सञ्चिता घिमिरे, काठमाडौँ – गत सातासम्म प्रतिकिलो रु ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य रु १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको तेब्बर अर्थात रु १५ पुगेको छ ।


ADVERTISEMENT


यो अवधिमा सागको मूल्य प्रतिमुठा रु पाँचबाट बढेर रु १५ पुगेको छ । तरकारीसँगै काठमाडौँ उपत्यकामा फलफूलको पनि मूल्य ह्वात्तै बढेको पाइन्छ । स्याउको मूल्य गत सातासम्म १५० रहेकोमा अहिले त्यो रु ३०० पुगेको छ भने केराको मूल्य रु १०० बाट बढेर रु २०० पुगेको छ ।


ADVERTISEMENT

# # #


सरकारले गरेको ‘लकडाउन’ को चौथो दिनसम्म आइपुग्दा बजार केही खुल्न थाले पनि तरकारी, फलफूललगायका आवश्यक खाद्य सामग्रीको मूल्य ह्वात्तै बढेको छ । ‘कोभिड–१९’ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले सकेसम्म घर बाहिर ननिस्कन र आवश्यक सामग्री किन्नु परे नजिकैका पसलमा खरिद गर्न आमनागरिकलाई भनिरहेको छ । तर नजिकको पसल अझै नखुलेकाले केही टाढासम्म पुग्नु परेको कोटेश्वरकी नम्रता शर्माले बताइन् ।

सरकारले स्टक नराख्न भने पनि उनले खाद्यान्न केही महिनालाई पुग्ने राखेकी थिइन् । तरकारी, फलफूल र दूध किन्न दैनिकजसो बाहिर निस्कनु परेको उनले बताइन् । थोरै पसल मात्रै खुलेकाले पनि पसलले चर्को मूल्य लिएको उनको भनाइ छ । उनले भनिन्, “कुनै कुनै पसल मात्रै खुलेका छन् जति भन्छन् त्यति तिनु हाम्रो बाध्यता हो ।”

काठमाडौँ उपत्यकाका आसपासका क्षेत्रले शहरी क्षेत्रमा तरकारी र दूधको आपूर्ति गर्दै आएकामा यातायातका साधन नहुँदा त्यस क्षेत्रबाट ती सामग्री आउन सकेका छैन । खाद्य वस्तु बजारसम्म पु¥याउन नपाउँदा दूध र तरकारी त्यसै खेर गइरहेको उनीहरुको गुनासो छ । बजारमा अहिले पनि कतिपयले सङ्कटलाई कमाउने अवसरका रुपमा लिन थालेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका माधव तिमिल्सनाले बताए ।

बजारमा अहिले कृत्रिम अभाव सिर्जना गर्ने, सामान मूल्यभन्दा बढीमा बिक्री गर्ने त कतिले अवधि सकिन लागेको खाद्यसामग्रीको बिक्री गरिरहेको पाइन्छ । तरकारी र फलफूल ‘लकडाउन’ पहिलेभन्दा अहिले दोब्बरदेखि तेब्बर मूल्यमा बिक्री हुँदासमेत अनुगमन हुन नसकेको उनले बताए । उनले भने, “जनता घरभित्रै थुनिएकाले राज्यले आफ्नो उपस्थिति बढाएर सबैलाई राहत दिनुपर्छ ।”

धेरै ठाउँमा आफ्नो घर नजिकका पसल नखुलेकाले उपभोक्ता टाढाटाढासम्म जान बाध्य भइरहेको घिमिरेले बताए । घर र पसल नजिकै भएका पसलेले सरकारले तोकेको समयमा खोले पनि टाढाबाट आउनुपर्नेले सवारी साधन नहुँदा खोलेका छैनन् । काँठ क्षेत्रबाट मोटरसाइकलमै राखेर दूध, तरकारीलगायत ढुवानी हुने गरेकामा ‘लकडाउन’ का कारण त्यो ठप्प छ । शहरी क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, मजदुर, चालक, सहचालकलगायत दैनिक ज्यालादारी गर्नेहरु मारमा परिरहेको उनले बताए ।

सरकारले गरिब परिचयपत्र वा रासनकार्डको अहिलेसम्म व्यवस्था नगर्दा लक्षित वर्गमा चाहँदा पनि सहुलियत दिन कठिन हुने उनको भनाइ छ । बजारमा अहिले सबैभन्दा अभाव ग्यासको रहेको छ । उनले भने, “सरकारले महिनौँसम्म पुग्ने ग्यास छ भनेकाले कतिपयले हतारिएर किनेनन् तर अहिले समस्या परिरहेको छ ।”

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक दीपक पोखरेलले सरकारले ‘लकडाउन’ घोषणा गर्नुभन्दा केही दिन पहिलेबाट तरकारी र फलफूलको मूल्य बढ्न थालेको बताए । बजारमा तरकारी तथा फलफूलको आयात नै कम भएको उनले बताए । देशभित्रै पनि उपत्यका र उपत्यका बाहिरबाट खाद्यान्न ल्याउनका लागि यातायातको असुविधा रहेको उनले बताए । आफूले कालीमाटी तरकारी तथा फलफूल बिक्री केन्द्रमा सम्पर्क गर्दा त्यहाँ दैनिक तरकारी र फलफूलको आयात कम रहेको जानकारी पाएको उनले जानकारी दिए । उनले भने, “बाहिरबाट मात्रै होइन नजिकका स्थानबाट पनि यी खाद्यान्न ल्याउन सवारी साधनको समस्या देखिएको छ ।”

विभागले सङ्कटका समयमा आमउपभोक्तालाई पर्न सक्ने समस्या तत्काल सुन्न र सम्बोधन गर्न टोल फ्री नम्बर ११३७ शुरु गरेको छ । यो टेलिफोनमा सबैभन्दा बढी ग्यास, माक्स र सेनिटाइजर नपाएको भनी गुनासो आएका छन् । त्यससँगै तरकारी, फलफूलको अभाव र मूल्यसम्बन्धी गुनासो पनि आउन थालेको उनले बताए । रासस