काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण श्रमिकको जीवन कष्टकर भएकोमा आफू दुःखी रहेको बताएका छन् । उनले श्रमिकले भोग्नु परेको पीडाप्रति आफू संवेदनशील रहेको भन्दै बताएका छन् ।


ADVERTISEMENT


१ सय ३१ औं मे दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले लकडाउनका कारण श्रमिकको जीवन कष्टकर भएकोमा आफू दुःखी रहेको बताएका छन् । उनले श्रमिकले भोग्नु परेको पीडाप्रति आफू संवेदनशील रहेको भन्दै उनीहरुलाई सरकारले भोकै नराख्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


अवधिको हिसाबले यसवर्ष श्रमिकहरूको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने भए पनि कोरोना महामारीले असर पारेको प्रधानमन्त्रीले बताएका छन् । “८.५ प्रतिशतको आर्थिक वृद्धिको उच्च आकांक्षाका साथ अघि बढेका हामीहरू ३ प्रतिशत वा त्यसभन्दा कमको आर्थिक वृद्धिमा खुम्चिन पो पर्ने हो कि भन्ने अवस्थाले गम्भीर बनेका छौं । मैले पहिले पनि भनिसकेको छु, हाम्रो जीडीपीको झण्डै ४ प्रतिशत यस महामारीका कारण क्षति भइसकेको छ,” प्रधानमन्त्रीले तथ्याङ्क प्रस्तुत गरेका छन् ।

विश्वस्तरमा तुलनात्मक रूपमा हेर्ने हो भने रोजगारी र अर्थतन्त्रको अहिलेको अवस्था अघिल्लो शताब्दीको महामन्दीमा जस्तै वा त्यो भन्दा पनि भयावह हुने आकलन भएको प्रधानमन्त्रीको भनाइ छ ।

“सन् १९३० को दशकमा भएको महामन्दीमा काम गर्ने उमेर समूहका, कुनै औद्योगिक मुलुकमा २३ प्रतिशत र कतिपयमा ३३ प्रतिशतसम्म बेरोजगार भएका थिए । यस महामारी पछिको पहिलो चार महिनामा नै २० औं शताव्दीको त्यस दशकको भन्दा ज्यादा श्रमजीवीहरू बेरोजगार भई सकेका छन् । महामन्दीको त्यस समयमा, सिंगो एक दशकमा कूल गार्हस्थ उत्पादनमा जति संकुचन आएको थियो, यस महामारीको पहिलो चार महिनामा ती विकसित अर्थतन्त्रमा, त्यसको झण्डै ३ गुणा बढी संकुचन आएको छ,” प्रधानमन्त्रीको तर्क छ ।

“घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईहरूको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ,” उनको प्रतिबद्धता छ ।

अब सरकार स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने प्रधानमन्त्रीले बताएका छन् । भूकम्पपछिको यस दशकलाई सरकारले पुनर्निर्माणको दशक भनेझैं, मुलुकको पहिलो लक्ष्य कोरोनाबाट हाम्रो समाजलाई मुक्त दिने नै भएको उनले बताएका छन् ।

“यसभन्दा अघिल्ला सम्बोधनहरूमा पनि मैले चर्चा गरेको थिएँ, यस महामारीले जनस्वास्थ्यको क्षेत्रमा हाम्रो हविगत उदाङ्गो पारिदिएको छ । जसरी २० औं शताब्दीको महामन्दीले पुँजीवादी प्रणालीको चरित्र नै फेर्नेगरी अर्थव्यवस्थामा कल्याणकारी आयाम थप्न विकसित मुलुकलाई बाध्य प¥यो, यस महामारीले हामीलाई स्वास्थ्य संरचनामा थप लगानी गर्न प्रेरित गरेको छ,” प्रधानमन्त्रीले भनेका छन् ।

संविधानले ग्यारेन्टी गरेझैं स्वस्थ नागरिक निर्माण गर्न स्वास्थ्य बीमा सहितको जनस्वास्थ्यमा र सीपयुक्त नागरिक निर्माणको लागि शिक्षामा लगानी वृद्धि गरिने प्रधानमन्त्रीको जोड छ । “‘आजको लागि स्वास्थ्य, भोलिका लागि शिक्षा’ अबको हाम्रो दिशा हुनेछ,” प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “यस महामारीको प्रभावले आत्मनिर्भर अर्थतन्त्रको महत्वलाई पनि अझ बढी स्पष्ट पारेको छ । अबका हाम्रा कदमहरू निश्चय नै त्यस दिशातर्फ सुदृढ ढंगले उन्मुख हुनेछ । कोरोना महामारी विरुद्धको लडाईंमा एक हुँदै श्रमिकको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चित गर्ने दिशातर्फ हाम्रो सम्पूर्ण प्रयास केन्द्रित हुनेछ । सबैभन्दा पहिले टुटेको उत्पादन सम्बन्धको कडीलाई जोड्ने र अवरुद्ध उत्पादन प्रणालीलाई सुचारु गरिने छ ।”

