पाल्पा– खरका छाना भएका घरलाई गाउँपालिकाले अनुदान दिने भएको छ ।


ADVERTISEMENT


पुरानो शैलीमा निर्माण गरिएका खरका छानाका घर बर्सेनि छाना छाउनुपर्ने झन्झट रहेकाले खरको छाना विस्थापन गर्ने लक्ष्यका साथ पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले अनुदानको व्यवस्था गरेको हो ।


ADVERTISEMENT

# # #


प्रतिघर रु १५ हजारका दरले खरका छाना विस्थापन गर्न सहयोग पुगोस् भन्ने हेतुले गाउँपालिकाले अनुदान दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । यस आवमा प्रत्येक वडाका २५ वटा खरको छाना भएका घरलाई रु १५ हजारका दरले २०० घरलाई अनुदानको व्यवस्था गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।

गरिबी निवारण कार्यक्रमअन्तर्गत आगामी पाँच वर्षभित्र खरका छाना विस्थापन हुने योजना गाउँपालिकाले लिएको छ । गरिब र निमुखा परिवारले वर्षेनी खरको छाना लगाउन आर्थिकरुपमा समस्या हुने र घरमा पानी पनि चुहिने समस्या रहेको छ । रैनादेवी छहरा गाउँपालिकाभित्रका प्रत्येक वडालाई खरको छाना मुक्त घर बनाउने लक्ष्यका साथ यो अभियान सञ्चालनमा ल्याएको अध्यक्ष कार्कीले बताए ।

आर्थिकरुपमा पछाडि परेका विपन्न, गरिब, दलित समुदाय गाउँपालिकाले खरका छाना विस्थापन गर्न गाउँपालिकाको अनुदान पाउने भएपछि खुशी छन् । पछिल्ला वर्ष खरको छाना हाल्न कामदार, खर चोया, काठको समेत वर्षेनी अभाव बढेको छ ।

ढुंगा माटाका भित्ता, तलामा माटो र छाना खरको हुने भएकाले गर्मी र जाडोमा असर नगर्ने बसोबासलाई अति उत्तम रहे पनि खर्चको हिसाबले महँगो र आगोबाट सधैँ जोखिममा रहेको स्थानीय बासिन्दा पोषण रानाले बताए । रासस