काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा प्रत्येक दिन बेलुकी हुने गरेको वाग्मती गङ्गा आरतीमा शनिबारदेखि २५ जनाभन्दा बढी उपस्थित नगराउन निर्देशन दिएको छ ।


ADVERTISEMENT


कोरोना भाइरसको सङ्क्रमणबाट भक्तजनलाई बचाउन आवाज ननिकाली आरतीको विधि पूरा गर्न निर्देशन दिइएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । “कोषले भक्तजनमाथि शासन गर्न खोजेको होइन, रोगको सन्त्रासबाट बचाउन खोजेको हो, मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई पनि २५ जनाभन्दा धेरैको सङ्ख्यामा जम्मा नहुन र दुई मिटरको दूरीमा बस्न अनुरोध गरिएको छ”, उनले भने ।


ADVERTISEMENT

# # #


यसका लागि कोषले पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायलाई समन्वयात्मक रुपमा परिचालन गरेको छ । भक्तजनमा रोगको सङ्क्रमण फैलन नदिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । सजग भएर भीड नगर्न र कोषको अनुरोधलाई सहज रुपमा स्वीकार गर्न पनि सदस्य सचिव ढकालले आह्वान गरे ।

कोषको निर्देशनानुसार शनिबारदेखि १० जनाको समूहले आरती गर्ने भक्तजन र सहयोगीसमेत गरी २५ जनाभन्दा बढी उपस्थित नहुने गरी व्यवस्था मिलाइएको श्री पशुपतिनाथ एवं वाग्मती गङ्गा आरती सेवा समितिका कोषाध्यक्ष नारायणप्रसाद पौडेलले बताए । पशुपतिमा विसं २०६३ साउनको तेस्रो सोमबारदेखि वाग्मतीको गङ्गा आरती शुरु भएको हो । भारतको बनारसमा हुने गङ्गा आरतीको स्वरुपमा त्यहीँबाट सामग्री र जनशक्ति ल्याएर कार्यक्रम शुरु गरिएको थियो । त्यसबेलादेखि शुरु गरिएको आरती आजसम्म निरन्तर चलिरहेको छ ।

आरतीको विधि नछोडी साउन्ड सिस्टम बन्द गरेर भीडभाड नगर्ने गरी तयारी गरिएको पनि उनले जानकारी दिए । सामान्य दिनमा पनि पशुपतिको आरतीमा हजारौँको सङ्ख्यामा भक्तजन उपस्थित हुने गरेका थिए । विशेष चाडपर्वका बेलामा त सङ्ख्या अझ बढ्ने गरेको छ ।