राहत सुविधा अल्पकालीन उपाय मात्रै भएको प्रधानमन्त्रीले बताएका छन् । “सबैलाई काम, हाम्रो पहिलो लक्ष्य हुनेछ । श्रमसँग जोडिएकाहरूलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिनेछ । काममा जो छन्, उनीहरूका लागि न्यूनतम पारिश्रमिक सुनिश्चित गरिनेछ । काममा संलग्न कसैको पनि आम्दानी रोकिने वा खोसिने स्थिति आउन दिइने छैन । संघ, प्रदेश र स्थानीय तहमा, श्रम–प्रधान प्रविधि परिचालनको प्रबन्ध गरिने छ । श्रम र प्रविधिको संयोजन तथा ज्यालासहित जनसहभागिताको विकास मोडेल अवलम्बन गरिने छ,” प्रधानमन्त्रीले थप प्रतिबद्धता व्यक्त गरेका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई उनीहरूले हासिल गरेको दक्षता अनुरुपको स्वरोजगारी सिर्जना गर्न सरल कर्जा र प्रविधि हस्तान्तरणको प्रबन्ध गरिने सरकारले योजना छ ।

स्वदेशमा रहेका वा विदेशमा रोजगारीमा जान नपाएकाहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिने उनले लक्ष्य प्रस्तुत गरेका छन् । विभिन्न मन्त्रालय, निकाय र सार्वजनिक संस्थाहरू मार्फत सिर्जना भएका कामका अवसरहरू नेपालीलाई नै सुनिश्चित गर्ने व्यवस्था मिलाइने सरकारको योजना रहेको छ ।

“यस सन्दर्भमा हाम्रा श्रमिकहरूमा रहेको सीपको खाडलका कारण हुनसक्ने श्रमिकहरूको अभावलाई सम्बोधन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र श्रम तथा सीप तालीमसम्बन्धी सबै निकायका कार्यक्रमहरूलाई एकीकृत रुपमा परिचालन गरिने छ । सीपको अन्तरलाई सम्याउन आवश्यक परेमा सबै पालिका तहमा छोटो अवधिका घुम्ती तालीम शिविरसमेत सञ्चालनमा ल्याइने छ,” प्रधानमन्त्रीको निष्कर्ष छ ।

मे दिवसको उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्रीको शुभकामना सन्देश (भिडियो सहित)

पूर्णपाठ

स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरू,

मे दिवस २०२० को अवसरमा हार्दिक शुभकामना ।

वितेका १ सय ३१ वर्ष देखि औपचारिक रुपमा, मे १ का दिन, संसारभरिका श्रमिकहरूले अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छन् । यो दिन, काम गर्नेमाथि काम लगाउनेहरूबाट भएको ज्यादतिलाई अन्त्य गर्न ट्रेड युनियनहरूले शुरु गरेको आन्दोलनको स्मरणमा मनाउन थालिएको हो । श्रमिकहरूको ‘काम, मनोञ्जन र आराम’ बीच सन्तुलन कायम गर्ने माग स्थापित गरिएको दिनका रुपमा यस दिवसलाई स्मरण गर्ने गरिन्छ । नेपालको श्रम आन्दोलनले यस दिवसलाई श्रमिकहरूको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनको लागि भएका सबै आन्दोलनहरूको स्मरणमा मनाउँदै आएको छ ।
पछिल्ला केही वर्ष यता, हामीले यस दिवसलाई नेपाली श्रमिकहरूको ‘एकता र उपलब्धि’को उत्सवका रुपमा पनि मनाउँदै अएका छौं । हरेक वर्ष ‘श्रमको संसार’मा भएका उपलब्धिहरूको चर्चा गर्ने र गर्न बाँकी कामहरूलाई पूरा गर्ने अठोट गर्ने दिनका रुपमा पनि मे १ लाई लिंदै आएका छौं ।

