रमेश लम्साल, काठमाडौँ – सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन साताव्यापी लकडाउन गरेको छ । यही मौकामा केही व्यापारीले गैरकानूनी रुपमा बढी नाफासमेत कमाउन थालेका छन् ।


ADVERTISEMENT


सामान उपलब्ध भए पनि नदिने र बढी मूल्य लिएर बिक्रीसमेत गरेका छन् । यद्यपि सरकारले त्यस्ता व्यापारीलाई कारवाहीसमेत गरिरहेको छ । संसार नै कोरोनाको महामारीसँग जुधिरहेका बेला सबै व्यापारी उस्तै छैनन् । उनीहरुले व्यापारसँगै नागरिकलाई सेवासमेत उपलब्ध गराएका छन् । उनीहरुले नागरिकलाई सहज रुपमा तरकारी तथा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने आफ्नै संयन्त्रसमेत तयार पारेका छन् । ती मनकारी व्यक्ति हुन् कानून कोइराला । कोइरालाको काठमाडौँ पेप्सीकोलामा मनोहरा कृषि बजार छ ।


ADVERTISEMENT

# # #


लकडाउनको समयमा दैनिक ताजा तरकारी खान नपाएको गुनासो आएपछि कोइरालाले नयाँ उपाय निकालेका छन् । उनले काठमाडौँ उपत्यकाभित्र सहज रुपमा हरिया, ताजा तरकारी लिन चाहने उपभोक्तालाई चोक चोकमा आफ्नै सवारी साधनमार्फत तरकारी उपलब्ध गराउने योजना बनाएका छन्।

कानून कोइरालाले शुरु गर्न लागेको सो अभियानको आज सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । रासससँगको सम्पर्कमा आएका कोइरालाले भने, “लकडाउनको समयमा उपभोक्ताले सहज मूल्यमा ताजा तकारी पाउन् भन्ने ध्येयका साथ मोबाइल भ्यानमार्फत तरकारी उपलब्ध गराउन लागेका छौँ ।” उनले उपत्यकाभित्र जुन स्थानमा तरकारी आवश्यक परेको छ, सम्पर्क गर्न फोन नम्बरसमेत दिएका छन् । उनले ९८४३६६१९९० नम्बरमा फोन गरेर तरकारीको माग गर्न सक्ने जानकारीसमेत दिए ।

कृषकले सहज रुपमा आफ्नो उत्पादन बिक्री गर्न सकुन्, उपभोक्ताले पनि लकडाउनको समयमा बढी मूल्य तिर्नु नपरोस् र व्यवसायीले पनि व्यवसाय गर्न पाउन् भन्ने ध्येयका साथ तरकारी बिक्रीको मोडालिटी बनाएको कोइरालाले जानकारी दिए । भने, “लकडाउनको बेलामा नाफा कमाउनेतर्फ मात्रै हेर्नुभएन । नागरिकलाई केही राहतसमेत दिनुपर्छ । संसार नै महामारीसँग जुधिरहेका बेला जसले जे जस्तो योगदान गर्न सक्छौँ गरौँ ।”

उनले एउटा चोकमा तरकारी माग भएको खण्डमा एक हजार किलोग्रामसँग तरकारी बेच्ने लक्ष्य राखेका छन् । “ माग आओस्, हामी सहज रुपमा परल मूल्यमा नै तरकारी दिने गरी तयारी गरिएको छ । हामी हाम्रा मिनी ट्रकमार्फत तरकारी आपूर्ति गर्छौं” उनले भने, “सङ्कटको समयमा नाफा मात्र नहेरौँ ।” उनले भीडभाड नगरीकन एक मिनेटमा एकजनाले तरकारी लिन सक्ने गरी व्यवस्थापन गर्न लागिएको र सरकारी निकायको समेत सहयोग अपेक्षा गरेको बताए ।

काठमाडौँ, भक्तपुर, ललितपुरका धेरैजसो स्थानमा तरकारी पु¥याउन आफूहरु सक्षम रहेको उनको भनाइ छ । मनोहरा कृषि बजारमा मात्रै ३०० वटा तरकारी पसल छ । तेह्रथुमको मेन्छेन गाउँपालिकाका स्थायी बासिन्दा कोइरालालगायतले पेप्सीकोला नजिकै तरकारी बजार चलाएको लामै भयो । उपभोक्ताले लकडाउनमा ताजा तरकारी नपाएको गुनासो आएपछि चोक चोकमा लगेर बिक्री गर्ने योजना बनाएको उनले सुनाए ।

चौबीसै घण्टा तपाईं हाम्रो सेवा र सुरक्षाका लागि खटेका सुरक्षाकर्मीलाई बुधबार कोइरालाको समूहले खाजा पानीसमेत उपलब्ध गराएको उनले सुनाए । बजारका व्यापारीलाई सुरक्षाका लागि व्यक्तिगत सुरक्षा पनि उपलब्ध गराइएको छ ।

व्यापारी सङ्क्रमणमा नपरुन् भनेर व्यक्तिगत सुरक्षा सामग्रीको खोजीमा निस्कनुभएका कोइरालाले भने, “हामीले सङ्कटको समयमा गर्ने सहयोग नै हजारौँ गुणा पुन्यबराबर हुन जान्छ । अरु बेला पाप गरेको भए पनि सङ्कटको समयमा गरिने सानो सहयोग पनि पुन्य हुन्छ”, कोइराला केही आध्यात्मिक देखिए ।

उनले सामाजिक दूरी कायम गरेर बजारमा आउनसमेत आफूहरुले उपभोक्तालाई आग्रह गरेको बताए । सरकारले लकडाउनको समयमा बिहान ३ देखि ७ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म दैनिक उपभोग्य वस्तु खरिदका लागि समय निर्धारण गरेको छ । सोही समयमा पनि बजारमा सबै सुरक्षात्मक उपाय अवलम्बन गरी तरकारी बिक्री वितरण गरिएको छ ।

“सडक खाली छन्, आधा घन्टामा राजधानीका जुनसुकै स्थानमा तरकारी पु¥याउन सक्छौँ । हामीलाई उपभोक्ताको पनि सहयोग होस् । सरकारले त सहयोग गर्छ नै”, उनले भने ।

उनले काठमाडौँ उपत्यकाका बासिन्दाले आफ्नो मोबाइल नम्बरमा फोन गरेर तरकारी माग गर्न सक्ने बताए। “मेरो एउटा मात्रै शर्त छ, कम्तीमा तपाईं टोल टोलका बासिन्दा मिल्नुस् र एक हजार केजीबराबरको तरकारी माग गर्नुस्” उनले भने, “ त्यसो भयो भने तरकारी आपूर्ति गर्न लागतका हिसाबले पनि सहज हुन्छ । उपभोक्तालाई बढी मूल्य पर्दैन ।”

यस्तै काठमाडौँ उपत्यकामा ग्रीन ग्रोथ नामक एक संस्थाले समेत तरकारी तथा दैनिक उपभोग्य वस्तु उपलब्ध गराइरहेको छ । लकडाउनको समयमा उपभोक्ताले सहज रुपमा दैनिक उपभोग्य वस्तु पाउन् भन्ने ध्येयका साथ आफूहरु लागेको ग्रीन ग्रोथका सञ्चालकहरुले बताएका छन् । रासस