बेइजिङ – अफ्रिकन नागरिकलाई कोरोना भाइरस संक्रमणको उपचारमा भेदभाव गरेको आरोप खेपिरहेको चीनले उक्त महादेश र त्यसका सदस्य राष्ट्रसँग कुटनीतिक संकट ब्यहोरिरहेको दावी अमेरिकी समाचार संस्था सीएनएनले गरेको छ।


ADVERTISEMENT


चीनमा रहेका अफ्रिकन नागरिकलाई उपचारमा विभेद गरेको आरोप चिनियाँ पक्षमाथी छ।यसले अफ्रिकाभर चीनप्रति दरार उत्पन्न गरेको दावी गरिएको छ।


ADVERTISEMENT

# # #


गत साता दक्षिण चीनमा रहेका अफ्रिकन विधार्थीलाई जबर्जस्ती कोरोना परिक्षण र क्वारेन्टाइनमा राखिएको जनाइएको छ। ट्राभल हिस्ट्रि नहेरी अफ्रिकन र विदेशी भएकै भरमा उनिहरुलाई परिक्षण र क्वारेन्टाइनमा सामेल गराइएको जनाइएको छ। बाहिरबाट कोरोना भित्रन सक्नेभन्दै चीनले विदेशी नागरिकमाथि परिक्षणमा कडाई गरिएको बताइएपनि अफ्रिकाले भने यसलाई दुर्व्यवहारका रुपमा बुझेको छ।

चीनमा रहेका अफ्रिकन नागरिकहरु ठुलो संख्यामा घरबिहिन भएको र होटलले समेत लिन नमानेको सीएनएनले उल्लेख गरेको छ। केही दिनअघि चिनियाँ राष्ट्रपति सी जिन पिङले आफ्नो देशमा दोस्रो चरणको कोरोना महामारी देखिन सक्ने भन्दै विदेशी नागरिकमाथी निगरानी बढाउन निर्देशन दिएका थिए।

अफ्रिकाका सरकार तथा मिडियाले चिनियाँ व्यवहारको विरोध गरेका छन्। क्वारेन्टाइनका नाममा घरभित्र थुनिएको, प्रहरीद्धारा दुर्व्यवहार भएको, घरबिहिन भएपछि सडकमा सुत्नु परेका तस्विरहरु अफ्रिकी सन्चार माध्यममा छाएका छन्।

शनिबार केन्याको एक चर्चित अखबारको पहिलो पृष्ठमा छापिएको समाचारको हेडलाइन थियो- चीनमा रहेका केन्याली- हामीलाई नर्कबाट उद्धार गर्नुस्।

केन्याका एक सांसदले उक्त समाचारको पृष्ठभुभीमा आफ्नो देशमा रहेका चिनियाँ नागरिकलाई तत्काल बाहिरिन माग गरेका थिए। दक्षिण अफ्रिका, नाइजेरिया र युगाण्डाका सञ्चार माध्यमले समेत चिनको त्यस्तो व्यवहारको निन्दा गर्दै समाचार प्रकाशित गरेका छन्।

पछिल्लो समय अफ्रिका चीनको महत्वपुर्ण कुटनीतिक क्षेत्र मानिन्छ। चीनले सन् २०१९ मा मात्र अफ्रिकासँग २ सय ८ बिलियन अमेरिकी डलरको ब्यापार गरेको थियो। चीनमा रहेका विदेशी नागरिकलाई दुर्व्यवहार भएको सम्बन्धमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरेपछि बेइजिङले त्यसको खण्डन गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्-हामी अझैपनि विदेशबाट संक्रमण भित्रन सक्ने ठुलो जोखिममा छौँ। कोरोना महामारी विश्व व्यापी फैलिरहँदा बाहिरबाट संक्रमण भित्रन सक्ने र त्यसलाई रोक्न ठुलो चुनौती छ। तर हामीले सबै विदेशी नागरिकलाई समान व्यवहार गरेका छौँ। हामीले उपचारमा पनि विभेद गरेका छैनौँ।