काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधी र उपकरण तीन दिनभित्र ल्याउने बताएका छन् । पत्रकार सम्मेलनमा आज उनले बोलपत्र (टेण्डर)मार्फत आवश्यक सामग्री तत्काल ल्याउने गरी काम थालिएको जानकारी दिँदै औषधी तथा स्वास्थ्य सामग्री ल्याउने गरी आजै अन्तिम टुङ्गो लगाउने बताए ।


ADVERTISEMENT


ल्याइएका सामग्रीलाई प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पुर्‍याइने उनले जानकारी दिए । मन्त्रीका अनुसार ती सामग्री पु¥याउनका लागि मन्त्रालयले संयोजकमा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालय सहितको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमार्फत पुर्‍याइने तयारी गरिएको छ । उनले सामग्री काठमाडौँ आइपुग्नासाथ प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पुर्‍याउने बताए ।


ADVERTISEMENT

# # #


मन्त्री ढकालले आजदेखि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमुना परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्ने गरी व्यवस्था मिलाएको बताए । उनले कोभिड–१९ को परीक्षण गर्न सातवटै प्रदेशमा प्रयोगशाला विस्तार गर्ने योजना रहेको उनले सुनाए । यसअघि सरकारले पूर्वमा विराटनगर र पश्चिम नेपालगञ्जबाट कोभिड–१९ को नमुना परीक्षण संकलन गरी दिनको एकपटक हवाईजहाजबाट र तीन–चार घण्टा दुरी टाढा रहेका ठाउँबाट नमुना संकलन गरेर एम्बुलेन्सको माध्यमबाट काठमाडौँ ल्याउने गरिएको थियो ।

उनले कतिपय व्यक्तिले लकडाउनले विगतको हडतालजस्तै मानेर निश्चित समय ५ बजेपछि खुल्छ भन्ने भ्रममा नपर्न सबैलाई अनुरोध समेत गरे । “यो रोग कुनै समयसिमाभित्र नआउने भन्ने निक्र्योल छैन । हामी सबै समयमा सावधान रहनुपर्छ”, उनले भने, “खाद्य पदार्थ, औषधीजन्य पदार्थ किन्नका लागि थप व्यवस्थित कसरी बनाउने भन्नेमा हामी विचार गर्दैछौँ । सङ्कट थपिँदै जाँदा, अभाव बढ्दै जाने भएकाले राज्यले त्यसको उपयुक्त निकास दिने ।”

दैनिक उपयोग्य वस्तु सिमित ठाउँमा पुर्‍याउन राति २ देखि ५ बजेसम्म समय तोक्ने हो भने भीडभाडबाट बच्न सकिने उनको भनाइ थियो । औषधी र उपकरण अभाव रहेका ठाउँमा सरकारसँग उपलब्ध गरेको सामग्री पठाउने तयारी गरेको उनको भनाइ छ । “सिमित साधन हामीसँग अहिले पनि सुरक्षित रहेको छ । व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगायतका सामग्री हामीले आफैँँले पनि उत्पादन गर्न थालेका छौँ”, उनले भने, “अब सामग्रीको अभाव नहुने भएकोले आवश्यकता अनुसार अस्पतालमा पठाउँछौँ ।”

कोरोना भाइरसको परीक्षण गर्ने र निक्र्योल गर्नेसम्मको काम टेकु अस्पतालले गर्ने गरी माध्यम अस्पलालको रुपमा राखी त्यहाँबाट पाटन अस्पतालमा बिरामी पठाइने व्यवस्था समेत गरिएको उनले जानकारी दिए । महामारीको युद्धमा सरकार रहेको बताउँदै मन्त्री ढकालको संयोजकत्वमा अनुगमन समिति र सचिवको नेतृत्वमा रहेको कार्यनिर्देशित समिति गठन गरिएको जानकारी दिए ।

मन्त्री ढकालले आज पुनः गत चैत ६ गते कतारबाट नेपाल आएका धादिङ निवासी ३२ वर्षीया एक पुरुषमा ‘पोजेटिभ’ भेटिएको जानकारी दिए । उनका अनुसार ती व्यक्ति कतारबाट नेपालाई आई होटेलमा बसेको र मङ्गलबार टेकु अस्पतलामा भर्ना भई परीक्षणका क्रममा पोजेटिभ देखिएको हो । उनले विरामीसँग बसेका र सँगै आएकाको खोजतलास गरी क्वारेन्टाइनमा राखेर परीक्षण गराउन आफूहरु जुटेको बताए। रासस