– कर्ण शाक्य : अभियन्ता, कर्ण सकारात्मक कोष 

कर्ण सकारात्मक कोषको परिकल्पनामा हामीले झण्डै पाँच वर्षअघि ‘सकारात्मक सोच’ अभियान सञ्चालन गरेका थियौँ । यो अन्तरालमा नेपालमा झण्डै १५० वटा सकारात्मक सोच समूहहरु गठन भईसकेका छन् । विदेशमा पनि ६, ७ वटा देशमा सोच समूहहरु स्थापना भएका छन् । हिजोसम्म देश नेपाल हिमालयको काखमा खुम्चिएर बसेको थियो । आज ९० भन्दा बढी देशमा नेपालको प्रत्यक्ष पहुँच विस्तार भएको छ । थुप्रै नेपालीहरु ती देशमा छन् । विश्वका जुनसुकै देशमा पुगेपनि उनीहरुको मन नेपालमै छ । हरेक नेपालीलाई सकारात्मक सोचको आवश्यकता छ भन्ने बुझेर हामीले सकारात्मक सोच अभियान सुरु गरेका छौँ । 


ADVERTISEMENT


नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिक दृष्टिकोणले संसारको सबैभन्दा धनि देश हो । तर पनि हामी गरिब भएर बस्नुपर्ने अवस्था छ । व्यक्तिगत विकास हामीले गर्न सक्यौँ, तर देशको विकास भएन !

यस्तो किन भयो भनेर सोच्दा हामीले एउटा निष्कर्ष निकाल्यौँ । त्यो के भने नेपाली मान्छे ‘खराब’ होइनन्, नेपाली मान्छे ‘बदमास’ पनि होइनन्, हामीसँग संस्कार छ, धर्म छ । यति हुँदाहुँदै पनि हामीले उत्कृष्ट काम गर्न सकेनौँ । त्यसको मुख्य कारण भनेको हामीभित्र एउटा नकारात्मक सोचले डेरा जमाएको छ । हामी हल्लाका पछाडि भाग्छौँ । अहिले मिडिया, सामाजिक सञ्जाल हेर्‍यो भने नकारात्मक सोच नै हाबी भइरहेको हामी देख्छौँ । नकारात्मक सोचले देश त के एउटा परिवार वा एउटा व्यक्ति पनि बन्न सक्दैन ।


ADVERTISEMENT

# # #


बाबु र आमा नकारात्मक सोचका भए भने छोराछोरी नकारात्मक हुन्छन् । छोराछोरी नकारात्मक भए भने परिवार नै नकारात्मक बन्ने भयो । परिवार हुँदै समुदाय, सारा समाज र देश नकारात्मक हुन्छ ।

देशलाई अगाडि लैजाने हो भने हरेकको मनभित्र सकारात्मक सोच जागरण गराउनै पर्छ ।

हरेक मान्छे स्वार्थी छ, स्वार्थ हुनैपर्छ । स्वार्थ नभई अगाडि बढ्न सकिँदैन । त्यो स्वार्थ परिपूर्ती नगर भनेर हामीले भन्न खोजेको होइन ।हामीले भन्न खोजेको यति मात्रै हो कि आफ्नो स्वार्थ परिपूर्ती गर्दा अरुको स्वार्थ नकुल्चौँ । विकास एकजनाको स्वार्थ पूर्ती भएर मात्रै हुँदैन । सबैको स्वार्थ परिपूर्ती गर्नु नै एक किसिमको विकास हो । त्यसकारण हामीले कुनै व्यक्तिलाई भगवान् बनाउन खोजेको होइन ।

मान्छेलाई आदर्शवान्, नैतिकवान् बनाउन खोजेको पनि होइन । हामीले यति मात्रै गर्न खोजेका हौँ कि मानिस मानिस भएर बाँच्नुपर्छ ।  यिनै कुराहरु उजागर गर्नका लागि हामीले सकारात्मक सोच समूहको अभियान सुरु गरेका हौँ ।

