काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम लेखिएका ‘प्ले कार्ड’हरू काठमाण्डौ उपत्यकाका सडकमा देखाउन थालेको छ ।


ADVERTISEMENT


महाशाखाले ट्राफिक नियमको सचेतना तथा पालनाको लागि आइतबारदेखि विभिन्न ट्राफिक नियम लेखिएका ‘प्ले कार्ड’ सहितका ट्राफिक प्रहरी परिचालन गरेको हो । व्यस्त चोकहरूमा सवारी चालकहरूलाई लक्षित गरी उक्त कार्य सुरु गरिएको महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


ट्राफिक नियम पालना नगरी लापरवाहीका साथ सवारी चलाउँदा दुर्घटना बढ्न सक्ने, ट्राफिक जाम बढ्ने र ट्राफिक व्यवस्थापनमा समेत असर पर्ने भएकाले सडकमै प्ले कार्डहरूमार्फत ट्राफिक नियम सिकाउन थालिएको महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले जानकारी दिए ।

उनले भने, “अहिले ‘दाहिने साईडबाट मात्रै ओभरटेक गरौँ’ भन्ने ट्राफिक नियम लेखिएको प्लेकार्डहरू निर्माण गरिएका छन ।”

सवारी साधनले तीव्र र अनियन्त्रित गतिका साथै गलत ओभरटेकका कारण हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले प्राथमिकताका साथ यो अभियान थालिएको महाशाखाका प्रमुख ढकालले बताए ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार उपत्यकाका ४७ स्थानहरूमा ट्राफिक नियम लेखिएका प्लेकार्डहरू सवारी रोकिएका वेलामा देखाइने व्यवस्था मिलाईएको छ ।

यसका साथै सम्पूर्ण सवारी चालकहरू विशेष गरी मोटरसाईकल चालकहरूले जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालना गरी दाहिने साईडवाट मात्र ओभरटेक गर्न महाशाखाले अनुरोध गरेको छ ।