काभ्रे – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ ।


ADVERTISEMENT


सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका दुई जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी)मा कोरोना भाइरस देखिएका कारण अस्पताल भर्ना गरिएपछि उनी हिजै काभ्रेपलाञ्चोकको धुलिखेलस्थित घर आएका थिए । र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका मध्ये दुईजनामा पीसीआर प्रविधिबाट परीक्षण गर्दा पनि पोजेटिभ आएपछि प्रहरीले उक्त अपार्टमेन्टबाट आएका ती युवालाई पनि निगरानीमा राखेको हो ।


ADVERTISEMENT

# # #


धुलिखेल नपा–७ सरस्वती बजारमा ती पुरुषको निगरानी गर्न हिजो साँझदेखि नै प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, “सूचना पाउनासाथ हिजैदेखि प्रहरीले निगरानी गरिरहेका छन्, उनको आज प्रहरीकै निगरानीमा कोरोना भाइरस परीक्षण गर्नेछौँ ।” उनका अनुसार उनलाई घरमा छुट्टै तरिकाले बस्न लगाइएको छ ।

संक्रमण देखिएका कोरोना भाइरस देखिएका आमा, छोरा र ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ । कोगेश्वरी मनोहरा नगरका अनुसार सोमबार मुलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ को परीक्षण गर्दा तीन जनाको ‘रिपोर्ट पोजेटिभ’ आएको थियो । तर, पुनः परीक्षण गर्दा आमा र छोरामा रिर्पोट पोजेटिभ देखिएपछि उनीहरु बस्ने अपार्टमेन्टमा सोमबार नै ‘सिल’ गरिएको छ । पाँचवटा सनसिटी टावरमा करिव ५०० परिवारको क्षमता रहेको फ्ल्याट छन् ।

आइतबारदेखि काभ्रेमा विदेशबाट फर्किएकाहरुको र्‍यापिड टेष्ट

यसैबीच काभ्रेपलाञ्चोकमा आइतबारदेखि विदेशबाट फर्किएकाहरुको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) थालिएको छ । हालसम्म ९७ जनाको आरडिटी भएको जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार आरडिटी स्थानीय तहमै गरिएको हो ।

कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि विदेशबाट काभ्रेपलाञ्चोकमा घर फर्किएर एकान्तवास (होम क्वारेन्टाइन)मा राखिएका सबैको आरडिटी गर्न थालिएको हो । कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएको तथ्याङ्क प्राप्त भएको छ । यसमध्ये चैत महिनामा मात्रै २५१ जना विदेशबाट घर फर्किएको सम्पर्कमा ल्याइएको हो ।

झाले घर फर्केका सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको र यसअघि उनीहरुको स्थानीय स्वास्थ्यकर्मीले निगरानी गरिरहेको बताए । उनका अनुसार हालसम्म पाँचखाल नपाका २७, बनेपा नपाका १७, पनौती नपाका १७, धुलिखेल नपाका १८ तथा महाभारत गाउँपालिकाका पाँच, चौँरी देउरालीका पाँच, बेथानचोकका चार र रोशी गाउँपालिकाका चार जनाको आरडिटी परीक्षण भएको र उनीहरुको ‘रिपोर्ट नेगेटिभ’ आएको छ ।

वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले गत हप्ता आरडिटीका लागि काभ्रेपलाञ्चोकमा ३०० किट उपलब्ध गराएको थियो । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् । रासस