बागलुङ – कोरोना भाइरसको सङ्क्रमण हुन नदिने गरी देशभरी थालिएका अभियान सफल पार्न जिल्ला प्रशासन कार्यालय बागलुङसहित सरोकारवाला निकायले पनि अभियान थालेका छन् ।


ADVERTISEMENT


राजनीतिक दलले यो अभियानलाई प्राथमिकतामा राखेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पूर्ण बैठक र काँग्रेस जिल्ला कार्यसमितिको बैठकमा पनि कोरोना सङ्क्रमणबारे सचेत बन्ने विषयले छलफलको समय पाएको थियो । नेकपाले आगामी चैत १ गतेदेखि थाल्ने भनेको पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानमा पनि कोरोना विरुद्धको सचेतना चलाउने बताइएको छ । पार्टी अध्यक्ष ईन्द्रलाल सापकोटाले यो अभियान जनभेटघाट मात्र नभइ स्वास्थ्य शिक्षा दिने खालको पनि हुने बताए । हरेक घरमा सरसफाइबारे चेतना दिने, स्वच्छ खानपान, बाहिरी सम्पर्कबाट बच्ने विषयको पर्चासमेत बनाएर घर–घरमा बाँड्ने तयारी गरिएको उनले बताए ।


ADVERTISEMENT

# # #


काँग्रेस बैठकमा पनि कोरोना सङ्क्रमणबारे कार्यकर्ता र जनता तहमा अभियान चलाउनुपर्ने बहस चलेको पार्टी सभापति दिपेन्द्रबहादुर थापाले बताए । पार्टीको पदाधिकारी चयन, विभाग गठनलगायतका लागि थापाकै अध्यक्षतामा कार्यदलसमेत बनेको उनले बताए । उक्त कार्यदलले पार्टीको विवाद मिलाउनेदेखि आम जनतालाई स्वास्थ्य शिक्षामा साथ दिने कामसमेत गर्ने बताइएको छ ।

प्रशासनले भने सार्वजनिक कार्यक्रम तथा सभा सञ्चालन नगर्न र आम नागरिकलाई पनि भीडभाडमा नजान अपिल गरेको प्रजिअ गौलोचन सैंजुले बताए । उनले कारागारका बन्दीलाईसमेत स्वास्थ्यको ख्याल गर्न र सरसफाइमा विशेष ध्यान दिन सुझाव दिइएको जानकारी दिए । क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी भएकाले घटाउँदा स्वास्थ्य समस्या कम हुने सुझावसमेत आए पनि त्यो भने सम्भावना नहुने उनले बताए।

सङ्क्रमणबाट बचाउने अभियानकै लागि अधिकांश विद्यालयले यही फागुन २८ गते देखिनै परीक्षा सञ्चालनको तयारी गरेका छन् । आगामी चैत ५ गतेभित्र परीक्षा सकेर एक महिना लामो बिदा दिने विद्यालयको तयारी छ । सरकारले पनि यो अभियानको थालनी गरेकाले सबै विद्यालयमा तयारी भएको हो । रासस