काठमाडौँ – टोखा नगरपालिकाले राहत सङ्कलन मापदण्ड तयार गरेको छ । टोखाको विपद् व्यवस्थापन समितिको बैठकले राहत सङ्कलन तथा वितरणका लागि मापदण्ड तयार गरेको हो । कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर नगरपालिकाका प्रमुखले संयोजन गर्ने गरी नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो ।


ADVERTISEMENT


नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नेपाल, प्रदेश र स्थानीय सरकारले परिभाषित गरेको कार्यविधिलाई एकीकृत गरेर त्यसका आधारमा समिति गठन गरिएको जानकारी दिए “ मापदण्डका आधारमा सङ्कलन भएको राहत नगरपालिकाको संयोजनमा गरिब, निमुखा र विपन्न परिवारलाई वितरण गरिने व्यवस्था मिलाएका छौँ,” उनले भने ।


ADVERTISEMENT

# # #


टोखाले तत्कालका लागि भैपरी आउने सम्भावित घटनालाई दृष्टिगत गर्दै प्रत्येक वडामा रु एक लाख रकम पठाउने निर्णय गरेको छ । प्रत्येक वडाबाट राहत वितरण गर्नेगरी मापदण्ड निर्माण गरिएको नगरप्रमुख अधिकारीको भनाइ छ ।

नगरपालिकाले राहत वितरणका लागि प्रत्येक वडामा ‘वडा स्वयम्सेवक दल’ गठन गर्ने भएको छ । आफ्नो वडाका व्यक्तिलाई घरबाट बाहिर ननिस्कन र राहत वितरणलाई प्रभावकारी बनाउन वडा स्वयम्सेवक दल निर्माण गर्न लागिएको हो । नगरपालिकाभित्र रहेर खान नपाएका गरिब, निमुखा तथा विपन्न परिवारलाई बिहान ५ देखि ८ बजेसम्म राहत वितरण गर्न लागिएको नगरप्रमुख अधिकारीले बताए । राहत मापदण्डअनुसार कुपन बनाएर कुपनअनुसार राहत वितरण गर्ने तयारी भएको छ । सो नगरपालिकामा ११ वडा छन् ।

विदेशबाट आएका ६ जना क्वारेन्टाइनमा

नगरपालिकाले विदेशबाट भर्खरै नेपाल आएका व्यक्तिको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । विशेषत ः विदेशबाट आउने व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको सम्भावना धेरै हुने भएपछि विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।

हालसम्म विदेशबाट आउने ६ जनालाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाका उपप्रमुख डङ्गोलले जानकारी दिनुभयो । “तिलिङ्गाटार माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा विदेशबाट आएका ६ जनालाई राखेका छौँ”, उनले भने, टोखाले हाल आफ्नो नगरपालिकाभित्र ३८ श्ययाको क्वारेन्टाइनस्थल निर्माण गरिसकेको छ । नगरपालिकाले तिलिङ्गाटार माविमा २५, टोखा प्राथमिक स्वास्थ्य केन्द्र टोखा बजारमा १० र झोर स्वास्थ्य चौकीमा तीन श्ययाको क्वारेन्टाइन निर्माण गरेको हो ।

नगरपालिकाभित्र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालनमा छ । उक्त अस्पतालले ३० श्ययाको क्वारेन्टाइन निर्माण गरिसकेको अस्पतालका अध्यक्ष दीपक कुँवरले राससलाई जानकारी दिनुभयो । टोखाले गम्भीर प्रकारको ज्वरो आए उक्त बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउँदै आएको छ ।

नगरपालिकाभित्रका २० स्थानमा हात धुनका लागि पानीका धारा जडान गरिएको छ । नगरपालिकाका सबै चोकमा पानीका धारा जडान गरिएको हो । नगरपालिकाका प्रमुख अधिकारीले सरकारले नै कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चैत २५ गतेसम्म लकडाउन घोषणा गरेकाले लक डाउनको समयमा कोही पनि घरबाट बाहिर ननिस्कन आग्रहसमेत गरे ।
रासस