काठमाडौँ – सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ ।


ADVERTISEMENT


आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीलाई पिपिइ अत्यावश्यक काममा मात्र प्रयोग गर्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले पिपिइ धेरैले नभएकाले बिरामीलाई मात्र समुचित प्रयोग गर्न आग्रह गरे । मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड– १९ को सङ्क्रमण दिनप्रतिदिन देखिन थालेकाले नमूना परीक्षणको दायरासमेत बढाइ क्वारेन्टाइन अवधि बढाइने जानकारी दिए ।

आज कैलालीमा दुई जना र कञ्चनपुरमा एक जना थप सङ्क्रमित देखिएका हुन् । कैलालीमा दुई जनामध्ये एक जना महिला पहिले सङ्क्रमित रहेको परिवारका सदस्य रहेको उनले बताए। “महिला बाहिर कहीँबाट आएको देखिँदैन । पहिले धनगढीमा देखिएको परिवारका सदस्य हुन्” उनले भने ।

उनका अनुसार सङ्क्रमण देखिएका तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनले एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण बढ्न नदिन क्वारेन्टाइनमा बस्न सर्वसाधारणलाई आग्रह गरे । उनले स्थानीय मानिसमा पनि सङ्क्रमण देखिएकोले क्वारेन्टाइनको अवधि बढ्ने बताए ।

डा. देवकोटाका अनुसार अहिलेसम्म एक हजार ४४१ को नमूना परीक्षण भएको छ भने १५ जना काठमाडौँमा र ५४ जना उपत्यका बाहिर आइसोलेसनमा रहेका छन् । यसैगरी मन्त्रालयको दुई वटा कल सेन्टरमा आज मात्र तीन हजार ४६५ जनाले प्रश्न सोधेका छन् ।

यसैगरी मन्त्रालयको वेबसाइट र मोबाइल एपमा राखिएको कोभिड– १९ को फाराम आफैले भरेर पठाउने छ हजार ५२७ जनामध्ये १२६ लाई रेड जोनमा राखिएको छ । परीक्षणका क्रममा ती मानिसमा ज्वरो, रुघाखोकी आउने गरेको उनले बताए। यसैगरी चितवन र बुटवलमा भोलि आइतबारदेखि कोभिड– १९ परीक्षण गरिनेछ । जनकपुर, हेटौँडा, धरान, पोखरा, धनगढी र सुर्खेतबाट यसअघि नै परीक्षण गरिएको थियो । रासस