म्याग्दी – सुक्खा पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि आजदेखि सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने धैकु खोला नजिकै सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो ।


ADVERTISEMENT


बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले पहिरो खसेको ठाउँमा सडक मर्मत गरेर खुलाइएको जानकारी दिनुभयो । सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको एक्साभेटर र मजदूर परिचालन गरेर पहिरो पन्छाइएको हो । उपकरण परिचालन गर्नुअघि अप्ठ्यारो र जोखिम भएकाले सुरक्षा निकायको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर चिरा परेको भाग हटाइएको थियो ।


ADVERTISEMENT

# # #


सुक्खा पहिराले सडक भासिएपछि एक्साभेटरसहित कालीगण्डकी नदीमा खसेर चालक सिन्धुपाल्चोकका अर्जुन दाहालको मृत्यु भएको थियो । सडक खुलेपछि बेनीदेखि जोमसोम र जोमसोमदेखि बेनीतर्फ हिँडेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिराले १५ मिटर सडक भासिएको थियो ।

सडक अवरुद्ध हुँदा यात्रुले गन्तव्यमा पुग्न सवारीसाधन परिवर्तन गर्न बाध्य भएका थिए । पहिरा पार गर्न जङ्गलको उकालोमा ४५ मिनेट घुमाउरो पैदलयात्रा गर्नुपर्ने समस्या थियो ।