विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना संक्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रीत भएको बताएका छन् ।


ADVERTISEMENT


कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनका साथै बढीभन्दा बढी शंकास्पद व्यक्तिको परीक्षण गर्ने कुरामा सरकारको ध्यान गएको उनले बताए । ‘धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दिनमा १२ जनाको दरले स्वाब टेस्ट भइरहेको छ’ उनले भने, ‘शुक्रबारबाट कोशी अस्पतालबाट कम्तिमा दिनमा ९६ जनाको स्वाब परीक्षण हुने गरी ल्याब संचालनमा आएको छ ।’


ADVERTISEMENT

# # #


मुख्यमन्त्री राईले शुक्रबार नै उक्त ल्याबको निरीक्षण गर्दै भने, ‘आजबाटै र्‍यापिड डाइग्नोष्टिक टेष्टको शुरुवात गरिएको छ । पहिलो चरणमा क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण कार्य आजबाटै शुरु भएको छ ।’ केही दिनभित्रै झण्डै ६ हजार जनाको कोरोना ल्याब टेष्ट गर्न सकिने र यसलाई तीव्र्र गति दिइने मुख्यमन्त्रीको भनाई छ ।

शुक्रबारसम्म १ सय ८० जनाको ‘थ्रोट स्वाब’ संकलन गरिएको छ भने १ सय ५२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सबै ठाउँ पठाइएको मुख्यमन्त्रीले बताए ।

प्रदेशका ४८ स्थानमा ४ सय ३२ आइसोलेशन बेड बनेका छन् भने ४४ बेड संख्याको आइसियू तयार भएका छन् । २ सय ६१ ठाउँमा ४ हजार १ सय ९८ वटा क्यारेन्टाईन बेड बनेका छन् । यी क्वारेन्टाईनमा ६ सय ८ जना बसेको मुख्यमन्त्री राईले बताएका छन् । यस्तै प्रदेश १ मा ‘होम क्वारेन्टाईन’मा ३ हजार २ सय ९५ जना बसेको उनले जनाएका छन् ।

यस्तै प्रदेश सरकारले स्थापना गरेको प्रदेश १ जनसुरक्षा कोषमा १२ करोड ८७ लाख ६६ हजार ६ सय ५३ रुपैयाँ जम्मा भएको पनि मुख्यमन्त्री राईले जानकारी दिए । यस्तै कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि उपचारमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुका लागि केन्द्र सरकारसँग दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ताको व्यवस्था गरिएको मुख्यमन्त्री राईले जनाएका छन् ।

यस्तै उक्त कार्यमा संलग्न रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको कोरोना संक्रमणका कारण मृत्यु भएमा पीडित परिवारलाई प्रदेश सरकारको तर्फबाट एकमुष्ट रु. ५० लाख प्रदान गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्री राईले बताए ।

उनले कोरोना संक्रमणबाट बच्नका लागि केन्द्र तथा प्रदेश सरकारले जारी गरेका नीति, निर्देन तथा नियमको पालना गर्न पनि प्रदेशवासीलाई आग्रह गरे ।