काठमाडौँ – उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनिकरण कोटेश्वर–कलंकी सडक खण्डमा नयाँ नियम लागू भएको छ ।


ADVERTISEMENT


यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने मुख्य (दुर्त) लेनबाट मात्र चलाउने व्यवस्था चैत्र २ गतेदेखि लागू गरिने भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति वसाउन उक्त नियम लागू गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनले भने, “यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्यास समेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्युनिकरण हुने अपेक्षा गरिएको छ ।”

उक्त सडक खण्डलाई व्यवस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने महाशाखाको विश्वास छ । यस नियम कार्यान्वयनको लागि ट्राफिक प्रहरीलाई सहयोग पुग्ने गरी अनुगमनको लागि सम्बन्धित सम्पूर्णबाट प्रतिनिधित्व हुने गरी समितिसमेत गठन गरिएको छ ।

मासिक ८५ को हाराहारीमा सवारी दुर्घटना

देशकै पहिलो ८ लेन १० कि.मी. लम्बाई भएको कोटेश्वर–कलंकी सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने तथ्याङ् रहेको छ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरी सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीले दुर्घटनाको जोखिम बढेको बताए ।

उनले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताए । महाशाखाले कोटेश्वर–कलंकी सडकखण्डमा मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ ।

यस नियम यस अघि नै महाशाखाले जडिवुटी(सुर्यविनायक सडक खण्डमा पूर्ण रूपमा कार्यान्वयन गरिसकेको छ ।