिनेछ । जहाँ नेपाल सरकारको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत ४८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । आयोजनाले भेरीबाट प्रति सेकेण्ड ४० घनमिटर पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ ।

सिँचाइ विभागले यहाँबाट उत्पादित विद्युत्को आम्दानी वार्षिक करिब रु चार अर्ब तीन करोड र बाह्रै महिना सिँचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक रु तीन अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ । मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेशिनबाट सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई ‘राष्ट्रिय गौरव’को ‘नमूना आयोजना’का रुपमा परिभाषित गरिएको छ । रासस