यो सकारात्मक सोच भनेको कस्तो हो भने, गाउँगाउँमा १५ देखि २० जना मान्छे महिनाको दुई पटक एकै ठाउँमा बस्ने, सकिएन, पुगेन भन्ने नभई राम्रो राम्रो गर्न सक्ने कुराहरु पहिल्याउने हो । अहिले नेपालमा नराम्रो कुराको बादलभित्र राम्रा कुराहरु हराइरहेका छन् । त्यसलाई बाहिर ल्याउने हो । यो देशमा केही हुनेवाला छैन, मैँले आफ्नो भविष्य अन्त कतै खोज्नु पर्छ भन्ने मानसिकता छ । त्यहीक्रममा नेपालीहरु संसारका कुनाकाप्चामा भागिरहेका छन् । हाम्रो अभियान देशमै केही गर्न सकिन्छ भन्ने एउटा आत्मविश्वास बढाउनका लागि हो ।

विश्वास र आश हरायो भने मान्छेको जीवन असफलताको मार्गतिर जान्छ । हामीले असफलताको कालो बादललाई परास्त गरेर सकारात्मक सोचको उज्यालो फैलाउने हो । 

एक दुईवटा राम्रो गरेका मान्छेको कथा सुनेर हामी विदेशमा भविष्य उज्ज्वल छ भन्ने हामी ठान्छौँ । विदेशमा अहिले दुःख पाएका मान्छे  दुःख पाइयो भनेर लेख्दैनन् । जसले केही चीज पायो, उसले मैँले यो पाएँ, त्यो पाएँ भनेर लेख्दालेख्दै हामीलाई एउटा भ्रम सिर्जना भएको छ । यस्को चेतना त्यो बेला खुल्छ , जब म नेपालमा नै केही गर्न सक्छु भन्ने सोच पैदा हुन्छ ।

नेपालमा अहिले थुप्रै राम्रा कामहरु भइरहेका छन् । तर, त्यसलाई न राज्यले देखाउन सकेको छ, न त मिडिया वा जनता स्वयमले नै । लुकेर बसेका राम्रा राम्रा कामहरु उजागर गरौँ, २५ नाघेका युवाहरुलाई त्यो कुरा बुझाउँ, रोजगारी बढाऔँ । एउटा मान्छे उद्यमी बन्यो भने १०० जनालाई रोजगारी दिन्छ । सकारात्मक अभियानको प्रतिफल पनि गुणात्मक रुपमा बढ्छ ।

अहिले सरकारले तुरुन्तै सबैलाई रोजगार दिन सम्भव नहोला । वास्तवमा काम भनेको निजी स्तरबाट नै गर्ने हो । निजी क्षेत्रमा धेरै कामहरु भइरहेको पनि छ । हवाई जहाज देखि रिक्सासम्म, होटेलदेखि स्कुलसम्म निजी स्तरबाट सञ्चालन भइरहेका छन् । त्यहीँबाट उठेको करले नै सरकार सञ्चालन भइरहेको हुन्छ । त्यसकारण हामीले स्वरोजगार र उद्यमलाई प्रोत्साहन गर्नुपर्छ ।

स्वरोजगार र उद्यम त्यतीबेला मात्रै सम्भव हुन्छ, जब मानिसमा आश, विश्वास र आत्मबल हुन्छ । आश, विश्वास र आत्मबल त्यतीबेला मात्रै हुन्छ, जब मान्छेमा ‘सकारात्मक सोच’ हुन्छ !

