विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा पनि देखिएको छ । अन्य देशमा संक्रमण तीव्र गतिमा फैलिरहँदा चीनमा भने यो भाइरस लगभग नियन्त्रणमा आइसकेको छ । चीनको कोरोनाविरुद्धको अनुभव र सफलता, यसको नेपालका लागि उपायोगिता लगायतका विषयमा नेपालका चिनियाँ राजदूत होउ यांकीसँग गरिएको कुराकानी ।


ADVERTISEMENT


चीनमा कोरोना भाइरस (कोभिड १९)को पछिल्लो अवस्था र यस महामारीविरुद्ध लड्नका लागि चीनको अन्तर्राष्ट्रिय समवन्वयका बारेमा बताइदिनुहोस् न ।


ADVERTISEMENT

# # #


चिनियाँ राष्ट्रपति सी जिङ पिङको नेतृत्व र निर्देशनमा चिनियाँ सरकार र जनताको कठिन मेहनेत र लगावका कारण चीनमा महामारीको अवस्था स्थिर र सकारात्मक दिशातिर गइरहेको छ । अहिले ७६ हजारभन्दा बढी संक्रमितहरु निको भएर घर फर्किएका छन् । फाट्टफुट्ट केही संक्रमितहरु देखिएपनि देशमा महामारीको फैलावट सामान्य अवस्थामा रहेको छ ।

तर, यता विश्वभर नै महामारीले उग्र रुप लिएको छ । त्यस कारण हामी केही आयातित ‘केस’हरुको न्यूनीकरणको लागि केही चुनौतिको सामना गरिरहेका छौँ । अप्रिल ४ सम्म चिनियाँ भूमीमा ९१३ वटा आयातित संक्रमित ‘केस’ देखिएका छन् । कोभिड–१९ विरुद्धको लडाईंमा चीन आफ्नो कठिन अवस्थामा रहेका बेला नेपाल लगायतका अन्तर्राष्ट्रिय समुदायले अमूल्य साथ र सहयोग गरे । चीन यसप्रति कृतज्ञ छ र सँधै अरुको सहृदयता स्वीकार्दछ । कोभिड–१९ विरुद्ध चीनको लडाईं अझै समाप्त भएको छैन ।

अहिले हामी आयातित केस र पूराना केसहरुलाई सुल्झाउने दबाबमा छौँ, साथै मेडिकल उपकरणको माग उच्च भएकाले त्यसतर्फ पनि ध्यान छ । यति हुँदाहुँदै पनि चीन सरकारले १२०  बढी देश र विभिन्न संघ संस्थालाई सर्जिकल र एन-९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई), टेस्ट किट, र अन्य सहायक स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको छ । साथसाथै तिनको व्यावसायिक खरिदका लागि हामीले सहायता प्रदान गरेका छौँ  । रिमोट भिडियो कन्फेरेन्सका माध्यमबाट पनि हामीले महामारीको रोकथाम र नियन्त्रणका लागि हामीले हासिल गरेका अनुभवहरु बाँडिरहेका छौँ ।

कतिपयले चीनले कोभिड–१९ रोक्ने नाममा अन्य देशमा आफ्नो सहयोगी पठाउनु ‘राजनीतिक प्रोगान्डा’ भनेका छन् । कतिपयले चीनको उपस्थितिप्रति नै शंका व्यक्त गरेका छन् । यसबारे के भन्नुहुन्छ ?

अहिले मानव जीवन ‘ग्लोबल भिलेज’का रुपमा एउटा समूदायमा बाँचिरहेको छ । महामारी फैलिएदेखि नै चीन खुला, पारदर्शी र जिम्मेवारीपूर्वक आफ्ना काम पूरा गरिरहेको छ । हामीले महामारीबारे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्य अन्तर्राष्ट्रिय समुदायलाई समयमै खबर मात्रै गरेनौँ, हामीले त्यसको रोकथाम र नियन्त्रणका लागि सबैभन्दा मजबुत उपाय लगाउनुका साथै महान बलिदान र योगदान दियौँ ।

