काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिज दिने निर्णयमा आफूलाई मुछिएकोमा आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


बुधबार एक विज्ञप्ती जारी गर्दै कांग्रेस सभापति देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘मेरो सहभागिता वेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।’


ADVERTISEMENT

# # #


‘नेपाल ट्रष्ट ऐन-२०६४’ ले ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा परिभाषित गरेको बताउँदै देउवाले त्यसमा आफूलाई जोड्नु कानुनी रुपमा गलत रहेको दाबी गरेका छन् । ‘नेपाल ट्रष्टको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले समेत गलत छ’ उनले भनेका छन् ।

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ‘७० करोड कमिसनको अडियो प्रकरण’लाई, यति होल्डिङ्गसलाई दिइएको जग्गा लिज प्रकरणबाट जनताको ध्यान मोड्न आफूलाई मुच्छ्ने प्रयत्न गरिएको उनले बताएका छन् ।

देउवाले कुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेक घटनाक्रमका विरुद्ध दवावलाई निरन्तरता दिन अपिल गरेका छन् ।

नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले बुधबार श्वेतपत्र जारी गर्दै ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा थामुसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरिएको थियो ।