काठमाडौँ– राष्ट्रिय जनता पार्टी (राजपा)ले स्थानीय तह तेस्रो चरणको निर्वाचनसहित सबै निर्वाचनमा भाग लिने भएको छ ।


ADVERTISEMENT


राजपाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्थानीय चुनावदेखि प्रदेश र संसदीय चुनावमा भाग लिने औपचारिक जानकारी गराएको हो । बुधबार सम्पन्न पदाधिकारी बैठकको निर्णय सार्वजिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले आफूहरुको केही माग सरकारले पूरा गरेकोले निर्वाचनमा सहभागी हुने बताए ।


ADVERTISEMENT

# # #


परिस्थिति फेरिएकोले पार्टीले चुनावमा जाने निर्णय गरेको भन्दै पार्टीले उठाएका मुद्दाहरुलाई शान्तिपूर्ण आन्दोलनमार्फत् कार्यान्वयन गराउन लागिपर्ने ठाकुरको भनाइ छ । उनका अनुसार तराईमा स्थानीय तहको संख्या थपिनु, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा, घाइतेको उपचार, अपाङ्गता भएकाको सरकारबाट भरणपोषण व्यवस्था मिलाउनु राजपा आन्दोलनको उपलब्धि हुन् ।

संयोजक ठाकुरले आगामी असोज २ गते हुने प्रदेश २ को स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन गर्न आठवटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको बताए । राजपाले माग्दै आएको चुनाव चिह्न छाता निर्वाचन आयोगले नदिएपछि उसले साइकल चुनाव चिह्न रोजेको छ । साइकल चुनाव चिह्न यसअघि एकीकृत पार्टीमा सामेल शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)ले प्रयोग गरेको थियो ।