सुर्खेत – नेपाल प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीतिमा केही परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई प्रहरीले कोराना सम्बन्धी सचेतना दिने नीति लिएको हो ।


ADVERTISEMENT


नोवेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि गरेको बन्दबन्दी पालना नगर्नेहरुलाई प्रहरीले सचेतना दिने नीति लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बन्दबन्दीको समयमा अनावश्यक सडकमा आवतजावत गर्ने, बाहाना गरेर सडकमा आउने र रमिता हेर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई कोरोना भाइरस सम्बन्धी सचेतना दिने गरेको सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए ।


ADVERTISEMENT

# # #


“हामीले नियन्त्रणमा लिएका नागरिकलाई दुई÷तीन घण्टा पोष्टमा राखेर कोरोना भाइरसको विश्वव्यापी समस्या र त्यसको प्रभावबारे जानकारी गराएका छौं,” उनले भने, “विशेषगरी हाम्रा लागि बन्दाबन्दीको फाइदा के, यसमा अपनाउनुपर्ने सावधानीका विषयमा समेत सडकबाटै उनीहरुलाई सूचित गराएको छ ।”

बन्दाबन्दी भएदेखि मङ्गलबारसम्म प्रहरीले एक हजार ५६ जनालाई कोरोना भाइरस सङ्क्रमण तथा बन्दीबन्दीका सन्दर्भमा सडकमै सचेतना दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । उनले हालसम्म नियन्त्रणमा लिएका ३५८ महिला र ६९८ पुरुषलाई कारवाही स्वरुप सचेतना दिएर घर पठाइएको बताए । उनले भने, “यो बेला कसैलाई दुःख दिने नभई आफैले बुझ्ने, अरुलाई बुझाउने र सहयोग गर्ने बखत हो । यसको परिवेश र परिस्थितलाई बुझेर बन्दको अवज्ञा गर्ने जो सुकैलाई कोरोना भाइरस प्रकोपबारे जानकारी दिएर पठाएका छौं ।” उनका अनुसार अहिलेसम्म प्रहरीले करिब २५३ सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरिएको छ ।

अत्यावश्यक काममा निस्केकालाई नरोकिएको तर अनावश्यक सडकमा निस्कने र भीड जम्मा गर्नेलाई मात्र नियन्त्रणमा लिने काम गरिएको उनले बताए । सर्वसाधारण नेपाली नागरिकका लागि बिहान ७ देखि ८ र दिउँसो एकदेखि तीन बजेसम्म खाद्य वस्तु किनेबेच गर्ने समय व्यवस्था गरिएको प्रहरीले जनाएको छ । प्रहरीले दुई-तीन घण्टा सडकमा राखेपनि कोरोना महामारीका विषयमा अझ बढी प्रष्ट हुन पाइएको स्थानीयवासीले बताएका छन् । रासस