काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले विद्युतीय प्रविधिको प्रयोग गरी ‘भिडियो कन्फरेन्स’ मार्फत सञ्चालक समितिको बैठक सञ्चालन गरेको छ । बैँकले बिहीबार २८९ औं बैठक भिडियो मार्फत गरेको हो ।


ADVERTISEMENT


बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक हो । नियमित बैठकको अलावा हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न समेत यो डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए।


ADVERTISEMENT

# # #


बैंकले हालसालै आफ्नो नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमद्वारा भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । बैंकलाई ‘डिजिटाइजेसन’ र ‘अटोमेसनको पायोनियर’ बनाउने लक्ष्यको कोसेढुङ्गोको रुपमा डिजिटल बैठकलाई लिएको बैंकका प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेतले बताए ।

गत कार्तिक २७ गते बैंकको वार्षिकोत्सव तथा भवन समुद्घाटन समारोहमा समेत अर्थमन्त्री डा. युवराज खतिवडाले एकै दिन ५० वटा शाखाको डिजिटल अनावरण गरेका थिए ।

आज सम्पन्न सञ्चालक समितिको बैठकले ग्राहकलाई थप सेवा सुविधा दिने बारे तथा देश लकडाउनमा परेका कारण पिडामा परेका गरिब तथा असहाय व्यक्ति तथा परिवारहरुको दैनिकी सञ्चालन तथा सहजीकरणको निमित्त वडा, गाउंपलिका तथा नगरपालिकाहरुसँग सहकार्य गर्दै अगाडि बढ्न बैंक व्यवस्थापनलाई निर्देशन समेत दिएको छ ।

यसै गरी मानिसहरुसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित हुने समस्यामा परेका जनावरहरुलाई सहयोग गर्न पनि बैंक व्यवस्थापनलाई निर्देशन गरेको बैंकका अध्यक्ष सुदिप आचार्यले जानकारी गराए ।

बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।