काठमाडौँ – भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नका लागि सार्क राष्ट्रका सदस्यहरु एक भएर रणनीति बनाउनु पर्ने प्रस्ताव गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार एक ट्वीट गर्दै मोदीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नेतृत्वलाई कोरोनाविरुद्ध लड्नका लागि रणनीति बनाउन एउटा भिडियो कन्फेरेन्सको प्रस्ताव गरेका हुन् । पछिल्लो समय भारत र पाकिस्तानबीचको विवादका कारण सार्क लगभग निक्रिय जस्तै बनिरहेका बेला सार्क राष्ट्रमा मोदीको ट्वीटले तरंग ल्याएको छ ।


ADVERTISEMENT

# # #


ट्वीटमा मोदीले मजबुत रणनीतिका साथ सार्क राट्रका नेतृत्व एक भएमा यस क्षेत्रका जनतालाई स्वस्थ राख्नका लागि तथा विश्वलाई एउटा उदाहरण पेश गर्न सक्ने बताएका छन् ।

‘म चाहन्छु कि सार्क राष्ट्रको नेतृत्वले कोरोना भाइरसविरुद्ध लड्नका लागि एउटा मजबुत रणनीति बनाओस् । हामी भिडियो कन्फेरेन्सको माध्यामबाट हाम्रा नागरिकलाई कसरी स्वस्थ राख्ने भन्नेबारे छलफल गर्न सक्छौँ’ ट्वीटमा मादीले भनेका छन्, ‘साथै हामी विश्वमाझ एउटा उदाहरण बन्न सक्छौँ र विश्वलाई स्वस्थ राख्नलाई योगदान गर्न सक्छौँ ।’

सार्क राष्ट्रमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन् । प्रत्येक दुई वर्षमा आयोजना हुने सार्कको शिखर सम्मेलन पछिल्लो पटक (१८ औँ शिखर सम्मेलन) सन् २०१४ मा नेपालमा भएको थियो ।

२०१६ मा पाकिस्तानमा हुने भनिएको १९ औँ शिखर सम्मेलन भारत र पाकिस्तानबीचको विवादका कारण स्थगित भएको थियो । त्यसयता सार्क लगभग निष्क्रिय रहेको छ । सार्कको अध्यक्ष राष्ट्र नेपाल हो ।