तर यस वर्ष को मे दिवस हामीहरू भिन्न रुपमा मनाउँदै छौं । कोरोना भाइरसको महामारीका कारण हाम्रो श्रमको संसार अहिले लकडाउनमा छ । मैले पहिले पनि भनेको छु, अहिले यतिबेला विश्वभरिका कोरोना प्रभावित २१० मुलुकमा जस्तै हाम्रो देशको पनि उत्पादन प्रणालीको कडी टुटेको छ । हाम्रा सिर्जनशील हातहरू यतिखेर लकडाउनमा छन् । हाम्रो श्रमको प्रतिक्षामा रहेका उत्पादनका साधनहरू पनि लकडाउनमा छन् ।

अहिलेको लकडाउन विश्वव्यापी हो र यो बाध्यकारी रहेको छ । कोरोना भाइरसका कारणले यसलाई स्वीकार्नु परेको बाध्यता हाम्रा अगाडि छ । यसले निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रमजीवी वर्गको बुझाईजस्तै श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महत्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको छ । श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो । श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको छ ।

उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरूका कष्टकर जीवनप्रति म अत्यन्तै दुःखी छु । एक दशकको हिंसात्मक द्वन्द्वका कारण गाउँको रोजगारी खोसिँदा शहररबजार पसेका, तर शहररबजारले रोजगारी दिन नसक्दा परदेश भासिएका लाखौं नेपाली युवा श्रमिकहरू विभिन्न मुलुकमा कार्यरत छन् । युवाहरू विदेशिने यी र अन्य विभिन्न बाध्यकारी परिस्थिति तथा प्रवृत्ति पनि छन् । र, अहिले कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेका छन् । यसबाट सिर्जना भएको पीडाप्रति म जानकार तथा संवेदनशील छु । यस अप्ठ्यारो घडीमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक ऐक्यबद्धता जाहेर गर्दछु ।
दिदीबहिनी तथा दाजुभाइहरू,

विगत दुई वर्षदेखि हाम्रो अर्थतन्त्रले तीब्र विकासको लय समातेको थियो । सरकारको संयोजनमा उद्यमी तथा श्रमिक दुबै पक्षबीच उच्च समझदारी कायम रहेको थियो । त्यही समझदारीका कारण श्रमिकको न्यूनतम पारिश्रमिक, इतिहासमै उच्च अर्थात् ३९ प्रतिशतले बृद्धि भएको थियो । नियमित जस्तो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रमको दुनियाँमा ‘हडताल र तालाबन्दी’ सबैले बिर्सिसकेको नमिठो सपना जस्तो भइसकेको थियो । हाम्रो आर्थिक बृद्धि दोहोरो अंकको लक्ष्य हासिल गर्नेतर्फ लम्किएको थियो । सरकारले श्रम क्षेत्रमा पहिलो वर्ष को तुलनामा दोस्रो वर्ष  झण्डै दोब्बर बजेट बृद्धि गरेको थियो । दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रमहरू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सञ्चालनमा आएका थिए ।

यी दुई वर्षको अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २२ लाख श्रमदिन बराबरको रोजगारी सिर्जना गरिएको थियो । श्रमिकको पारिश्रमिक बंैकमार्फत भुक्तानी गर्ने र काम गर्दाको समयमा वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको शुरुवात गरियो । एक वर्षमा कम्तिमा एक सय दिन बराबरको रोजगारीको प्रत्याभूति अर्थात् ग्यारेन्टी गरियो । विभिन्न मुलुकसँंग श्रम संझौता गर्ने र प्रविधिमा आधारित सरल श्रमसम्बन्धी सेवाहरू थालियो । बेरोजगार लक्षित सीप विकास र उद्यमशीलता प्रबद्र्धन कार्यक्रम सञ्चालन गरियो । उच्च शिक्षा हासिल गरेका युवाहरूको लागि शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच प्रतिशत ब्याज अनुदानमा सात लाखसम्म ऋण उपलव्ध गराउन थालिएको थियो ।

