काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा कोरोना भाइरस (कोभिड १९ )संक्रमित व्यक्ति नभेटिएको स्पष्ट पारेको छ । केही अनलाइन मिडियाहरुले शुक्रबार पोखरामा सातौँ कोरोना संक्रमित व्यक्ति भेटिएको गलत समाचार सम्प्रेषण गरेपछि स्वास्थ्य मन्त्रालयले पोखरामा कुनै कोरोना संक्रमित नभेटिएको बताएको हो ।


ADVERTISEMENT


शुक्रबार पत्रकार सम्मेलनमा बोल्दे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुरा स्पष्ट पारेका हुन् । उनले भने, ‘पोखरामा हालसम्म कुनैपनि पोजेटिभ केस छैन । अहिलेसम्म एक जना उपचारपछि घर फर्किएका बाहेक पाँच जनालाई मात्रै कोरोना संक्रमण रहेको छ ।’  यस्तै उनले शुक्रबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १२७७ जनाको कोरोना परीक्षण भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


यस्तै प्रदेशमा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगसँगै हेटौँडा, जनकपुर, सुर्खेत र धनगढीमा पनि कोरोना नमूना परीक्षण भइरहेको उनले बताए । डा. देवकोडाका अनुसार बुटवलमा चाँडै परीक्षण सञ्चालनमा ल्याउने उनले बताए । शुक्रबार धरानमा ३९ केस, जनकपुरमा ५ नमूना परीक्षण, हेटौँडामा ५, पोखरामा १९, सुर्खेतमा ७ र धनगढीमा चारवटा नमूना परीक्षण गरिएको उनले बताए ।

पहिलो संक्रमित व्यक्ति उपचारपछि घर फर्किसकेका छन् । उनी चीनबाट आएका थिए । यस्तै दोस्रो संक्रमण बाग्लुङकी एक १९ वर्षीय युवतीमा देखिएको थियो । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ जहाजबाट काठमाडौँ आएकी थिइन् । उनमा चैत १० गते कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

त्यस्तै तेस्रो व्यक्ति धादिङ, चौथो धनगढी र पाँचौँ बाग्लुङका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । यस्तै बिहीबार छैटौँ व्यक्तिका रुपमा बाग्लिुङकी एक ६५ वर्षीय वृद्धामा देखिएको थियो । उनी दोस्रो संक्रमितकी आफन्त हुन् जो ती युवती र चौथो संक्रमितसँग कतारबाट एउटै प्लेनमा आएकी थिइन् ।