‘द जर्नल अफ साइन्स’ले अनुसन्धाताले अमेरिका, बेलायत र अन्य देशमा गरेको अनसन्धानलाई प्रकाशित गर्दै चीनले सफलतापूर्वक संक्रमणलाई तोडेर अन्य देशलाई बहुमूल्य समय दिएको बताएको छ । चीनले कहिल्यै पनि ‘चीन पहिलो’ नीति अपनाएको छैन । चीनबाट गएका सबै सहयोगीहरु कुनैपनि राजनीतिक हिसाबले पठाइएको होइनन् । बरु उनीहरु एउटा उत्तरदायी देशको हिसाबले विश्व जनस्वास्थ्यलाई बचाउने योगदान गर्न गएका हुन् । अन्तर्राष्ट्रिय समुदायले त्यसको श्रेय हामीलाई दिनेछ ।

पूर्वाग्रही उद्देश्यले प्रेरित केही विशिष्ट व्यक्ति र शक्तिहरु जो अर्काको निन्दा गर्ने र जुन कुरामा पनि दोष दिनका लागि भरपूर प्रयास गरिरहेका छन् । तर, एउटा कुरा के स्पष्ट छ भने उनीहरु जे गरिरहेका छन्, त्यसले महामारी रोक्नका लागि कुनैपनि सहयोग गर्न सक्दैन, बरु कयौँ जीवनलाई समाप्त पार्छ । हामीलाई विश्वास छ, सबै देशहरुले मानिसको जीवन बचाउनका लागि सर्वोच्च प्रयास गर्नेछन्, महामारी विरुद्ध लड्नका लागि ध्यान केन्द्रित गर्नेछन् र यो लडाईं जित्नका लागि हातमा हात दिएर लाग्नेछन् ।

कोरोनाको संक्रमण न्यूनीकरणका लागि नेपाल सरकारले देशभर पूर्ण रुपमा ‘लकडाउन’ गरेको छ । यसका साथै सबै अन्तर्राष्ट्रिय हवाई उडानसमेत स्थगित भएका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

महामारीको प्रकोपपछि नेपाल सरकारले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्च स्तरीय समवन्वय समिति गठन गरेको छ । जसले समयमै उपयुक्त निर्णयका साथ जानकारी प्रदान गर्ने, प्रयोगशाला परीक्षणको क्षमता सुधार गर्ने, अस्पतालको देशव्यापी नेटवर्क स्थापना गर्ने र कोरोना पुष्टि भएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रयासिङ’ गर्दै उनीहरुलाई ‘आइशोलसन’ र ‘सेल्फ आइसोलेसन’मा राख्ने काम गरिरहेको छ ।

देशव्यापी लकडाउन र अन्तर्राष्ट्रिय व्यापारिक हवाई उडान निलम्बनले घर र विदेशमा मानिसहरुको चलायमानलाई रोकेको छ । जसले संंक्रमण रोक्नका लागि उत्तिकै योगदान दिइरहेको छ । यस्तै नेपाल सरकारले जनताका आधारभूत आवश्यकता परिपूर्तीका लागि आपूर्ती सुनिश्चित गर्दै विपन्न परिवारका लागि विभिन्न राहत प्याकेज घोषणा गरेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनता सबैले यस महामारीविरुद्ध लड्नका लागि सकारलाई साथ दिइरहेको हामीले पाएका छौँ । विभिन्न संघसंस्था तथा व्यक्तिहरुले विपन्न र असहायहरुका लागि आवश्यक सहयोग गरिरहेको हामीले पाएका छौँ ।

हामी बुझ्दछौँ र समर्थन गर्दछौँ कि नेपाल सरकार यस महामारी रोक्नका लागि तथा आफ्ना नागरिकको जीवन रक्षाका लागि आफ्नो राष्ट्रिय परिस्थितिको आधारमा उपायहरु अपनाइरहेको छ । यस दौरान लकडाउनका कारण नेपालमा केही चिनियाँ नागरिक फसेका छन् । उनीहरुको सुरक्षा र कल्याणका लागि हामी सरकारी विभागहरुसँग मिलेर काम गरिरहेका छौँ ।

महामारीविरुद्ध लड्नका लागि चीनले नेपाललाई के सहयोग गरेको छ र भोलिका दिनमा के गर्नेछ ?

