काठमाडौँ — काठमाडौं महानगरपालिकाको समन्वयमा उपत्यकाका आठ स्थानबाट तरकारीको थोक बिक्री सुरु भएको छ । थप तीन स्थानमा भने आइतबारसम्म सुरु हुने महानगरका कृषि प्रमुख हरिबहादुर भण्डारीले बताए । तीन वटा पार्टी प्यालेसबाट पनि तरकारी बिक्री सुरु गरिँदै छ । ती ठाउँमा अहिले बिजुलीको समस्या देखिएको र बत्ती जडान हुनासाथ बिक्री सुरु गरिनेछ ।


ADVERTISEMENT


‘उपत्यकाका ११ स्थानबाट तरकारीको थोक बिक्री सुरु गर्न लागिएको हो,’ भण्डारीले भने, ‘चैत २५ को निर्णयअनुसार काम सुरु भएको छ। रत्नपार्क र लैनचौरमा शनिबारबाट बिक्री सुरु भएको छ।’ तीनकुनेमा त्यहीँ रहेको तरकारी बजारबाहिर थप गरिएको छ। ६ ठाउँमा कालीमाटी फलफूल तथा तरकारी बजार, चार ठाउँमा बल्खु र एक ठाउँमा गैरआवासीय नेपाली संघअन्तर्गतको मुना कृषि लिमिटेडले तरकारी बिक्री गर्ने जिम्मा लिएका छन्। मुनाले वसुन्धराको यती पार्टी प्यालेसमा व्यवस्थित तरिकाले तरकारी बिक्री गर्न लागेको भण्डारीले बताए। ‘पहिला भनेका ठाउँ केही तलमाथि परे,’ उनले भने, ‘११ मध्ये तीन वटा बाफल, वसुन्धरा र गोपीकृष्णको नवदुर्गा पार्टी प्यालेसबाट तरकारी उपलब्ध गराइनेछ।’


ADVERTISEMENT

# # #


मदननगर, कलंकी, बाफलचोक, स्वयम्भूचोक, वनस्थली र नवदुर्गा पार्टी प्यालेसमा कालीमाटीका व्यवसायीले तरकारी बिक्रीको व्यवस्थापन गर्नेछन्। लैनचौर, अस्थायी बसपार्क रत्नपार्क, तीनकुने र कोटेश्वरमा बल्खुका व्यवसायीले व्यवस्थापन गर्ने उनले बताए। बाफल, मदननगर, चाबहिल र बसुन्धरामा बिक्री सुरु भएको छैन। कोभिड–१९ का कारण भिड कम गराउन बजार विस्तार गरिएको भण्डारीको भनाइ छ।

‘यो अस्थायी बजार हो, अवस्था सहज भएपछि पहिल्यैको ठाउँमा गएर व्यवसायीले काम गर्न पाउनेछन्,’ उनले भने, ‘कुनै पनि ठाउँमा व्यवसाय बन्द गर्ने उद्देश्य होइन।’ तरकारी बोक्ने गाडी धेरै भएकाले पासको समस्या भएको र यसबारे प्रशासनसँग छलफल भइरहेको उनले बताए। अहिले यी बजारका लागि बिहान २ देखि ८ बजेसम्म खुल्ने समय तोकिएको छ।

तरकारी बिक्रीका लागि जति पार्टी प्यालेस चाहिन्छ, उपलब्ध गराउन तयार रहेको पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौंका उपाध्यक्ष तेबिन्द्ररत्न शाक्यले बताए। ‘बत्ती, शौचालय र हातधुने साबुनपानीको व्यवस्था गरिदिन हामी तयार छौं,’ उनले भने। हल दिन नमिले पनि पार्टी प्यालेस परिसरमा बिक्री गर्न मिल्ने उनको भनाइ छ। ‘काठमाडौंमा १ सय ६० वटा पार्टी प्यालेस हामीसँग आबद्ध छन्,’ शाक्यले भने, ‘आवश्यक परे सबैमा बजार व्यवस्थापन गराउन सकिन्छ।’

शारीरिक दूरी कायम हुने गरी तरकारी बिक्री गर्ने ठाउँको व्यवस्थापन गर्न खोजिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए। महानगरका कृषि प्रमुख भण्डारीको संयोजकत्वमा केही दिनअघि बनेको सात सदस्यीय अनुगमन समितिले उपभोक्तालाई तरकारी पसलबाट सुविधा दिइएको छरछैन, शारीरिक दूरी कायम भएको छरछैनलगायत विषयमा अनुगमन गर्नेछ।

स्रोत : इकान्तिपुर