काठमाडौँ – आउँदो शनिबारदेखि थ्याइल्याण्डमा सुरु हुने एशियन क्रिकेट काउन्सिल (एसीसी) इस्टर्न रिजन (पूर्वी क्षेत्र) टी-२० क्रिकेट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । बुधबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का समस्यसचिव रमेश शिलवालले नेपाली खेलाडीलाई बिदाई गरेका हुन् ।


ADVERTISEMENT


ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टिम प्रतियोगिता सुरु हुनु दुई दिन अघि थाइल्याण्ड प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, सिंगापुर र मलेसिया गरी पाँच टिम भिड्ने छन् । नेपालको पहिलो खेल २९ तारिखमा मलेसियामा हुनेछ । यस्तै दोस्रो खेलमा नेपालले हङकङ, तेस्रो खेलमा थाइल्याण्ड र अन्तिम खेलमा सिंगापुरसंग खेल्नेछ । प्रतियोगिताका सबै खेल थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीको मैदानमा हुनेछन् ।


ADVERTISEMENT

# # #


प्रतियोगिताका लागि नेपालले दुई साता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण गरेको थियो । इस्टर्न रिजनका लागि नेपाली टोलीको प्रमुख प्रशिक्ष जगत टमाटा रहेका छन् । यसअघिका मुख्य प्रशिक्षक भारतका उमेश पटवालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)मा करार सकिनु ४ महिना अगाडि नै राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले तत्कालका लागि टमाटालाई अन्तरिम मुख्य प्रशिक्षकका रुपमा जिम्मा दिएको हो ।

राउन्ड रोबिनमा चल्ने इस्टर्न रिजनको उत्कृष्ट दुई टिमले एशिया कपको फाइनल छनोट खेल्नेछन् । चार टिम सहभागी हुने त्यस प्रतियोगिताका लागि पश्चिम क्षेत्रबाट युएई र कुवेत छनोट भएका छन् । पश्चिम क्षेत्रमा बहराइन, इरान, माल्दिभ्स, कुवेत, ओमान, कतार, साउदी अरेबिया र युएई रहेका थिए ।

सेमिफाइनलमा युएईले कतार र कुवेतले बहराइनलाई हराउँदै एशिया कपमा स्थान बनाएका हुन् । प्रतियोगितामा समूह ‘ए’मा रहेको बलियो राष्ट्र ओमान कतारसँग पराजित भएपछि रनरेटका आधारमा पछि पर्दै सेमिफानलमा पुग्न असफल रह्यो ।

एशिया कप फाइनल छनोटको विजेता टोली यही वर्ष पाकिस्तानमा हुने टी–२० एशिया कपका लागि छानिनेछ । जहाँ टेस्ट राष्ट्रहरु पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश र अफगानिस्तान हुनेछन् ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
पारस खड्का
सन्दीप लामिछाने
आरिफ शेख
विनोद भण्डारी
करण केसी
अविनाश बोहरा
कुशल मल्ल
भुवन कार्की
सुसन भारी
पवन सरार्फ
सन्दीप जोरा
किशोर महतो

नेपालको खेल तालिका

२९ फेब्रुअरीमा मलेसियाविरुद्ध
१ मार्चमा हङकङविरुद्ध
४ मार्चमा थाइल्याण्डविरुद्ध
६ मार्चमा सिंगापुरविरुद्ध