जतिबेला चीन महामारीविरुद्धको लडाईंमा कठिन चुनौतिको सामना गरिरहेको थियो, त्यतीबेला नेपालले चीनलाई महत्वपूर्ण सहयोग गर्‍यो । जसलाई चीन कहिल्यै बिर्सिनेछैन । अहिले नेपाल महामारीको चपेटाको संघारमा छ । नेपाललाई सहयोग गर्नका लागि चीन पूरै कोसिस गरिरहेको छ ।

हाम्रो राजदूतावासले सम्बन्धित मन्त्रालयसँग मिलेर संयुक्त कार्यदल समिति गठन गरेको छ । जसले महामारीको रोकथाम तथा नियन्त्रणका लागि, संक्रमितको उपचारका लागि र आवश्यक उपकरणको उपलब्धताका लागि आफ्ना अनुभव, सूचना, जानकारीहरु भिडियोका माध्यमबाट साझेदार गरिरहेको छ ।

चीनको संघीय सरकार नेपाललाई आवश्यक भौतिक सहयोग प्रदान गर्नेछ जसका लागि दुबै पक्षबीच सम्पर्क भइरहेको छ । यस्तै चीनका केही स्थानीय सरकार र नागरिक समाजले नेपालका लागि चाहिने आवश्यक सामग्री जुटाउने प्रक्रिया अघि बढाएका छन् । स्थानीय सरकार र सरकारी संस्थाहरुद्वारा जुटाइएका सामानको पहिलो किस्तास्वरुप २९ मार्चको बिहानै नेपाल पुगिसकेर सरकार वितरण पनि गरिएको छ । मलाई जानकारीमा आएसम्म युनान प्रदेश र केही चिनियाँ उद्योगीहरुले नेपाललाई मेडिकल सामग्रीहरु सहयोग गर्ने वाचा गरेका छन् । तर, अहिलेको कठिन परिस्थिति भनेको पारवाहनको हो । चिनियाँ दूतावास त्यसका लागि ती सामग्रीको ढुवानीका लागि सम्बन्धित सबै पक्षसँग कुराकानी गरिरहेको छ ।

भविष्यमा महामारीको अवस्था र नेपालको आवश्यकतालाई हेरेर अनुभव र जनशक्तिको मजबुत बनाउनका लागि तथा महामारी रोकथामका लागि ‘भिडियो कनेक्सन’ र अन्य संसाधन अपनाउने काम जारी राख्नेछौँ ।

नेपालले चीनबाट भर्खरै केही मेडिकल सामग्रीहरु खरिद गरेको थियो । त्यसको अहिले विरोध भइरहेको छ । नेपालले के ती सामग्री  चीनले सिफारिस गरेको ‘च्यानल’बाट खरिद गरेको थियो ? के चीनले निर्यात गरेका ती सामग्रीले गुणस्तरीय मापदण्ड पूरा गर्छन् ?

सम्बन्धित प्रक्रिया अनुसार यदि कुनै देश कुटनीतिक च्यानलका माध्यामबाट खरिद गर्ने माग गर्छ भने दूतावासले केन्द्रलाई रिर्पोट गर्छ र स्तरीय वितरकको सूची प्रदान गर्छ ।

अप्रिल २ मा नेपालले आफ्नो बेइजिङस्थित दूतावासमार्फत मेडिकल उपकरणको व्यावसायिक माग गरेको थियो । चिनियाँ वाणिज्य मन्त्रालयले अहिले त्यसमा काम गरिरहेको छ । यो बिल्कुल सामान्य हो कि सबै देशमा मेडिकल साम्रगीको गुणस्तरको मानक भिन्नाभिन्नै हुन्छ । तर, चीन गुणस्तरमा निकै महत्व दिन्छ । चीनमा गुणस्तरीय मापदण्ड पूरा नगरेका सामग्री निर्यात गर्ने अनुमति छैन ।

