काठमाडौं – अधिकांशको अनुहारमा मास्क छ । कोही पूर्वी नेपालको टिकट खोजिरहेका छन् त कोही सुदूरपश्चिमको । यतिबेला न दशैँ लागेको छ न त तिहार वा अन्य मुख्य चाडपर्व नै । तर पनि सबैलाई हतारो छ टिकटको बन्दोबस्त गर्न र घर फर्किन ।


ADVERTISEMENT


यो काठमाडौँको नयाँ बसपार्कको दृश्य हो । पछिल्ला केही दिनयता लाखौँको संख्यामा यात्रुहरु राजधानी छाडेर बाहिरिरहेका छन् ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को सन्त्रासका कारण यात्रुहरु धमाधम घर फर्किँदैछन् । स्कुल, कलेज, विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरु चैत्र महिनाभरि बन्द हुने भएका कारण घर फर्किनेमा अधिकांश बालबालिका र विद्यार्थी रहेका छन् ।


ADVERTISEMENT

# # #


सरकारले २५ जनाभन्दा बढी मानिसहरु एकै ठाउँमा भेला नहुन र अनावश्यक घर बाहिर ननिस्किन आग्रह गरिरहेका बेला बसपार्कमा भने टिकट लिने र घर फर्किनेहरुको घुईंचो छ । सरकारले चैत १० गतेबाट लामो दूरीका सार्वजनिक सवारीहरुमा रोक लगाउने शुक्रबार निर्णय गरेसंगै शनिवार बिहानै देखि घर जानेहरुको भिड काठमाडौंको बसपार्क, कोटेश्वर तथा कलंकिमा देखिएको हो।

भिडियो हेर्नुहोस् :

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार शुक्रबारसम्ममा ४ लाख राजधानीबासीहरुले राजधानी छाडिसकेका छन् । शनिबार मात्रै दुई लाख राजधानीबाट बाहिरिने अनुमान गरिएको छ । उनका अनुसार आईतबारसम्ममा १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिर जाने अनुमान छ ।

चार-पाँच दिनसम्ममा सबै यात्रुहरुलाई सहज रुपमा घर जाने व्यवस्था मिलाईएको भए पनि सरकारले १० गतेबाट नै सार्वजनिक सवारी आवागमनलाई रोकेपछि राजधानी छाड्नेहरुको चाप शनिवार एक्कासी बढेको उनले बताए । महासचिव सिटौलाका अनुसार शनिवार र आईतबारसम्ममा काँकरभिट्टा, धरान, बिराटनगर लगायत राजधानी पूर्वी पहाडहरुमा जाने यात्रुहरुका लागि सहज हुने गरी व्यवस्था मिलाईएको छ ।

यस्तै महेन्द्रनगर, दाङ, नेपालगञ्ज लगायतका पश्चिमका रुटहरुमा व्यवस्थापन गर्न हम्मे परिरहे पनि महासंघले यात्रुहरुको सुविधाका लागि भरमग्दुर प्रयास गरिरहेको उनले जानकारी दिएका छन् ।

यात्रुहरुको चाप बढे पनि त्यसलाई व्यवस्थापन गर्न र सुरक्षित भएर यात्रा गर्ने वातावरण तयार पार्न महासंघले सबै संयन्त्र परिचालन गरेको महासचिव सिटौलाले बताए ।

सडक बने सुनसान

यसरी दैनिक लाखौंले उपत्यका छाड्दा राजधानी भने सुनसान देखिन थालेको छ । केही दिन पहिलेसम्म व्यस्त रहने राजधानीका सडक, चोक र गल्लीहरु अहिले सुनसान छन् ।

सडकमा सवारी कम भएका कारण ट्राफिक जाम कम भएको छ । बाहिर निस्किएका सवारीहरु जाम नभएका कारण समयमै गन्तव्यमा पुगिरहेका छन् ।

ट्राफिक प्रहरीहरु अहिले फुर्सदिला बनेका छन् ।

भिडियो हेर्नुहोस् :