काठमाडौँ – थाइल्याण्डमा जारी एशियन क्रिकेट काउन्सिल (एसीसी) इस्टर्न रिजन टी २० क्रिकेट प्रतिया्गितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा मलेसियासँग स्तब्ध भएको नेपाल आइतबार हङकङसँग ४३ रनले पराजित भएको हो ।


ADVERTISEMENT


बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमामा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमै अलआउट भयो ।


ADVERTISEMENT

# # #


नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान गरे । नेपालका लागि ओपनरमा आएका कुशल मल्लले १९ रन बनाउँदा अविनाश बोहोराले १२ रनको योगदान गरे । अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ हङकङका लागि मोहमद अर्सदले सर्वाधिक पाँच विकेट लिए । त्यसक्रममा ३.१ ओभर बलिङ गरेर उनले मात्र १६ रन खर्चिए ।  त्यस्तै अफताब हुसेनले तीन विकेट लिए भने इशान खानले दुई विकेट हात पारे ।

यस अघि हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४८ रन बनाए । यस्तै कप्तान अइजज खानले २८, हारुन अर्सदले २७, ओपनर साहिद वासिफले २६ र जेमी एटकिनसनले १७ रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले २–२ विकेट लिए। ४ ओभरमा सन्दीपले २५ र सुशनले ३७ रन खर्चिए । यस्तै कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।

लगातार दुई खेलमा हार व्यहोरेको नेपालका लागि अब एशिया कपको फाइनल छनोटमा पुग्ने सम्भावना कमजोर बनेको छ ।