त्यसका लागि सम्बन्धित निकायले कठोर उपाय अपनाइरहेका हुन्छन् । मेडिकल सामग्री निर्यात गर्ने कम्पनीले निर्यात गर्दा लिखित या डिजिटल प्रारूपमा यो बताउनु आवश्यक हुन्छ कि उनीहरुले उत्पादन गरेका वा निर्यात गर्न लागेका वस्तु गुणस्तरप्राप्त प्रमाणपत्र उनीहरुसँग छ ।

यदि यी प्रक्रिया अन्तर्गत गुणस्तरीय मापदण्डमा कुनै समस्या आएमा त्यसका तथ्यमा आधारित रहेर त्यसको हल गरिन्छ । कही पश्चिमी मिडियाहरु तथ्यलाई पाउनु पहिलेनै अल्पनाका आधारमा तथाकथित गुणस्तरको मापदण्डको कुप्रचार गरिरहेका छन् । यहाँसम्म कि उनीहरु यसलाई समेत राजनीतिकरण गरिरहेका छन् । यो एकदमै गरैजिम्मेवारीपन हो । जुन महामारीविरुद्ध लड्नका लागि विल्कुल अनुकुल छैन ।

दक्षिण एशियाका सबै देशहरु यस महामारीबाट सिर्जित चुनौतिको सामना गरिरहेका छन् । सार्क राष्ट्रहरुले कोरोना भाइरसविरुद्ध लड्नका लागि संयुक्त भिडियो कन्फेरेन्स पनि गरे । चीन यसबारे सार्कसँग कुन पक्षमा सहकार्य गर्न सक्छ ?

अहिले दक्षिण एशियामा कोरोना भाइरस (कोभिड १९)का ७ हजारभन्दा बढी ‘केस’हरु देखिएका छन् । चीन दक्षिण एशिया र सार्कको पर्यवेक्षकका रूपमा आपसी सहायता र एकजुटताको छिमेकी हो ।

महामारीको प्रकोपपछि चीनले मानव जातीका लागि एक सामुदायिक भिजन बनाउँदै सार्क देशका साथ रोकथाम र नियन्त्रणबारे नजिकको सहकार्य गरीरहेको छ । हामीले आफ्नो क्षमता अनुसार दक्षिण एशियाली देशहरुलाई बढीभन्दा बढी सहायता प्रदान गरिरकेका छौँ । २० मार्चमा चीनले १९ पूर्वी युरोपेली र दक्षिण एशियाली देशहरुसँग एक ‘भिडियो कन्फेरेन्स’ गरेको थियो । जसमा चिनियाँ स्वास्थ्य विज्ञ र अन्य सम्ब्न्धित अधिकारीले महामारीको रोकथाम र नियंत्रण, उपचार, उपकरण सहायता र बंदरगाह निरीक्षण तथा क्वारेन्टाइन लगायतका विषयमा आफ्ना अनुभव र सीपहरु साझेदार गरेका थिए ।

कोभिड-१९ अहिले विश्वव्यापी रुपमा फैलिएको छ । ठूला जनसंख्या भएको दक्षिण एशियामा दबाब निकै छ । यहाँका सबै देशहरुले महामारीको रोकथाम तथा निन्त्रणका लागि कठोर उपायहरु पनि अपनाएका छन् । सार्कका सबै देशहरु र सार्क सचिवालयसँग नजिक रहेर सहकार्य गर्नका लागि चीन आफ्ना सबै संसाधान र च्यानलको भरपुर उपयोग जारी राख्नेछ । सार्कका सबै देशहरु र सार्क सचिवालयसँग नजिक रहेर सहकार्य गर्नका लागि चीन आफ्ना सबै संसाधान र च्यानलको भरपुर उपयोग जारी राख्नेछ । हामी महामारीको नियंत्रण र उपचारको लागि क्षेत्रीय स्तरमा संयुक्त नेटवर्क निर्माण गर्नसक्छौँ । जसले आपतकालीन अवस्थामा सार्वजनिक स्वास्थ्यको सुरक्षाका लागि शीघ्र काम गर्न सक्छ ।