तर, यस मे दिवसको संघारमा आज हामी, कोरोना महामारीका विरूद्धको युद्धमा होमिएका छौं । तत्कालको लागि हाम्रो प्रयास यस महामारीले सिर्जना गरेको समस्या सामना गर्नेतर्फ केन्द्रित छ । यतिखेर सरकार, कोरोना संक्रमणको रोकथाम, पहिचान, परीक्षण र उपचारमा लागि परेको छ । यसमा कमी नआओस् भनेर नै महामारी विरूद्धको यस युद्धको अग्र मोर्चामा रहनुभएका सबैका लागि पच्चिस लाख रकम बराबरको बीमा गरिएको छ । व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्थाका साथै उनीहरूको भत्तामा शतप्रतिशतसम्म थप गरिएको छ । लकडाउनको अवधिको पारिश्रमिक कायम गर्न र महिला स्वास्थ्य स्वयंसेवीहरूलाई एकमुष्ट एक हजार पाँच सय रुपियाँ थप भत्ताको व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा कोषमा आवद्ध सम्पूर्ण श्रमिकहरूको आयमा कमी नआओस् भनेर नै प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिएको छ । सामाजिक सुरक्षा कोषमा योगदान गर्दा लाग्ने दोहोरो करको व्यवस्था हटाइएको छ ।

विद्युतको उपभोगमा सहुलियतको व्यवस्था गरी सुलभ मोलमा इन्डक्सन चुल्होको व्यवस्थासमेत गरिएको छ । दैनिक गर्ने कामबाट जीवन धानिरहेकाहरूलाई भोकै पर्न नदिन नेपालमा ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारको नीति अन्तर्गत स्थानीय तह, प्रदेश तथा केन्द्रीय प्रशासनको संयोजनमा राहतको व्यवस्था गरिएको छ ।

श्रमजीवी दाजुभाई तथा दिदीबहिनीहरू,

म ठान्दछु, श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने वर्ग हो । परिवर्तनको संवाहक हो । र, सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैं अघि सरेर समस्याको सामना गर्न सक्ने वर्ग श्रमजीवी वर्ग हो । कोरोना भाइरसको महामारीका विरूद्ध अग्रपंक्तिमा रहेर जुधिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई लगायतका सेवामा क्रियाशील श्रमजीवीहरू यसका उदाहरण हुन् । जसको अथक परिश्रमले कोरोना भाइरस विरूद्धको लडाईँमा विश्वस्तरमा उल्लेख गर्नलायक सफलता हाम्रो मुलुकले प्राप्त गरेको छ । हालसम्म यो महामारी समुदाय स्तरमा फैलिनबाट रोकिनु र कुनै पनि मानवीय क्षति नभएको गर्विलो रेकर्ड कायम रहनु सन्तोषको विषय हो । आफैंलाई जोखिममा पारी अरुको जीवन रक्षामा संलग्न उहाँहरू सबैको म उच्च प्रशंसा गर्न चाहन्छु ।

मलाई थाहा छ, अवधिको हिसाबले यसवर्ष  श्रमिकहरूको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने वर्ष  हो । तर तपाई हामी सबैलाई थाहा छ, अहिले परिस्थितिले हामीलाई साथ दिइरहेको छैन । ८.५ प्रतिशतको आर्थिक बृद्धिको उच्च आकांक्षाका साथ अघि बढेका हामीहरू ३ प्रतिशत वा त्यसभन्दा कमको आर्थिक बृद्धिमा खुम्चिन पो पर्ने हो कि भन्ने अवस्थाले गम्भीर बनेका छौं । मैले पहिले पनि भनिसकेको छु, हाम्रो जीडीपीको झण्डै ४ प्रतिशत यस महामारीका कारण क्षति भइसकेको छ ।

विश्वस्तरमा तुलनात्मक रूपमा हेर्ने हो भने रोजगारी र अर्थतन्त्रको अहिलेको अवस्था अघिल्लो शताब्दीको महामन्दीमा जस्तै वा त्यो भन्दा पनि भयावह हुने आँकलन गर्न थालिएको छ । सन् १९३० को दशकमा भएको महामन्दीमा काम गर्ने उमेर समूहका, कुनै औद्योगिक मुलुकमा २३ प्रतिशत र कतिपयमा ३३ प्रतिशतसम्म बेरोजगार भएका थिए । यस महामारी पछिको पहिलो चार महिनामा नै २० औं शताव्दीको त्यस दशकको भन्दा ज्यादा श्रमजीवीहरू बेरोजगार भई सकेका छन् । महामन्दीको त्यस समयमा, सिंगो एक दशकमा कूल गार्हस्थ उत्पादनमा जति संकुचन आएको थियो, यस महामारीको पहिलो चार महिनामा ती विकसित अर्थतन्त्रमा, त्यसको झण्डै ३ गुणा बढी संकुचन आएको छ ।

तर घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईहरूको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ ।

कसरी ?

