काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले सिक्ने प्रक्रिया जीवनभर चल्ने भएकाले शिक्षालाई निरन्तर सिकाइको अवधारणासँग जोडेर हेर्नुपर्ने बताएका छन् । उनले साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग गाँस्नुपर्ने आवश्यकता औंल्याए ।


ADVERTISEMENT


काभ्रेपलाञ्चोक जिल्लालाई आज पूर्ण साक्षर जिल्ला घोषणा गर्दे मन्त्री पोख्रेलले नयाँ ढङ्गले शिक्षालाई व्यवस्थित गर्दै लानुपर्ने जिम्मा जनप्रतिनिधिमाथि आइपरेको बताए । अहिले सरकारले लिएको लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई साकार पार्न दक्षजनशक्ति उत्पादन गरेर मात्रै सम्भव हुने भएकाले त्यसतर्फ सिङ्गो मुलुक केन्द्रीत हुनुपर्ने बताए।


ADVERTISEMENT

# # #


“शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई उत्पादन र रोजगारीसँग जोड्न सकेमात्र समृद्धि सम्भव छ”, मन्त्री पोख्रेलले भने, “प्राविधिक शिक्षा र व्यवहारिक शिक्षालाई व्यापक रूपमा विस्तार गरेर रणनीतिक ढङ्गले अगाडि बढ्न ‘स्किल फर अल’को नीतिमा सरकार अघि बढिरहेको छ ।” उनले साक्षर भइसकेका पनि निरक्षरतर्फ फर्कनसक्ने अवस्थासमेत रहने भएकाले त्यसलाई पनि ध्यान दिन र अबको पुस्तालाई कम्प्युटर शिक्षासँग जोडेर हेर्नसमेत आग्रह गरे ।

जिल्ला साक्षर घोषणा गरिरहँदा अब नेपाल ‘डिजिटल लिटे«सी’तर्फसमेत जानुपर्ने अवस्था रहेकोले बताउँदै मन्त्री पोख्रेलले प्रविधिसँग शिक्षालाई जोडेर थप विकासको बाटोमा अघि बढ्न आग्रह गरे । शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले जनशक्ति निर्माणको क्रमसँगै जोडेर थप विकास गर्न स्थानीय सरकार, जिल्ला समन्वय समिति, प्रदेशसभा सदस्य तथा सङ्घीय सांसदले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उनले भनाइ छ ।

कार्यक्रममा सङ्घीय सांसद गङ्गाबहादुर तामाङले उत्पादन गरेका जनशिक्तलाई व्यवहारिक रुपमा निरन्तरता दिन र पूर्ण साक्षर बनाउन सबैको काँधमा थप जिम्मेवारी आएकोले त्यसलाई पूरा गर्न सबैको हातेमालो आवश्यक रहेको बताए । प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले शिक्षाको विकासको लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीचमा समन्वय र सहकार्य हुन आवश्यक रहेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोख्रेलले काभ्रेपलाञ्चोक जिल्ला संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन९युनेस्को०ले तयार पारेको सूचक पूरा गरी ९६ दशमलब ४८ प्रतिशत साक्षर भइसकेकाले साक्षर काभ्रेपलाञ्चोक जिल्ला घोषणा गरे । राष्ट्रिय जनगणना २०६८ अनुसार १५ वर्षदेखि ६० वर्ष उमेर समूहका तीन लाख ७३ हजार ७२८ जनसङ्ख्यामध्ये आर्थिक वर्ष २०७६/७७ सम्ममा तीन लाख ६० हजार ५६० जनसङ्ख्या साक्षर भएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जनाएको छ । सो घोषणासँगै काभ्रेपलाञ्चोक जिल्ला देशको ५२औंँ साक्षर जिल्ला भएको छ ।

यसअघि जिल्लाको मापदण्ड पूरा गरी मण्डनदेउपुर नगरपालिका, खानीखोला गाउँपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, तेमाल गाउँपालिका, भुम्लु गाउँपालिका, पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, महाभारत गाउँपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, रोशी गाउँपालिका र चौरीदेउराली गाउँपालिकालाई साक्षर घोषणा गरी आज जिल्लालाई साक्षर घोषणा गरिएको हो ।