कुनैपनि काम सुरुवातमै ठूलो हुँदैन । सानो सानो गर्दै निश्चित समयपछि बढेको हुन्छ । पहिले हामीले जग बनाउँछौँ, त्यसपछि मात्रै हामी तल्ला थप्न सक्छौँ । एकैपटक हामी तल्ला थप्न सक्दैनौँ । यदि तल्ला थपिहाले पनि जग बिनाको तल्ला भत्किहाल्छ ।

सकारात्मक सोच भनेकै आम मान्छेको मानसिकता र सोचमा एउटा जग बसाल्ने हो । सकारात्मक सोचको जग बलियो भएमा मात्रै मान्छे ठूलो बन्न सक्छ, सफल बन्न सक्छ । त्यसका लागि हामीले ‘सकारात्मक सोच’ अभियान सुरु गरेका हौँ ।

‘सकारात्मक सोच’ अभियानमा कसरी जोडिने ?

यो एउटा अभियान हो । यो दर्ता गर्नु पर्दैन । यसमा पैसा पनि राख्नु पर्दैन । गाउँ गाउँमा मन मिल्ने साथीहरु मिलेर एक ठाउँमा भेला हुने, सकारात्मक कुराहरु गर्ने र देखिएका समस्याहरुको सकारात्मक तरिकाबाट समाधान निकाल्ने हो ।

अहिले हामी समाजमा प्रश्नै प्रश्न मात्रै उठाउने गर्छौँ । विकास प्रश्नको चाङमा होइन, उत्तरमा हुन्छ । अब हामी प्रश्न गर्न होइन, उत्तर खोज्न तयार भएका छौं । सकारात्मक सोच भनेको प्रश्न गर्ने भन्दा पनि उत्तर खोज्ने, उत्तर दिने अभियान हो । 

हाम्रो समस्याको समाधान आकाशमा होइन, हाम्रो नाकमूनि नै छ । यसैका लागि हामीले अभियान सुरु गरेका हौँ ।

यो अभियान सधैँका लागि होइन । यो ३, ४ वा ५ वर्षसम्म मात्रै हुनसक्छ । आजभन्दा २० वर्ष पहिले पखाला लाग्यो भने मान्छेहरु उपचार नपाएर मर्ने गर्थे । पखाला लागेमा पानी खुवाउनु हुँदैन भन्ने मानसिकता थियो । त्यसपछि नून–चिनी–पानी अभियान सुरु भयो । त्यो अभियान यति सफल भयो कि आज हरेक मान्छेले पखाला लागेमा नून–चिनी–पान खानुपर्छ भन्ने बुझेका छन् ।

सकारात्मक सोचको अभियान सबैको अभियान हो । मलाई विश्वास छ, यो अभियानलाई सफल बनाउँदै सबैको जीवन सफल बनाउने यात्रामा सबैको साथ रहने नै छ । काम नगर्नेको घनचक्करमा होईन कर्मी माहुरीको पक्षमा सोचहरु प्रसारित हुनुपर्छ । यो अवस्थामा हामी सबै पुग्यौं भने हाम्रो अभियान सफल हुनेछ ।

‘सोच खोज र गर’

हुँदैन भन्ने कुरा सबैले जानेको छ । अब हुन्छ भन्ने कुरा पनि सबैले जान्नु पर्यो । हाम्रो अभियान यसमा केन्द्रित हुनेछ ।  हाम्रो अभियानमा हुँदैनलाई प्राथमिकता नदिएर के गर्ने र कसरी गर्नेलाई प्राथमकतामा राख्छौँ ।

कुनैपनि काम गर्नका लागि पहिले सोच्नु जरुरी छ । सोचेर मात्रै पुग्दैन, खोज्नुपर्छ । खोजेर मात्रै पुग्दैन, त्यसलाई कार्यान्वन गर्नुपर्छ । जब कार्यान्वयन हुन्छ, त्यसपछि मात्रै प्रतिफल पाइन्छ । जीवन भनेको दर्शन मात्रै होइन, यथार्थ पनि हो । सकारात्मक चेतनाको यही अनन्त यात्रामा कर्ण सकारात्मक कोष र हिमालय पोष्टको सहकार्य हो ‘सोच, खोज र गर’ कर्म ।