अबका हाम्रा सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुनेछन् । भूकम्पपछिको यस दशकलाई हामीले पुनर्निर्माणको दशक भनेझैं, अबको हाम्रो पहिलो लक्ष्य कोरोनाबाट हाम्रो समाजलाई मुक्त बनाउनु हुनेछ । यसभन्दा अघिल्ला सम्बोधनहरूमा पनि मैले चर्चा गरेको थिएँ, यस महामारीले जनस्वास्थ्यको क्षेत्रमा हाम्रो हविगत उदाङ्गो पारिदिएको छ । जसरी २० औं शताब्दीको महामन्दीले पूँजीवादी प्रणालीको चरित्र नै फेर्नेगरी अर्थव्यवस्थामा कल्याणकारी आयाम थप्न विकसित मुलुकलाई बाध्य प¥यो, यस महामारीले हामीलाई स्वास्थ्य संरचनामा थप लगानी गर्न प्रेरित गरेको छ । हाम्रो संविधानले ग्यारेन्टी गरेझैं स्वस्थ नागरिक निर्माण गर्न स्वास्थ्य बीमा सहितको जनस्वास्थ्यमा र सीपयुक्त नागरिक निर्माणको लागि शिक्षामा लगानी बृद्धि गरिने छ । ‘आजको लागि स्वास्थ्य, भोलिका लागि शिक्षा’ अबको हाम्रो दिशा हुनेछ । यस महामारीको प्रभावले आत्मनिर्भर अर्थतन्त्रको महत्वलाई पनि अझ बढी स्पष्ट पारेको छ । अबका हाम्रा कदमहरू निश्चय नै त्यस दिशातर्फ सुदृढ ढंगले उन्मुख हुनेछ ।

कोरोना महामारी विरुद्धको लडाईंमा एक हुँदै श्रमिकको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चित गर्ने दिशातर्फ हाम्रो सम्पूर्ण प्रयास केन्द्रित हुनेछ । सबैभन्दा पहिले टुटेको उत्पादन सम्बन्धको कडीलाई जोड्ने र अवरुद्ध उत्पादन प्रणालीलाई सुचारु गरिने छ ।

राहत सुविधा अल्पकालीन उपाय मात्रै हो । सबैलाई काम, हाम्रो पहिलो लक्ष्य हुनेछ । श्रमसँग जोडिएकाहरूलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गरिनेछ । काममा जो छन्, उनीहरूका लागि न्यूनतम पारिश्रमिक सुनिश्चित गरिनेछ । काममा संलग्न कसैको पनि आम्दानी रोकिने वा खोसिने स्थिति आउन दिइने छैन । संघ, प्रदेश र स्थानीय तहमा, श्रम–प्रधान प्रविधि परिचालनको प्रबन्ध गरिने छ । श्रम र प्रविधिको संयोजन तथा ज्यालासहित जनसहभागिताको विकास मोडेल अवलम्बन गरिने छ ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई उनीहरूले हासिल गरेको दक्षता अनुरुपको स्वरोजगारी सिर्जना गर्न सरल कर्जा र प्रविधि हस्तान्तरणको प्रबन्ध गरिने छ । स्वदेशमा रहेका वा विदेशमा रोजगारीमा जान नपाएकाहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिने छ । विभिन्न मन्त्रालय, निकाय र सार्वजनिक संस्थाहरू मार्फत सिर्जना भएका कामका अवसरहरू नेपालीलाई नै सुनिश्चित गर्ने व्यवस्था मिलाइने छ ।

यस सन्दर्भमा हाम्रा श्रमिकहरूमा रहेको सीपको खाडलका कारण हुनसक्ने श्रमिकहरूको अभावलाई सम्बोधन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र श्रम तथा सीप तालीमसम्बन्धी सबै निकायका कार्यक्रमहरूलाई एकीकृत रुपमा परिचालन गरिने छ । सीपको अन्तरलाई सम्याउन आवश्यक परेमा सबै पालिका तहमा छोटो अवधिका घुम्ती तालीम शिविरसमेत सञ्चालनमा ल्याइने छ ।

हाम्रो युवा जनसंख्याको जनसांख्यिक लाभलाई अधिकाधिक सदुपयोग गरिने छ । त्यस्तो युवा जनशक्ति, जुन उत्पादक जनशक्ति हुनेछ । त्यस्तो उत्पादक जनशक्ति, जुन सीपयुक्त र पूँजी सहितको प्रविधियुक्त हुनेछ । त्यस्तो युवाशक्ति, जुन अन्वेषण र व्यावसायिक ज्ञानयुक्त हुनेछ ।

