सरकारले हालसम्म कूल ४९ हजार ३३६ बराबरको परीक्षण गरेकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पिसिआर परीक्षण सङ्ख्या नौ हजार ६६६ रहेको छ भने र्‍यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट गरिएको परीक्षण ३९ हजार ६७० पुगेको छ ।


ADVERTISEMENT


त्यस आधारमा कूल परीक्षण ४९ हजार ३३६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा मात्रै थप एक हजार ९४५ नमूना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेश नं १ मा कूल चार हजार १६० परीक्षण गरिएको छ । प्रदेश नं २ मा कूल पाँच हजार ४४, वाग्मती प्रदेशमा कूल सात हजार ४६७ परीक्षण गरिएको छ । त्यस्तै गण्डकी प्रदेशमा कूल चार हजार ८७१, प्रदेश नं ५ मा दुई हजार ९५०, कर्णाली प्रदेशमा चार हजार ९७४ र सुदूरपश्चिम प्रदेशमा कूल १० हजार २०४ नमूना परीक्षण गरिएको छ ।


ADVERTISEMENT

# # #


हालसम्म कूल १४ हजार ७३१ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै कूल ८७ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौँमा तीन र बाहिर ८४ रहेका छन् । पछिल्लो २४ घण्टामा मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा कूल एक हजार ९०० जनाले फोन सम्पर्क गरेका थिए । उक्त फोन सम्पर्कलाई सम्बन्धित चिकित्सकले आवश्यक समाधान गरेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

हालसम्म मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एपमा कूल २५ हजार ९०६ जनाले मूल्याङ्कन फाराम भरेकामा तीन जनाको अवस्था जोखिमपूर्ण देखिएकाले टे«सिङ गर्ने कार्य जारी रहेको छ । हालसम्म कूल रेड जोनमा भने २९० जना रहेका छन् । शुक्रबार साँझ झापाको दमकका एक ६५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ फेला परेको थियो । गत चैत ४ गते दुबईबाट नेपाल आएका ती पुरुषको छोरासहितको परीक्षण गर्दा ६५ वर्षीय पुरुषमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

यस्तै धौलागिरि अस्पतालले शुक्रबार साँझ नै एक कोरोना सङ्क्रमित युवतीलाई घर पठाइएको थियो भने भरतपुरमा उपचाररत २७ वर्षीय पुरुषको पनि घर पठाउने तयारी गरिएको छ । हालसम्म देशभर कूल ४९ जना कोरोना सङ्क्रमित देखिएकामा १२ निको भएर घर फर्किसकेका छन् । हाल धनगढीमा एक, वीरगञ्जमा पाँच भरतपुरमा एक विराटनगरमा ३० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उपचारमा रहेकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।

यस्तै हाल क्वारेन्टाइनमा रहेकाहरुको चेकजाँचका क्रममा औलो पोजेटिभ देखिएको भन्दै उनले गर्मीबढ्दै गएको अवस्थामा औलो रोगको जोखिम बढ्न जाने अवस्था रहेकाले त्यसबाट पनि सुरक्षित रहनसमेत आम जनसमुदायमा आग्रह गरे । आज संसारभर नै विश्व औलो दिवस मनाइएको छ । यस वर्षको औलो दिवसको नारा ‘आफैँबाट शुरु गरौँ, औलोलाई शुन्य बनाऔँ’ रहेको छ । संसारभर नै प्रतिदुई मिनेटमा औलाका कारण एक जनाको ज्यान जाने गरेको छ । लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले घर वरपर विशेष स्वास्थ्य सफाइ गर्नसमेत सो अवसरमा प्रवक्ता डा देवकोटाले आग्रह गरे ।

नेपालले सन् २०२५ सम्म औलो पूर्णरुपमा उन्मूलन गर्ने लक्ष्य राखेको उनको भनाइ छ । “गर्मी याम शुरु भएकाले क्वारेन्टाइनमा रहेकाकोसमेत औलोको परीक्षण गरिएको छ, औलोको जोखिमबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ”, प्रवक्ता डा देवकोटाले भने । औलोबाट विशेष गरी गर्भवती महिला र बच्चालाई जोगाउनुपर्ने जानकारी दिँदै उहाँले कोभिड– १९ बाट जोगिँदै गर्दा औलोको पनि जोखिम बढ्न सक्ने भएकाले त्यसमा विशेष ध्यान दिन आग्रह गरे ।

पत्रकार सम्मेलनमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा जागेश्वर गौतमले लकडाउनको समयमा घरमै रहँदा गर्भवती महिलाले स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे । उनले स्यानिटाइजर तथा हात साबुन पानीले हात धुन, सकभर भिडभाडमा नजान, चिकित्सकले दिएको औषधि नियमित सेवन गर्नसमेत आग्रह गरे ।

उनले ठूलो समस्या नपरी अस्पताल नजान आग्रह गर्दै ज्वरो आए, प्रेसर बढ्यो शरीर सुन्निएको अवस्थामा भने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल आउनसमेत आग्रह गरे । गर्भवती महिलालाई केन्द्रित गरेर नै अस्पतालले सेवा दिएको उल्लेख गर्दै उनले कोभिड– १९ भएका गर्भवती महिलालाई समेत आवश्यक सेवा दिने गरी श्यया तयार गरिएको र चिकित्सकको समेत व्यवस्था गरिएको जानकारी दिए । रासस