कृषिको आधुनिकीकरण र व्यवासायीकरण मार्फत उत्पादन र रोजगारी बृद्धि गरिने छ । जमिन नहुने श्रमिकहरूका लागि भूमि बैंकलाई कार्यान्वयनमा ल्याई त्यसैको माध्यमद्वारा भूमिको व्यवस्था गरिने छ । बैंकहरूबाट सुलभ कर्जाको बन्दोबस्त गर्ने र सरकारद्वारा सीप तालीमको प्रत्याभूति गरी समन्वयात्मक ढंगबाट कामलाई अघि बढाइने छ ।

विगतका जनआन्दोलन र द्वन्द्वकालका युवा तथा अरू घाइतेहरू अझै पनि उपचारबिहीन अवस्थामा  रहिरहेका छन् । तिनको उपचारका लागि सरकारले पटकपटक गरेका आव्हान र प्रयासहरूको सन्देश उचित रुपमा संप्रेषण हुन सकेन । म आव्हान गर्दछु, सम्पूर्ण घाइतेहरू प्रशासनको संपर्कमा आउनुहोस् । अब आप्mनो शरीरमा गोली र छर्रा बोकेर नबस्नुहोस्, उपचारको प्रबन्ध सरकारले गर्छ । यस प्रयासबाट सबै घाइतेहरू पूर्ण निको भई श्रम बजारमा कार्यरत हुन सक्नेछन् ।

दिदीबहिनी तथा दाजुभाइहरू,

नेपाली समाजको परिवर्तन र अहिलेको स्थायित्व एवं विकासको परिस्थिति आफैं निर्माण भएको होइन । सही विचार र गन्तव्यमा आधारित बलिदानपूर्ण संघर्ष र सचेत प्रयासबाट मात्रै यस परिस्थितिको निर्माण भएको हो । आज नेपालका केही सञ्चार माध्यमहरू र सामाजिक सञ्जालहरूमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरूको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्का्तिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरू गरिनु दुःखद् कुरा हो । आप्mना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।

नेपालको राजनीतिक आन्दोलनले ट्रेड युनियन आन्दोलनलाई वैचारिक नेतृत्व गरिरहेको छ । तर नेपाली ट्रेड युनियन आन्दोलनले राजनीतिक आन्दोलनलाई धेरै कुरा सिकाएको छ – अप्ठ्यारोमा नहड्बडाउने, अनिकालमा मिलेर बीऊ जोगाउने, सहकालमा भएका नाफाको न्यायोचित वितरणमा सामाजिक सम्वाद गर्ने, अनि विविधता बीच एकता कायम गरी अघि बढ्ने ।

ट्रेड युनियनले हामीलाई सिकाएको छ– “आपसी एकता र युनियन बनाउने भनेको र्भयाङको खुट्किलो थपेजस्तै हो । तल्लो खुट्किलो बलियो भएमात्रै माथि पुगिन्छ । त्यसैले तल हेरौं, माथि मात्रै होइन ।”

त्यसैले म भन्न चाहन्छु, आजको अप्ठ्यारो घडीमा मिलेर अघि बढ्नु पर्छ, युनियनजस्तै । हामीले आप्mना आकांक्षाको आकाशतिर माथिमाथि मात्र होइन, जनता भएतिर तल पनि हेर्नुपर्छ, युनियनले भने जस्तै ।

कमीकमजोरी भए सच्याउनु पर्छ । तर, अराजक होइन– अनुशासित हुनुपर्छ । समयको ख्याल गर्नुपर्छ । आफैंलाई घात गर्ने होइन– इमान्दार बन्नुपर्छ, युनियनले भनेजस्तै ।

यस प्रसंगमा नेपालका मान्यताप्राप्त ट्रेड युनियनहरूले निर्माण गरेको उनीहरूको साझा संस्था– जेटियुसीसीलाई म स्मरण गर्न चाहन्छु । र, यसको छाताभित्र समेटिएका सबै ट्रेड युनियनहरू, तिनमा आबद्ध श्रमिकहरू र सम्पूर्ण श्रमजीवी जनसमुदायहरूलाई यस वर्ष को मे दिवसको अवसरमा म हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

१ मे २०२० (१९ वैशाख २०७७)